सौन्दरीकरण संरक्षणको पर्खाईमा रामजानकी मन्दिर र जमुहानी ताल
पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ८ असोज । रुपन्देहीको ओमसतिया गाउँपालिका अन्तर्गत वडा नम्बर ६ भित्र पर्यटकीय महत्व बोकेका जमुहानी ताललाई संरक्षण गर्नका लागि गुरु योजनासहित पर्यटन वोर्डसFग वडा अध्यक्ष शिवकुमार धवलले बजेट माग गरेका छन् । ओझेलमा परेको जमुहानीको रामजानकी मन्दिरको परिसरको ताललाई सौन्दरीकरण संरक्षणको लागि पर्यटन वोर्डसँग समन्वय गरी बजेट माग गरेका छन् ।

पुरातात्विक एंव ऐतिहासिक महत्व बोकेको जमुहानी ताललाई संरक्षणको लागि वडा नम्बर ६ का अध्यक्ष धवलले सम्बन्धित निकायहरुसंग हातेमलो गरी आफू लगिपरेको बताएका छन् । स्थानीयहरुको भनाई अनुसार तालको परिसर भित्र पूर्वमा दुर्गा मन्दिर, उत्तर तर्फ समयमाईको थान, दक्षिण तर्फ रामजानकी मन्दिर र पश्चिममा छठीमाई थान रहेको छ । तालको पानी कहिले पनि सुक्दैन, तालमा ठूलाठूला माछा, तालमा ४०, ५० किलोसम्मको माछाहरु रहेको स्थानीयहरुले बताउँछन् ।

तालमा रहेको माछाहरुको नाकमा सुनको बुलाकी रहेको र सुनको बुलाकी लगाउने गरेको धार्मिक मान्यता रहेको छ । रामजानकी मन्दिर परिसरमा रहेको ऐतिहासिक तालका माछाहरु कसैले खाने गर्दैनन् । किनभने यस तालको माछा कसैले मारेर खाएमा हैजा जस्तो महामारी हुने र त्यो मानिसको मृत्यु समेत हुने स्थानीयहरुको भनाई रहेको छ ।
यस तालका माछाहरु संरक्षण गरिएको छ । तालको माछाहरु दिनको समयमा सुरुङको वासस्थानमा हुने भएकोले र साँझको समयमा मात्र माछाहरु बाहिर तालमा हेर्न मिल्ने स्थानीयहरुले बताउँछन् । मन्दिरका पुजारीका अनुसार – ताल परिसरमा रहेको मन्दिरमा नागदेवताहरुको बास रहेको बेलाबेलामा मन्दिरमा देखिने गरेको पाइन्छ तर नाग देवताहरुले कसैलाई टोक्दैनन् नत कुनै प्रकारको हानी पुर्याउने गरेको बताएका छन् । तालको बिचमा विशाल रामजानकी मन्दिर निर्माण सहित आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्नका लागि विस्तृत योजना बनाएर अगाडि बढेको वडा अध्यक्ष धवलले बताउँछन् ।
केन्द्र कृति शासन व्यवस्था हुँदाको अवस्थामा धार्मिक पर्यटकीय सम्भावना बोकेको स्थलको रुपमा समेत मन्दिर ताल रहेको छ । ताल र मन्दिरको सरक्षणमा पहल हुन सकेको थिएन । अब तिन तहको सरकार आएदेखि स्थानीय तह भित्र रहेको धार्मिक पर्यटकीय रामजानकी मन्दिर र तालको लागि योजना सहित अगाडी बढाउने कार्य भई रहेको वडा सदस्य झपेन्द्र यादवले बताएका छन् ।
जमुहानीमा रहेको पोखरी, ताल रामजानकी मन्दिर बौद्धकालिन समयदेखि नै करिब २४ सय देखि २८ सय वर्ष अगाडिदेखि नै ताल मन्दिर स्थापित रहेको पौराणिक काल अनुसार पुर्खाहरुको भनाई रहेको छ । तालको पानी हेरेरै पूर्खाहरु वास बसेका थिए । मन्दिरमा परापूर्व कालदेखि नै विवाह चार्ड पर्वको बेलामा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ । तालमा स्नान गरी मन्दिरमा पुजा गरेमा श्रद्धालहरुको भाकल पुरा हुने विश्वास रहेको स्थानीयहरुको भनाई रहेको छ । तालमा कमलका फूलहरु झिलीमिली फुल्दा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षण गरेको स्थानीयहरुको भनाई रहेको छ ।
स्थानीयबासीहरुले कुनै नयाँ काम गर्दा वा नयाँ वाली काट्दा रामजानकी रुपी महामाया मन्दिरमा बाली प्रसाद चढाउने गरेको मन्दिरका पुजारीले बताएका छन् । तालमा विभिन्न प्रजातिका पंक्षीहरु मौषम अनुसार बासस्थानको रुपमा उपयोग गर्दै आइरहेको स्थानीयहरुले बताएका छन् । तालमा रहेका माछाहरु सुरुङ बनाई मन्दिर तल वासस्थान बनाएको बुढापाखाहरुको भनाई रहेको छ ।
ताल रामजानकी र अन्य मन्दिरको संरक्षण र प्रवर्धन सौन्दर्यकरण ऐतिहासिक महत्व दर्साउने सांस्कृतिक परम्परामा जोड दिई पर्यटन प्रवर्द्धनकाे लागि जोड दिनुपर्ने आवश्यक रहेको छ ।