अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ११ असोज । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मसिनामा ३ दिने पशु व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजना तथा ईस्लामिक यू.एस.ए रिलिफ नेपालको आर्थिक सहयोगमा न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिबृद्वि परियोजनाद्वारा वडा नम्बर ११ मा रहेको सि.एल.सि कार्यलयमा पशुपालन व्यवस्थापन तालिम सम्पन्न भएको हो ।
पशुपालन व्यवस्थापन सम्बन्धी ३ दिने तालिम असोज ४ गते बिहिबार देखि ६ गतेसम्म संचालन भएको आयोजकले जनाएको छ ।
तालिममा प्रशिक्षक सुदामा सहानीले बाख्रा पालन कसरी गर्ने भन्ने कुरा प्रशिक्षण गरेका थिए । बाख्रा पालनका फाइदाहरु बताएका थिए । स्थानीय तहको ग्रामीण समुदायमा बाख्रा पालन सजिलै संग गर्न मिल्ने बताएका थिए । बाख्रा पालनलाई बढावा दियो भने त्यसबाट राम्रो आम्दानी लिन सकिन्छ । त्यसैले गर्दा बाख्रा पालन पेशागत रुपमा अंगालेर कार्य गर्यो भने आम्दनी बढ्नुका साथै जीवनस्तरमा पनि सुधार हुने बताएका थिए ।
बाख्राहरु विभिन्न जातका हुने भएकोले उन्नत जात बाख्रा पालन सजिलो हुने र बृद्धि विकास पनि चाडो हुने प्रशिक्षक सहानीले बताएका थिए ।
उन्नत जातका बाख्रामा मासु बढि हुने र २ ओटा बच्चा जन्माउने बताएका थिए । स्नान बाख्रा सबैभन्दा बढि दूध दिने, बोएर बाख्रा मासु खान बढि प्रयोग हुने कुरा प्रशिक्षक सहानीले बताएका थिए ।
बाख्राका लागि घाँस, खोर कुन किसिमको उपर्युक्त हुन्छ भन्ने कुरा प्रशिक्षक सहानीले जानकारी दिएका थिए ।
तालिम कार्यक्रममा प्रशिक्षक दयाशंकर यादवले बाख्रामा के कस्ता कारण गर्दा कस्ता रोगहरु लाग्दछ र रोगलाई कसरी निको पार्न सकिन्छ भन्ने कुरा प्रशिक्षण गरेका थिए । कार्यक्रममा प्रशिक्षक यादवले भने ग्रामीण समुदायमा बाख्रा पालन गरे त पनि उनीहरुलाई समय समयमा चेकजाच तथा औषधी उपचार गरेको देखिदैन् । बाख्रा पालनमा लगानी गरेतपनि व्यवसायिक रुपमा नलिई साधारण रुपमा लिएको बताए । बाख्रामा सर्ने र नसर्ने केही रोगहरु कसरी लाग्ने गर्छन र कसरी निराकरण गर्ने भन्ने कुरा प्रशिक्षक दयाशंकर यादवले बताएका थिए ।
पशुपालन व्यवस्थापन तालिममा सि.डि.एम नेपालका भानु भक्त घिमिरे, सि.डि.एम नेपालका कृषि इन्चार्ज अमृत गौतम लगायत ३० जना सहभागीहरुको उपस्थितमा सम्पन्न भएको थियो ।