अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ११ असोज । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् ।
शान्तिका अग्रदुत गौत्म बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई संविधान सभा सदस्य लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा , लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष सिद्धिचरण भट्टराई प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले स्वागत गरेका थिए ।
गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गरेका थिए । मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरीको दर्शन गरेका थिए । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मायादेवी मन्दिरको उत्तरदिशा तर्फ रहेको शान्ति दीप भ्रमण गरेका थिए । सोही अवसरमा पूर्व प्रधानमन्त्री नेपाललाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराईएको थियो ।
लुम्बिनीलाई वृहत रुपमा विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकास गर्नमा पहल सहित उपाध्यक्ष डा. लामालाई शुभकामना समेत दिएका थिए ।
लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदा मध्ये अग्रणी सम्पदा हो । लुम्बिनीका साथै बुद्ध सँग सम्बन्धित पुरातात्विक क्षेत्रलाई समेटेर वृहत्तर लुम्बिनीको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।