पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, १७ असोज । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयबाट क्यूआर भूक्तानी प्रणालीको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले आफ्ना सेवाग्राही तथा कर्मचारीहरुबाट संकलन गरिने नगद रकमलाई विद्युतीय भुक्तानीको माध्यमबाट लिन सकिने गरी क्युआर माध्यम सञ्चालनमा ल्याएको छ ।
बुद्धबार नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले पत्रकार सम्मेलन गरी क्यूआर प्रणाली मार्फत भुक्तानी गर्ने सम्बन्धमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुबेदीले एक कार्यक्रमको आयोजना गरि आफ्नो आन्तरिक विल फच्र्याैट गर्ने क्रममा कार्यालयलाई बुझाउनु पर्ने रकम क्युआर माध्यमबाट बुझाएर विद्युतीय भुक्तानीको औपचारिक रुपमा सुरुवात गर्नुभएको हो ।

यस सँगै नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयबाट सर्वसाधारणले भारतीय मुद्रा लगायत अन्य विदेशी मुद्रा र सिक्का खरिद गर्दा वा रु पाँच देखि माथिको दरका सुकिला तथा नयाँ नोट लिँदा अबदेखि ग्राहकले आफ्नो साथमा नगद लानुपर्ने आवश्यकता नपर्ने निर्देशक सुवेदीले बताउनुभयो ।
यो सुविधा पाएपछि सेवाग्राहीले विभिन्न बैंकको एटिएममा धाएर रकम लिनुको सट्टा कार्यालय खुलेको समयमा नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयमा गई निःशुल्क रुपमा क्युआर प्रयोग गरी आफूले चाहेको दरको नोट लिन सक्ने निर्देशक सुवेदीदे बताउनुभयो ।

यसबाट एउटा बैंकको खातावालले अर्को बैंकको एटिएम प्रयोग गर्दा तिर्नुपर्ने शूल्क बचत हुने र नेपालमा हुने सम्पूर्ण कारोवारहरुलाई क्रमशः नगद रहित बनाई सुरक्षित, सर्वसुलभ र भरपर्दो विद्युतीय माध्यमबाट कारोवार गर्न मिल्ने निर्देशक सुबेदीको भनाई रहेको छ । नेपाल राष्ट्र बैंकले विगतका वर्षहरुदेखि नै प्रयास गरिरहेको छ । ती प्रयासबाट हालसम्म उल्लेख्य उपलब्धी समेत हाँसिल भएको सन्दर्भमा नेपाल राष्ट्र बैंकले आफ्ना सेवाग्राही तथा कर्मचारीबाट लिनुपर्ने रकम पनि सुरक्षित र भरपर्दो विद्युतीय माध्यमबाट लिन सकिने गरी व्यवस्था गर्न सुरु गरेको निर्देशक सुबेदीले बताउनुभयो ।
विद्युतीय भुक्तानीका विभिन्न उपकरणहरुमध्ये ग्राहकको मोवाइल एप वा मोवाइल वालेट प्रयोग गरी क्युआर स्क्यान मार्फत गरिने भुक्तानीलाई ग्राहकले अत्यधिक रुचाएको बुझिएकोले नेपाल राष्ट्र बैंकका अन्य विभाग तथा कार्यालय लगायत सिद्धार्थनगर कार्यालयले समेत क्युआर माध्यमलाई रोजेको निर्देशक सुवेदीले स्पष्ट पार्नुभयो ।
नेपालमा क्युआर माध्यम मार्फत हुने कारोवारलाई स्वीकार गरी सम्बन्धित बैंकको खातामा रकमान्तर गर्न दुईवटा कम्पनी फोन पे र नेपाल पे ले इजाजत लिएका र अधिकांश बैंक तथा वित्तीय संस्थाहरु ती कम्पनीहरुमा आवद्ध भएकोले ग्राहकको सुविधालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले दुईवटै कम्पनीको क्युआर राखेको छ ।
यसका लागि कार्यालयले एनआइसी एसिया बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडसँग सम्झौता गरेको छ । सेवाग्राहीले आफ्नो बैंकको मोवाइल एप वा मोवाइल वालेट मार्फत कार्यालयमा सेवाग्राहीले पठाउनुभएको च्याट म्यासेज राखिएको फोन पे को क्युआर प्रयोग गरी भुक्तानी गरेमा एनआइसी एसिया बैंक लिमिटेडसँग हिसाव मिलान हुने र नेपाल पे को क्युआर प्रयोग गरी भुक्तानी गरेमा माछापुच्छ्रे बैंक लिमिटेडसँग हिसाव मिलान हुने गरी व्यवस्था मिलाईको जानकारी दिनुभयो ।
दुईवटा क्युआर सेवा प्रदायकको उपस्थितिका कारण कुनै एउटामा समस्या आएमा सेवाग्राहीले अर्को क्युआरबाट कारोवार गर्नसक्ने र यसबाट सेवाग्राहीलाई सहज हुने कार्यालयले जनाएको छ । साथै, सबै बैंक तथा वित्तीय संस्था र सबै मोवाइल वालेट दुईवटै क्युआरमा आवद्ध भइ नसकेकाले आवद्ध नभएको मोवाइल एप वा वालेटबाट क्युआर स्क्यान गर्दा स्क्यान नहुने समस्यालाई समेत कार्यालयले दुईवटै क्युआर राखी समाधान गरेको निर्देशक सुबेदीले बताउनुभयो ।
दशैं लगायतका चाडपर्वको पूर्वसन्ध्यामा वितरण गरिने नयाँ नोटमा अविर, अक्ष्यत लाग्ने, पानीमा भिज्ने, तेल लाग्ने, जल्ने जस्ता कारणहरुबाट ती नोटहरु चलनचल्ती अयोग्य हुने बताउनुभयो । नोटहरु बैंकिङ्ग प्रणालीमा आउना साथ नष्ट गर्नुपर्ने भएकोले ठूलो विदेशी मुद्रा खर्च गरी छपाईएको नेपाली नोटको अधिकतम सुरक्षा हुनेगरी जतनसाथ उपयोग गर्नुपर्नेमा निर्देशक सुबेदीले जोड दिनुभयो ।
यसैगरी, विगतका वर्षहरुमा वितरण गरिएको नोटहरुमध्ये अधिकांश नोटहरु एकपटक मात्र प्रयोग भई नेपाल राष्ट्र बैंकको ढुकुटीमा थन्किएर बसेको र लामो समयसम्म त्यतिकै रहँदा ढुकुटीमै काम नलाग्ने अवस्थामा पुग्नसक्ने सम्भावना भएकोले सकेसम्म सफा नोटको माग गर्न समेत वहाँले अपिल गर्नुभयो ।
यसबाट नेपाली नोट लामो समयसम्म चलाउन सकिने र नोट छपाइ गर्ने समय अन्तराललाई बढाउन मद्दत पुगी नोट छपाइ र वितरणमा लाग्ने स्वदेशी र विदेशी मुद्रा बचत गर्न सहयोग पुग्ने धारणा निर्देशक सुवेदीले राख्नुभयो । तथापि, सदाँझै यसपाली पनि यही असोज २९ देखि कार्तिक ३ गतेसम्म सर्वसाधारणलाई लक्षित गरी रु पाँच देखि रु १०० सम्मको एक ÷ एक प्याकेट प्रति व्यक्तिलाई नयाँ नोट सटही गरिने व्यवस्था मिलाईएको जानकारी दिनुभयो ।
यसका लागि सम्भव भएसम्म क्युआरबाट सटही गर्न सम्बन्धित सबैमा अनुरोध समेत गर्नुभयो ।