logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    पूर्वीय दर्शनभित्रको आस्तिक र नास्तिक धारा


    १२ पौस २०८० , बिहिबार

    पूर्वीय दर्शनभित्रको आस्तिक र नास्तिक धारा

    दर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । यसको अर्थ ‘हेर्नु’ वा ‘बुझ्नु’ भन्ने अर्थमा प्रयोग गरिएको हो । अंग्रेजीमा यसलाई ‘फिलोसोफी’ भनिन्छ जसमा दुई शब्द ‘फिलोस’ र ‘सोफी’सम्मिलित छन् । ‘फिलोस’ को शाब्दिक अर्थ प्रेम र ‘सोफी’को अर्थ विवेक हुन्छ । यस प्रकार संस्कृतको शाब्दिक अर्थलाई लिँदा दर्शन भनेको कुनै कुरालाई हेर्ने र बुझ्ने सवाल हो भन्ने अंग्रेजीको शाब्दिक अर्थ बौद्धिक ज्ञानप्रतिको अभिरुचि हो ।
    दर्शनको परिभाषालाई शाब्दिक अर्थमा जेजसरी लिइए पनि यसलाई जीवन र जगतलाई हेर्ने आँखाको रुपमा लिन सकिन्छ । वास्तवमा मानिसको विश्वलाई हेर्ने दृष्टिकोण नै दर्शन हो । अर्थात् दर्शन भनेको विश्व जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो ।
    प्लेटोले यसलाई पद्धार्थको यथार्थ स्वरुपको ज्ञान मानेका छन् भने कान्टले दर्शन ज्ञानको विज्ञान तथा आलोचना मानेका छन् । डा. राधाकृष्णले भने दर्शनलाई वास्तविक स्वरुपको तर्कसंगत खोज भनी परिभाषित गरेका छन् ।
    माथिका परिभाषाका आधारमा दर्शनलाई संक्षेपमा निम्नानुसार बुझ्न सकिन्छ,
     दर्शन जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने विश्वदृष्टिकोण हो ।
     दर्शन भनेको संस्कृति र मानव समाजका एवं चिन्तनका चालक वा सामान्य नियमहरूको विज्ञान हो । यसले प्रकृति र मानव समाज एवं चिन्तनका ती चालक वा सामान्य नियमहरूको अध्ययन गराएर विश्वदृष्टिकोणको निर्माण गराउँदछ ।
     दर्शन भनेको सिंगो जीवन र जगत तथा प्रकृति र मानव समाज एवं चिन्तनका सामान्य नियमहरूको अध्ययन गर्ने एक पद्धति हो ।
    मुख्यतः एउटा शास्त्रका रुपमा दर्शन शब्दको पहिलो प्रयोगकर्ता युनानी दार्शनिक पाइथागोरस हुन । उनले दर्शनलाई बुझाउने फिलोसफी शब्दको प्रयोग गरेका थिए ।
    दर्शनशास्त्रलाई हेतुविद्या पनि भनिन्छ । यसले जीवन र जगतका विविध पक्षको अध्ययन गर्दा तिनको वास्तविकताका पछाडि रहेका कारणहरूको विश्लेषण गर्दछ । साथै दर्शनले प्रमाणबाट सत्यको नजिक पुग्ने भएकाले यसलाई हेतुविद्या वा प्रमाणवाद भनिएको हो । दर्शनले सत्य असत्यको परीक्षण गर्नका लागि प्रमाणहरूको प्रयोग गर्ने भएकाले यसलाई प्रमाणवाद भनिएको हो ।
    पूर्वीय दर्शनशास्त्रका मुख्य धाराहरू
    दर्शनशास्त्र अति प्राचीन विज्ञान हो । दर्शनको क्षेत्रमा विभिन्न चिन्तकहरूले योगदान पु¥याएका छन् । उनीहरूको आ–आफ्नै प्रकारका विचारहरू छन् । यसैको प्रतिफलस्वरुप दर्शनशास्त्रको क्षेत्रमा पनि विभिन्न विचारहरू अघि आएका छन् ।
    पूर्वीय दर्शनको सन्दर्भमा केही दार्शनिकहरूले यस संसारको सृष्टि ईश्वरले गरेका हुन् भन्ने तर्कअघि सारेका छन् भने केहीले यस कुरालाई मान्न तयार छैनन् । उनीहरूको विचारमा संसारको उत्पत्ति प्राकृतिक रूपमा आफैँ भएको हो । यस प्रकार पूर्वीय दर्शनलाई आस्तिक (ईश्वरवादी) दर्शन र नास्तिक (अनिश्वरवादी) दर्शन गरी दुई भागमा वर्गिकरण गरी अध्ययन गर्न सकिन्छ ।
    १) आस्तिक दर्शनधारा
    आस्तिक दर्शनलाई आध्यात्मिक दर्शन पनि भनिन्छ । यो दर्शनको एक सशक्त धाराको रूपमा हजारौं वर्षदेखि उपस्थित छ । यसले ब्रह्माण्ड, प्रकृति, जगत् तथा मानव समाजलाई आत्माको प्रतिरूप मान्दछ । भौतिक संसारलाई परमात्मा र त्यसका गुणहरूलाई अभिव्यक्ति गर्ने माध्यम मान्दछ । यस धाराले बेदलाई आध्यात्मवादको सन्दर्भमा सबैभन्दा पूरानो र निकै ठूलो पूँजी र खजानाको रुपमा मान्ने गर्दछ । अध्यात्मवादी दर्शनको लागि वेदको अध्ययन अनिवार्य जस्तै मानिन्छ ।
    आस्तिक दर्शन धारा अन्तर्गत ६ प्रकारका दर्शनहरू रहेका छन् । साङ्ख्या दर्शन, योद दर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, मिमांश दर्शन र वेदान्त दर्शन ।
    क. साङ्ख्य दर्शन ः
    साङ्ख्य दर्शनलाई महर्षी कपिल मुनीले प्रतिपादन गरेका हुन् । यो दर्शन नास्तिक दर्शनको नजिक रहेको मानिन्छ । यसले संसारमा शास्वत सत्यको रुपमा ईश्वरको ठाउँमा दुई तत्वहरूलाई मानेको छ । ती तत्वहरूमा एउटा पुरुष अर्थात् आत्मा÷चेतना हो भने अर्को प्रकृति अर्थात् शरीर÷पदार्थ हो । यी दुई बोहक अरुलाई साङ्ख्य दर्शनले वाहियात हुन् भन्दछ । संसारको विकासका लागि यी दुई तत्वबीच योग हुनुपर्छ भनेर यो दर्शनले व्याख्या गर्दछ ।
    यस्तो विचार तत्कालीन वैदिक मान्यता विपरीत थियो । त्यसैले तत्कालीन कतिपय व्यक्तिहरूले यसलाई कट्टर भौतिकवादी, धर्म विरोधी र वेद विरोधी भनी आलोचना गरेका थिए । तर पछि यस दर्शनमा पनि ईश्वरवाद घुसाइयो र यसलाई अनिश्वरबाट टाढा पुराइयो । तैपनि आफ्नो जमानामा यस दर्शनले जे गर्यो त्यसलाई महत्पूर्ण उपलब्धिका रूपमा लिन सकिन्छ ।
    ख. योग दर्शन
    योग दर्शनले योगाभ्यासद्वारा इन्द्रियहरूलाई नियन्त्रण गरी मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दछ । त्यसैले मोक्ष मार्ग भनेकै योगाभ्यास हो भन्ने दर्शन यसमा पाइन्छ । यस दर्शनको पनि मौलिक योग दर्शनमा चित्त वा मनका क्रियाकलापको नियन्त्रण गर्नुलाई योग भनिन्थ्यो भने पछि आएर योग भनेको मन र ईश्वरका बीच संयोग गराउने साधन वा आत्म ज्ञानको साधन अर्थात् ब्रह्मज्ञान प्राप्त गरी ‘म नै ब्रह्म हुँ’ भन्ने निष्कर्षमा पुगेर सांसारिक बन्धनबाट मुक्त हुने माध्यमको रुपमा स्थापित बन्यो ।
    योग दर्शनले साङ्ख्य दर्शनको सिद्धान्तलाई अङ्गीकार गरेको हुँदा यसलाई साङ्ख्य दर्शनसँग जोडेर हेर्ने गरिएको छ । कतिपय विद्वानहरूले त साङ्ख्यलाई सिद्धान्त र योगलाई त्यसैको व्यावहारिक पक्षका रूपमा पनि मान्ने गरेका छन् ।
    ग. न्यायदर्शन
    न्याय दर्शनलाई गौतम ऋषिले प्रतिपादन गरेका हुन् । यो दर्शनले प्रमाण र तर्कलाई मुख्य आधार मान्दछ । यस दर्शनले ज्ञानलाई यथार्थ र अयथार्थ गरी दुई भागमा बाँढ्दछ । यथार्थ ज्ञानमात्र ‘प्रमा’ वा मुख्य ज्ञान हो जसलाई विभिन्न परीक्षणबाट प्रमाणित गर्न सकिन्छ तर अयथार्थ ज्ञान वास्तविकता नभएको ज्ञान भएकाले यसको कुनै महत्व हुँदैन । ज्ञानका प्रमाणहरू प्रत्यक्ष, अनुमान, उपमा र शब्द गरी चार किसिमका हुने र यसबाट प्राप्त भएको ज्ञान प्रमाणिक हुने मुख्य निचोड यस दर्शनमा पाइन्छ ।
    घ. वैशेषिक दर्शन
    वैशेषिक दर्शन महर्षि कणादद्वारा प्रतिपादन गरिएको हो । यो दर्शन अनिश्वरवादी दर्शन हुँदाहुँदै पनि यसले वेदलाई नकार्न नसक्ने भएकाले पूर्णरुपमा नास्तिक दर्शन होइन । यसले पनि न्यायदर्शनले जस्तै प्रमाण खोजी गर्छ । प्रमाण प्राप्त भएपछि मात्र पुष्टि गर्दछ । यस दर्शनले परमाणुलाई जीवन र जगतको मुख्य आधार मान्ने भएकाले यसलाई परमाणुवादी विचारसमेत भन्ने गरेको पाइन्छ । परमाणु अविभाजित सूक्ष्म अणु हो, जसलाई देख्न सकिंदैन तर यसमा रहेको विशिष्ट गुणका कारण विशेष पदार्थ जन्मन्छ । उदाहरणको लागि अन्नको बीउमा भएको गुणले त्यही अन्न उत्पादन हुनु उक्त बीउको विशिष्ट गुण हो ।
    ङ. मीमांसा दर्शन
    मीमांसा दर्शनका प्रणेता महर्षि जैमिनी हुन् । यो दर्शन वेदमा उल्लेख भएका विषयवस्तु व्याख्या गर्न र वेदको अस्तित्वमाथि आएको संकट समाधान गर्न आएको दर्शन हो । मीमांसाको अर्थ विवेचना गर्नु, तर्क—वितर्कद्वारा कुनै विषयको मूलतत्व वा वास्तविकता पत्ता लगाउनु, निष्कर्ष निकाल्नु र विवादको समाधान गर्नु भन्ने हो ।
    पूजापाठ, यज्ञ, हवन आदिबाट मानिसहरू दिक्क भएको अवस्थामा वेदमा रहेको ज्ञान वा मूलतत्वलाई अर्कैतिर बंग्याउन थालिएपछि बौद्धिक खालको कर्मकाण्ड गराउने उद्देश्यले मीमांसा दर्शन जन्मिएको हो । यो दर्शनले कर्म गर्नुपर्ने र कर्मद्वारा नै मानिस बन्धनबाट मुक्त हुने भएकाले मुख्य पाँच वटा कर्महरू नित्यकर्म, नैमित्तिक कर्म, काम्य कर्म, निषिद्ध कर्म र प्रायश्चित्त कर्मको बारेमा यस दर्शनमा उल्लेख गरी वेदलाई ज्ञानको मूलस्रोत हो भनी ईश्वरको सट्टा वेदलाई प्रमुख प्राथमिकता दिएको पाइन्छ ।
    च. वेदान्त दर्शन
    वेदान्त दर्शनको मुख्य ग्रन्थ नै ब्रह्मसूत्र हो । सम्पूर्ण वेदको अन्तिम भाग वा निष्कर्ष (१०८ वटा उपनिषद्) नै वेदान्त हो । यी उपनिषद्लाई समेटेर एउटै ग्रन्थ (ब्रह्मसूत्र) बनाउने काम महर्षि वादनारायणले गरेका हुन् भने पछि शंकराचार्यले वेदान्तको भाष्य तयार गरेका हुन् । यस दर्शनमा ब्रह्मज्ञान (ईश्वरीय ज्ञानः आत्मज्ञान र बुद्धिज्ञान) नै वास्तविक ज्ञान हो र ब्रह्म (परमतत्व) नै वास्तविक सत्य हो भनी व्याख्या गरेको पाइन्छ ।
    यस दर्शनको मुख्य लक्ष्य मोक्ष प्राप्ति गर्नु हो । यस दर्शनले मोक्ष दुई किसिमले प्राप्त हुन्छ भनेर मान्दछ । एउटा मोक्ष तादात्मको अवस्था हो जहाँ आत्मा र ईश्वरको सम्बन्ध स्थापना भएको हुन्छ र अर्को मोक्ष समीप्यको अवस्था हो जहाँ व्यक्ति जन्म मृत्युको बन्धनबाट मुक्त भई देवलोक प्राप्त गर्न सक्षम हुन्छ ।
    २. नास्तिक दर्शन धारा
    वेदमा अर्थयाइएका सिद्धान्तलाई जस्ताको तस्तै नमान्नेलाई नास्तिक दर्शन भनिन्छ । पूर्वीय दर्शनको यस धारा अन्तर्गत चार्वाक, जैन र बौद्ध दर्शन पर्दछन् ।
    क) चार्वाक वा लोकायत दर्शन
    ईश्वर, आत्मा वा परमात्मा नमान्ने र भाग्यमा विश्वास नगर्ने लोकायत दर्शन प्राचीन दक्षिण एसियाको एक भौतिकवादी दर्शन हो । यसले यस लोकका अतिरिक्त अर्को लोक वा परलोक छ भन्ने कुरालाई स्विकार्दैन । यसले ईश्वर, आत्मा, परमात्मा, पुनर्जन्म, स्वर्ग, नर्क आदि कुरामा पनि विश्वास गर्दैन । त्यसैले जे छ, वर्तमान छ । जे गर्छौ, वर्तमानमा गर । भविष्यको चिन्ता नगर । मरेपछि स्वर्ग जाने वा फेरि जन्मने कुरामा विश्वास नगर भन्ने विचार राख्छ । यसलाई ‘चार्वाक मत’ र ‘बार्हस्पत्य सूत्र’ पनि भनिन्छ ।
    (ख) जैन दर्शन
    जैन दर्शन संसारलाई जीव र अजीवमा विभाजन गरेर हेर्ने एक अनिश्वरवादी एवम् वेदलाई प्रमाण नमान्ने र ब्राह्मणवादविरोधी दर्शन हो । यो प्राचीन दक्षिण एसियाली दार्शनिक धाराहरूमध्ये बेग्लै दर्शन हो । यसलाई दर्शनभन्दा बढी धार्मिक विश्वास पनि मानिन्छ । जैन दर्शनले संसारलाई जीव र अजीव गरी दुई भागमा बाँडेको छ । जीवको अर्थ आत्मा हो । यस दर्शनमा सबै शरीरमा जीवले वास गर्दछ । उसले प्रत्येक जन्ममा एक छुट्टै शरीर धारण गर्दछ । जन्म र मरण भइरहन्छ तर जीव वा आत्मा भने अनादि एवम् अनन्त छ भनिएको छ । कुनै पनि परम् सत्तालाई स्वीकार नगर्नु र सबै कुरालाई संशयका साथ हेर्नु यस दर्शनको एक प्रमुख विशेषता हो ।
    (ग) बौद्ध दर्शन
    बौद्ध दर्शन संसारका सबै वस्तुहरू अनित्य एवं क्षणिक छन् भन्ने एक अनिश्वरवादी एवं अनात्मवादी दर्शन हो । यस दर्शनको प्रतिपादन सिद्धार्थ गौतम बुद्धले गरेका हुन् र यही कारण उनी भगवान् गौतम बुद्धका नामले कहलिएका हुन् । यो दर्शन अहिंसामा आधारित छ । यस दर्शनको ज्ञानलाई तीनवटा खण्ड (त्रिपिटक)मा समेटिएको छ ।
    बुद्धका शिक्षालाई संक्षिप्तमा चार आर्य सत्य भनिन्छ । ती हुन्, संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारण गर्न सकिन्छ र दुःख निरोध गर्ने उपायहरू छन् । इन्द्रियद्वारा भौतिक वस्तुमा हुने आशक्तिलाई दुःख भनिएको छ । असीमित इच्छालाई त्याग गर्दै तृष्णालाई शमन गर्न सकियो भने दुःखको निवारण हुन सक्छ भन्ने यस दर्शको मान्यता रहेको छ । दुःख निवारणका लागि आठवटा उपाय (आर्यअष्टाङ्गिक मार्ग) बताइएको छ । बौद्ध दर्शनले आत्मा, ईश्वर, बह्म आदि कुरालाई मान्दैन 

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.