भैरहवा, २४ चैत्र । सहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठान, लुम्बिनीको आयोजनामा तथा सिद्धार्थनगर नगरपालिका वडा नं. २ को समन्वयमा शनिबार निःशुल्क स्वास्थ शिविर सप्पन्न भएको छ । उक्त शिविर कार्यक्रम युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको प्राबिधिक सहयोग र वडा नं. २ को व्यवस्थापकिय सहयोगमा सप्पन्न भएको थियो ।
शिविरमा महिला तथा प्रसुती सेवा, सामान्य चिकित्सक विशेषज्ञ, हाडजोर्नी तथा नसा रोग , नाक, कान तथा विशेषज्ञ, छाला तथा यौन रोगको विशेषज्ञ, रक्त जाँच परिक्षण तथा रिपोर्ट सेवा उपलब्ध रहेको थियो ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खानले मानिसको स्वास्थ्य नै प्रमुख गहना भएकोले समय समयमा स्वस्थ परिक्षण गर्नु पर्ने बताउनुभयो । सहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठान, लुम्बिनीका अध्यक्ष तिरबहादुर रोका मगर (डार्विन) ले प्रतिष्ठानले सिद्धार्थनगर नगरपालिकालाई पहिलो प्राथमिकतामा राखि प्रत्येक वडामा स्वास्थ्य शिविर संचालन गर्दै आइरहेको र भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएके थियो ।
शिविरमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका प्रशासन प्रमुख तेज के.सिले सहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठानले कोभिडको महामारीको समयमा पनि जनताको स्वास्थ्यलाई ध्यानमा काम गरेको स्मरण गर्नु भएको थियो । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष छेदिलाल श्रीवास्तावले सहिद जितेन्द्र मणि स्मृति प्रतिष्ठानलाई कृतज्ञता व्यक्त गर्दै शिविरले जनताको स्वास्थ्य अवस्थामा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिका वडा नं. ३ का अध्यक्ष नारायण उपाध्यायले महिलाहरुले लाज नामानी विशेषज्ञहरुलाई आफ्नो समस्या खुलेर बताउन आग्रह गर्नुभयाे । शिविर कार्यक्रमवाट करिब ३०० भन्दा बढी जनाले सेवा लिएका आयोजक स्रोतले जनाएको छ ।
