logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन


    २६ बैशाख २०८१ , बुधबार

    मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन

    नास्ति गंगा समं तीर्थम् ।
    नास्ति विष्णु समं प्रभुः ।।
    नास्ति शंभु समं पूज्यो ।
    नास्ति मातृ समो गुरुः ।। 

    • ज्योतिषाचार्य सुदर्शन पौडेल

    सियारी–७, अमुवा रुपन्देही ।


    वैशाख २६ गते बुधबार एक महत्वपूर्ण दिन परेको छ । हरेक वर्ष वैशाख कृष्ण पक्षको अमावस्या अर्थात औंशी तिथिलाई मातातीर्थ औंशीकारूपमा जान्ने गरिन्छ । जसलाई आमाको मुख हेर्ने दिनकारुपमा लिने गरिन्छ । तिनै आमा जसले रोएको बच्चालाई काखमा लिँदा छातीको न्यानो स्पर्शले हुँकहुँक गर्दै चुप लाग्छ । तिनै आमा थाकेका व्यस्क छोराछोरीहरुको हारेको अनुहारमा आमा शब्द मात्रले पनि आशा र जाँगर ल्याउछ । तिनै आमा जसले आफूले नखाएरै भए पनि सन्तानलाई तृप्त पार्छिन् । आमा, मम्मी, माता, जननी, महतारी, मम्मी लगायत अनगिन्ती नामले पुकार्ने अनि सबैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा संसारको सबैभन्दा पवित्र नाता, संसारको सबैभन्दा पवित्र सम्बोधन, अनि पलपलमा सम्झना आउने, सुख र दुःखमा झझल्को आउने एउटा अनुहार हो आमा । यस दिन आमाको मुख हेर्ने चलन छ, आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

    यस दिन बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरु मिठा परिकारहरुसहित आमाघर अर्थात माइत पुग्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने सञ्चारका साधनहरु मार्फत पनि सम्झने गर्दछन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावनासम्झनाहरु व्यक्त गर्दछन् ।

    पौराणिक कालदेखि नै मनाउँदै आएको यस आमाको मुख हेर्ने दिनमा आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।

    यस मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तीर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । जनश्रुति अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुनः अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु पनि हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्राहरु मात्रै हराए । उक्त दिन वैशाख कृष्णपक्ष औंसी थियो । यो कुराअरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदारहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरुले विभिन्न मिष्ठान भोजन लगेर चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक वर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाद्यपदार्थ चढाउने प्रचलन कायम भयो । त्यस्तै यो तीर्थको सम्बन्धमा अर्को एक पौराणिक किंवदन्ती पनि छ । प्राचीन समयमा भगवान् श्रीकृष्णकी आमा देवकी प्राकृतिक दृश्य हेर्नका लागि घरदेखि बाहिर जानुभयो । उहाँले अनेक स्थानको यात्रा गर्नुभयो । उहाँ घर आउन ढिला भयो ।

    भगवान् कृष्ण आफ्नी आमा नफर्केकाले दुखी हुँदै आमाको खोजीमा जानुभयो तर आमासँग भेट भएन । अन्त्यमा जब वहां ‘‘माता तीर्थ कुंड’’ मा पुग्नुभयो तब उहाँले देख्नुभयो कि आमा त त्यसै तलाउमा स्नान गरि रहनुभएको रहेछ । भगवान् श्रीकृष्ण आफ्नी आमालाई देखेर अत्यन्तै खुशी हुनुभयो र आफूले आमासँगको बिछोडमा पाएका दुःखद् घटना बताउन थाल्नुभयो । माता देवकीले कृष्ण भगवानसँग भन्नुभयो कि “ओहो ! पुत्र कृष्ण त्यसो भए त यो स्थान बच्चाहरुले उनका स्वर्गीय आमाहरुलाई भेट्ने पवित्र स्थलकारुपमा नै रहन दिनुपर्छ । “त्यसै बेलाबाट नै यो स्थान एक पवित्र तीर्थस्थल बन्यो । जहाँ श्रद्धालु एवं भक्तगण आफ्नी स्वर्गीय आमालाई श्रद्धा अर्पण गर्न आउछन् ।

    आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । यो दिनलाई आमाप्रति सम्मान गर्ने र आमालाई सम्झ्ने दिनकारुपमा लिइन्छ । यिनै आमा जसले हामीलाई संसार देखाइन्, पाईला चाल्न तातेताते गर्दै सिकाइन्, गर्भमा राखेर जन्माइन अनि काखमा राखेर पालिन् । देवीको प्रतिरुप अनि ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहना पुरा गरिदिने आमालाई आजभोली बुढेसकालमा बृद्धआश्रममा लगेर छोड्ने गरेको पनि देख्न सुन्न पाइन्छ । यस्ता कदापी आमाका सन्तान हुनै सक्दैनन् । आमाले गरेको त्याग र ममतालाई स्मरण गर्दै बुढेसकालमा मातृ सेवा गर्न पाउनु सबै सन्तानको अहोभाग्य र कर्तब्य पनि हो । यस दिनमा मात्र होइन संधैभरी आमाको पूजा होस् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.