लुम्बिनीखबर
तिलोत्तमा, १७ जेठ । अभिभावक उत्प्रेरणा तथा अभिमुखीकरण कार्यक्रम आज (बुधबार) देखि रूपन्देहीको तिलोत्तमा नगरस्थित टिकुलीगढमा सञ्चालन भएको छ ।
तिलोत्तमा नगरमा क्रियाशील टिकुलीगढ सिकाई केन्द्रको आयोजना र टिकुलीगढ शैक्षिक मञ्चको संयोजनमा साविकको टिकुलीगढ गा.वि.स. अन्तर्गत अर्थात् तिलोत्तमा १३ र १४ का सबै सामुदायिक विद्यालयका अभिभावकका लागि कार्यक्रम गरिएको मञ्चका अध्यक्ष श्यामलाल खरेलले जानकारी दिनुभयो ।
आज (बुधबार) टिकुलीगढ मा.वि.मा आयोजित तीन दिने कार्यक्रम उद्घाटन सहित पहिलो दिनको प्रशिक्षण सम्पन्न भएको छ । मञ्चका अध्यक्ष श्यामलाल खरेलको अध्यक्षतामा आयोजित कार्यक्रम वडानम्बर १४ का अध्यक्ष अश्विन पौडेलले उद्घाटन् गर्दै शैक्षिक जागरणका लागि कार्यक्रम फलदायी हुने बताउनुभयो ।
टिकुलीगढ मा.वि.का प्रधानाध्यापक शंकरदत्त उपाध्यायको सञ्चालन र विद्यालय व्यस्थापन समितिका अध्यक्ष फुलपति कंडेलको स्वागतमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा नगरका कार्यपालिका सदस्य रवि सेञ्चुरीले शैक्षिक विकाशका स्थानीय संस्थाले गरेका काम सह्रानीय भएको बताउनुभयो ।
कार्यक्रममा, उत्प्रेरणा प्रशिक्षक एवम् राममणि बहुमुखी क्याम्पसका उप–प्राध्यापक मुक्तिनाथ गैह्रेले असल अभिभावकत्व शैलीबारे अन्तक्र्रिया र उदाहरण सहित सहजीकरण गर्नुभएको थियो ।
टिकुलीगढ मा.वि., सरस्वती आधारभूत विद्यालय र महिला नमूना आधारभूत विद्यालय गरी तीन विद्यालयका अभिभावकको प्रशिक्षणको पहिलो दिनको कार्यक्रम आज (बुधबार) सम्पन्न भएको सिकाई केन्द्रका सदस्य हेमराज अर्यालले जानकारी दिनुभयो ।
भोलि १७ गते दुर्गा मा. वि. र पर्सी १८ गते जनता मा.वि. तीनधुरेमा कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन् ।