logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    भैरहवामा छैन छहारी, गर्मी छल्नै समस्या


    १ असार २०८१ , शुक्रबार

    भैरहवामा छैन छहारी, गर्मी छल्नै समस्या

    लुम्बिनीखबर

    भैरहवा, ३२ जेठ । केही वर्षअघिसम्म भैरहवादेखि बेलहिया र लुम्बिनी जाने राजमार्गको छेउमा ठूला रुखहरुको हरियाली थियो । बुद्धचोकदेखि एयरपोर्टसम्मको सडक खण्डमा रहेको हरियाली त निकै घना थियो । भैरहवा–बुटवल खण्डमा पनि ठूला रुख थिए । शितलताका लागि ती रुखले यात्रुलाई जतिबेला पनि आकर्षण गरिरहन्थे ।

    अहिले ति दुवै राजमार्गको छेउमा कुनै पनि रुख छैनन् । दुवै राजमार्गमा सडक बिस्तारसहितको निर्माणका क्रममा सबै रुख काटिए । अहिले ति राजमार्ग क्षेत्रमा हरियाली र सौन्दर्यकरणको नाममा सामान्य बृक्षारोपण गरिए पनि प्रचण्ड गर्मी र गर्मीको वेलामा छहारी मुनि बस्न सकिने खालको कुनै पनि ठूला बृक्ष छैनन् ।

    लुम्बिनी रोडको बुद्धचोक–एयरपोर्ट सडक खण्ड त अझ दाँयावायाँ रहेका अटो व्यवसाय, कवाड संकलन, नदीजन्य पदार्थको बिक्री स्थल लगायतका व्यवसायले गर्दा कुरुप देखिन्छ । यात्रु धुलोको प्रकोपले आक्रान्त बन्छन् । उतिबेलाको त्यो हरियाली सडकको सम्झना गर्दै भैरहवा बहुमुखी क्याम्पसका पूर्वप्रमुख प्राध्यापक डा.कपिल लामिछाने भन्छन्, ‘ति हरियाली अव सम्झनामामात्र रहे । त्यस खालको ठूल्ठूला बृक्ष अव हाम्रो पुस्तासम्ममा यस नगरमा उपलब्ध हुन सक्दैनन् ।’

    भैरहवा र आसपासको क्षेत्र पहिला जमिनदारको बसोवास हुने क्षेत्र हो । जमिनदारको घर नजिक कम्पाउण्ड भित्र आँप, लिची, अम्बा जस्ता फलफूलको बगैँचा हुने गथ्र्यो । बाहिर जमिन प्रशस्त भएकाले आँप, पिपल, बरका रुख र ठाउँठाउँमा चौतारी हुन्थे । चौतारी बनाएमा धर्म हुने धार्मिक बिश्वासले बाटोको छेउमा चौतारी निर्माण हुन्थे । पहिला यातायाताका साधनको कम प्रयोगका कारण धेरै बटुवा तथा यात्रु पैदल हिँड्दा थकाई मार्न केहीबेर सुस्ताउने गर्नाले त्यस्ता चौतारीको प्रयोग धेरै हुन्थ्यो ।

    बढ्दो शहरीकरण र जनसंख्याको चापसँगै जमिनको अभावले त्स्ता चौतारी र रुख मासिन थालेका छन् । जमिनदारका जमिन पनि घडेरीमा बिक्री गरिनाले निजी बगैँचा पनि कम हुँदै गएका छन् । जताततै जमिनको प्लटिङ्ग गरिनाले हरियाली कतै बचेको छैन । न त, नगरमा हरियाली बनाउने सोंच र योजना नगरपालिकाले नै ल्याएको छ । निर्बाचनको वेला उम्मेदवारको भाषणमा मात्र सीमित हुने गरेको छ, नगरको सौन्दर्यकरण र हरियाली तथा पार्कका कुरा । एउटा बिरुवाको बृक्षारोपण गर्दा दश–बाह्र जनाले सामूहिक तस्बीर खिचेर फेसबुकमा राखेर प्रचार गरिनु प्रचलन मात्रै मौलाउँदै जाने गरेको छ ।

    नगरको सडकका छेउमा मात्रै होइन्, सीमावर्ती क्षेत्र मेउडिहवामा बाहेक मुख्य बजार क्षेत्रमैं रुख, बगैँचा र हरियाली पार्क केही छैनन् । सडक बिस्तार र बढ्दो शहरीकरणसँगै शहरको हरियाली उजाडिँदै गएको छ । ‘पहिला भैरहवा रुख र खेतीपातीले जताततै हरियाली थियो, अहिले उजाड छ’, २०२८ सालदेखि भैरहवालाई चिनेका प्रहरीटोल निवासी नारायण रिजाल भन्छन्, ‘आफैलाई छहारीमा उभिन पनि बृक्ष छैनन् ।’

    जमिनको प्लटिङ्ग गर्दा ठाउँठाउँमा विद्यालय, पार्कका लागि सार्वजनिक स्थान छाड्नु पर्ने प्रावधान भए पनि नगरपालिका लगायत अनुगमन गर्ने निकाय प्रभावकारी नहुँदा जथाभावी र अव्यवस्थित ढंगबाट प्लटिङ्ग गरिएका छन् । गर्मियाममा भैरहवाको तापक्रम ४४ डिग्री नाघ्ने गरेको रेकर्ड छ । नगरमा बगैँचा, रुख र सार्वजनिक स्थलमा हरियाली पार्क नहुँदा सर्वसाधारण यात्रु र अटो व्यवसायी लगायतका मजदुरलाई गर्मी र प्रचण्ड घामबाट जोगिन समस्या भएको छ ।

    ‘राजमार्ग किनारामा रहेका सबै रुख सडक बिस्तारसँगै काटिएपछि घामबाट जोगिन साह्रै समस्या भएको छ’, सप्तरी घर भई पहिला रिक्सा र अहिले अटो चलाउँदै आएका राम भजन यादव भन्छन्, ‘धनि र हुनेखानेलाई घाम र गर्मीमा घर बाहिर ननिस्किए पनि पुग्छ तर हामी मजदुरलाई एक छिन शितल छहारीमा थकाई मार्न पनि स्थान छैन ।’

    सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले भने आफूले निर्वाचनमा जति भोट लिएको, त्यति नै बृक्षारोपण गर्ने बताउँदै आएका छन् । त्यसअनुसार अहिले भैरहवामा वृक्षारोपण भैरहेको उनको भनाई छ । आफ्नो पाँचवर्षे कार्यकालमा भैरहवालाई हरियाली बनाउने उनले बताउँदै आएका छन् । तर, त्यसअनुसार वृक्षारोपण गरिएका विरुवा भने हुर्किएको पाइँदैन । अब वर्षायाम सुरु भएकाले वृक्षारोपणलाई प्रभावकारी बनाउने नगरपालिकाले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.