मर्चवार, १२ असार । ग्रामीण विकासको लक्ष्यमा अगाडि बढ्दै कोटहीमाई गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । प्रदेश र स्थानीय सरकारको सहकार्यमा २५ लाखको लागतमा निर्माण सम्पन्न नालासहितको ४ कि.मी. सडक, गाउँपालिकाको दीर्घकालीन विकास रणनीतिमा महत्वपूर्ण रहेको स्थानीयको भनाई छ । नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा निकै उत्साहित छन् । “सडक निर्माण भए पछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ, “कोटहीमाई–४ का राम बचन यादवले भन्नु भयो, “अब हिउँद र बर्खामा पनि यात्रा गर्न समस्या हुने छैन । हाम्रा खेत डुबानमा पर्ने छैनन् । ’’
स्थानीय जगदीश बर्माको अनुसार, “बहुउपयोगी सडक निर्माणले यातायात, सिंचाई र जलनिकासको उचित प्रबन्ध भएको छ । यातायात र सिंचाई मात्र होइन, कोटहीमाई गाउँपालिका वडा नं. ३, ४, ५, र ७ का करिब एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई कटफोरवा नालाको सफाइले समाधान गरेको छ ।’’
“हामीले सडकसँगै बर्खामा डुबान र सुख्खामा खडेरीको समस्याबाट निजात पाउँदै छक्क,’’ बर्माले भन्नुभयो, “जोतिया, रोपाइँ, सिंचाई र बाली ढुवानी लगायत कार्यका लागि सडक उपयोगी छ । बर्खायाममा डुबानको समस्या हटेको छ ।’’

गाउँपालिकाका इन्जिनियर नवराज भण्डारीका अनुसार, “सडकलाई बहुपयोगी बनाउन पुरानो जीर्ण नालाको संरक्षणसँगै कृषि सडक निकालिएको छ । आवश्यक भागमा कलवर्ट निर्माण गरी पानीलाई निकास दिइएको छ ।“ “लुम्बिनी प्रदेश सरकारको समपूरक योजना अन्तर्गत निर्माण सम्पन्न कृषि सडकसँगैको नालामा सिंचाईका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको छ’’ वहाँलेभन्नु भयो, “गाउँपालिकाले स्थानीयको विपद् मानिने कटफोरवा नालाको दुबै पेटीमा सडक विस्तार गरी अझ प्रभावकारी बनाउन र सडक छेउछाउमा हरियाली विस्तार, सोलार बत्ती जडान तथा नियमित मर्मत सम्भारको योजना बनाएर सडकको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ ।’’
कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले कोटहीमाई गाउँपालिका पूर्णरुपले कृषिमै आधारित पालिका रहेकोले कृषि क्षेत्रमा प्राथमिकता दिइएको बताए । वहाले भन्नुभयो ‘किसानको खेत सम्म कृषि यन्त्र र किसानले उत्पादन गरेको सामान बजारसम्म पुग्न सके मात्र कृषि क्षेत्रको विकास हुने छ । सोही उद्देश्यले यो सडक र कुलोको निर्माण गरिएको छ ।’
गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार, बहुउद्देशीय सडकको निर्माणले गाउँका बासिन्दाहरूको जीवनस्तरमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ । “हामीले सो सडक निर्माणसँगै कृषि, व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौं, “वहाँले भन्नुभयो, “गाउँको विकासका लागि सिंचाई र यातायातको सुविधा महत्वपूर्ण छ, र यस सडकले ग्रामीण इलाकाका नागरिकहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्नेछ ।“
सडकको मुख्य विशेषता यसको बहुउद्देशीय उपयोग हो । यो सडकले पालिकाको दोस्रो मुख्य बजार परसहवाससँग वडा नं.४ का गाउँहरूलाई सीधा जोडेको छ, यसले परसहवा बजारसम्मको पहुँचलाई सहज बनाएको छ । त्यहाँ एकतर्फ नाला, अर्कोतर्फ सडक निकालिएको छ । आगामी दिनमा सडकलाई ग्रभेल र तरपोलको व्यवस्थापन गरी नालाको अर्कोतर्फ पनि सडकको निर्माण गरिने अध्यक्ष त्रिपाठीले जानकारी दिए । यहाँ घरहरू पनि निर्माण हुने र यस क्षेत्रको जग्गाको मूल्यांकन पनि बढ्ने बताउनु भयो ।

यो बहुउद्देशीय सडक निर्माण परियोजना कोटहीमाई गाउँपालिकाको विकास र समृद्धिको मार्गमा एक कोसेढुंगा हो । यसले स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ । निर्माणकार्य गर्दा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा विशेष ध्यान दिइएको छ, जसले ग्रामीण क्षेत्रको पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पु¥याएको देखिन्छ ।