भैरहवा, मङ्सिर २ । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) द्वारा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा उद्योगी–व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई स्वागत गर्दै सहभागीहरूले जिल्लामा रहेका विभिन्न समस्याहरू र समाधानका उपायबारे चर्चा गरेका थिए ।
कार्यक्रममा संगठनका अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल सञ्चालनका लागि विगतमा दबाबमूलक कार्यक्रम गरिएको र पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिनुपर्ने बताए । उनले बेथरी पुलको निर्माणकार्य अलपत्र परेकाले नागरिक र पर्यटकले सास्ती खेप्नुपरेको उल्लेख गरे ।
मिश्रवलिया–उदयपुर टोल विकास समितिकी अध्यक्ष कमला रायमाझीले नगर क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । त्यस्तै मदिरा व्यवसायी महासचिव यादव पोख्रेलले अवैध मदिरा नियन्त्रण र युवराज पाण्डेले लागूऔषध दुर्व्यसनबाट समाजलाई जोगाउनुपर्ने बताए ।
रुपन्देही रात्रिकालीन मनोरञ्जन व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्यले रुपन्देहीलाई पर्यटकीय हबका रूपमा विकास गर्न रात्रिकालीन व्यवसायलाई सहयोग गर्न प्रशासनसँग माग गरे। उनले भने, “पर्यटकलाई सहज र सुरक्षित वातावरण प्रदान गरिनुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले रुपन्देहीका समस्या समाधानका लागि प्रतिबद्धता जनाउँदै नयाँ कार्य प्रारम्भ गर्ने बताए । उनले रात्रिकालीन व्यवसाय सञ्चालनले सुरक्षा चुनौती नहुने गरी अघि बढ्न सकिने धारणा राखे ।
कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, होटल संघका पदाधिकारीलगायतले पर्यटन, यातायात, र स्थानीय समस्या समाधानका उपाय प्रस्तुत गरेका थिए । प्रजिअ घिमिरेले समस्याहरूको समाधान र समन्वयका लागि सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।