ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, मंसिर । पाल्हीनन्दन गाउँपालिकाको श्री जनता माध्यमिक विद्यालय लोहरौलीमा गणित विषय शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ ।
गणित शिक्षकका लागि दुई पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक चन्द्रकेश यादवले बताउनुभयो ।
प्रधानाध्यापक यादवका अनुसार गणित, विज्ञान, अंग्रेजी जस्ता राम्रा विषय लिएर पढेका युवा जनशक्ति रोजगारी तथा अध्ययनका लागि विदेशमा जाने चलनले गाउँमा शिक्षक पाउन गाह्रो भएको छ ।
शिक्षक अभावकै कारण यस विषयमा धेरै विद्यार्थी अनुत्र्तीण हुने गरेका छन् । सोही कारण उच्चशिक्षामा गणित विषय अध्ययन गर्ने विद्यार्थी र जनशक्ति उत्पादन गर्न विश्वविद्यालयहरुले नसकेको प्रधानाध्यापक यादवले बताउनुभयो ।
पछिल्लो समय विद्यार्थी विज्ञान विषय लिएर उच्च माध्यमिक तह तथा बिएसी पास गरिसकेपछि अध्ययन तथा रोजगारीका लागि विदेशमा जाने र उतै बस्ने परिपाटीले गाउँमा रहेका विद्यालयमा शिक्षक पाउन नसकिएको प्रधानाध्यापक यादवको भनाइ छ ।

जनता माध्यमिक विद्यालय लोहरौलीले माध्यमिक तहको शिक्षण सिकाइ अनुदान करार शिक्षकको पदपूर्तिका लागि तेस्रो पटक अह्वान गरेको छ । हाल सम्म आवेदन दिनेको सख्या शून्य रहेको विद्यालयले जनाएको छ ।