कपिलवस्तु, मंसिर २३ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ स्थित लिंकगेटबाट मानव बेचविखन तथा ओसारपसारको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् ।
जिल्ला नुवाकोट दुप्तेश्वर गाउँपालिका वडा नं ७ का २५ वर्षीय शिशिर तामाङ (परिवर्तित नाम)लाई इलाका प्रहरी कार्यालय, कृष्णनगरले नियन्त्रणमा लिएको हो । तामाङले ५१ वर्षीय एक महिलालाई काठमाडौंबाट विभिन्न प्रलोभन देखाउँदै कृष्णनगर हुँदै भारत लैजाने प्रयास गरेको अवस्थामा पक्राउ परिएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार तामाङले ती महिलालाई बेचविखन र ओसारपसार गर्ने उद्देश्यले भारत लैजाँदै थिए । उनको गतिविधिमा शंका लागेपछि सुरक्षाकर्मीले उनलाई कृष्णनगरको लिंकगेट नजिकै रोकेर नियन्त्रणमा लिएका हुन् । पक्राउ परेका तामाङमाथि कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ । यस विषयमा थप जानकारी दिन प्रहरी निरीक्षक खत्रीले अनुसन्धान जारी रहेको र दोषीलाई कानून अनुसार कारबाही गरिने बताएका छन् ।
कृष्णनगर नाकाबाट मानव बेचविखनको प्रयास पछिल्लो समय बारम्बार हुँदै आएको जनाउँदै प्रहरी प्रशासनले यसप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ । मानव बेचविखन रोक्न स्थानीय तह, प्रहरी, र नागरिकबीच सहकार्य आवश्यक रहेको पनि उनले बताए ।
कपिलवस्तु जस्तो सीमावर्ती क्षेत्रमा मानव बेचविखनको समस्या जटिलरूपमा देखिन थालेको छ । यसप्रकारका घटनाबाट सचेत रहनु र तुरुन्तै प्रहरीलाई जानकारी दिनु सबैको दायित्व हो ।