logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    वनमाली निराकारको ‘बुधिरामले हेलिकप्टर हेरिरहृयो’ लघुकथाको संरचनात्मक अध्ययन


    ८ पौस २०८१ , सोमबार

    वनमाली निराकारको ‘बुधिरामले हेलिकप्टर हेरिरहृयो’ लघुकथाको संरचनात्मक अध्ययन
    समालोचना
     
    विष्णुप्रसाद गजुरेल
     
    विषयप्रवेश
    पिता शोभाकर र माता नेत्रकुमारीका पुत्ररत्नका रूपमा २००६ साल चैत्र ७ गते पाल्पा जिल्लाको तानसेन १ ध्रुवघाटमा जन्मेका वनमाली निराकार नेपाली साहित्यमा सुपरिचित नाम हो । कथा, लघुकथा, कविता र साहित्यिक पत्रहरूको सङ्गालो जस्ता विधामा सशक्त रूपमा कलम चलाउँदै आएका निराकार लघुकथामा पनि सिद्धहस्त छन् । सर्वप्रथम २०२६ सालमा ‘बहिनीको पत्र दाजुको नाम’ शीर्षकको कथा प्रकाशन गरी साहित्यिक यात्रा सुरु गरेका निराकारका हालसम्म समयको पर्खाल कथासङ्ग्रह (२०४६), लोकतन्त्रको शङ्खनाद कवितासङ्ग्रह (२०६२), पत्रसञ्चयन साहित्यिक पत्रहरूको सङ्गालो (२०६३), विवरुका कथाहरू कथासङ्ग्रह (२०६६), एउटा वस्तीको कथा कथासङ्ग्रह                    (२०७१), नयाँ सालिकको जन्म लघुकथासङ्ग्रह (२०८०), मान्छेका रङहरू कवितासङ्ग्रह                     (२०८०) गरी सातवटा सङ्ग्रहहरू प्रकाशित छन् । लामो समय शिक्षण र साहित्य सिर्जनामा व्यतीत गरेका निराकारको नयाँ सालिकको जन्म पहिलो लघुकथासङ्ग्रह हो । यहाँ यस सङ्ग्रहभित्रको ‘बुधिरामले हेलिकप्टर हेरिरहृयो’ लघुकथाको संरचनात्मक अध्ययन गरिएको छ । 
    आयाम 
    वनमाली निराकारद्वारा विरचित ‘बुधिरामले हेलिकप्टर हेरिरहृयो’ लघुकथा नयाँ सालिकको जन्म (२०८०) लघुकथासङ्ग्रहको सातौँ कथाका रूपमा सङ्गृहीत छ । लामा र छोटा गरी छ अनुच्छेद र करिब ४६४ शब्दमा यो संरचित  यस लघुकथाले लघुकथाको संरचनालाई अङ्गीकार गरेको छ । छोटोछरितो आयामभित्र कथावस्तुको उठान र बैठान भई विषयले पूर्णता प्राप्त गरेको छ । 
    कथावस्तु 
    ‘बुधिरामले हेलिकप्टर हेरिरहृयो’ लघुकथा सामाजिक विषयवस्तुमा आधारित छ । प्रस्तुत लघुकथामा वर्णित घटनाहरू तराई मधेसका सीमावर्ती नेपाली जनसमुदायले वर्सेनी भोगेका सामाजिक यथार्थ घटना हुन् । बुधिराम चौधरी सिसौको अग्लो रुखको बलियो हाँगो समाएर बस्नु, शरीरमा बेरिएको धोती बाहेक अन्य बस्त्र नहुनु, जताततै जलमग्न हुनु, वरिपरिका रुखका टुप्पामा ऊ जस्तै अन्य मानिसहरू पनि ज्यान जोगाउन बस्नु, पानीको बहावका कारण वरिपरि रुखका मानिसहरूसँग कुराकानी गर्न नसक्नु, उसले आफ्ना घर, परिवार, वस्तुभाउ, अन्नपात, मालसामान, श्रीमती, बालबच्चा आदि सम्झनु, अब कसका लागि र कसका साहारामा बाँच्ने होला भन्दै कल्पिनु, त्यही बेला आकाशमा हेलिकप्टर देखिनु, बुधिरामले उद्धारका लागि धोती फुकालेर हवामा हल्लाउनु, रुखमा चढेका अन्य मानिसहरूले पनि हात हल्लाउनु, चिच्याउनु, गुहार माग्नु, हेलिकप्टरले तीन चार फन्का लगाउँदा पनि उनीहरूलाई नदेख्नु, बुधिराम निराश भई धोती रुखको हाँगामा अडाइ उद्धारको प्रतीक्षामा रहनु, सोहीक्रममा जोडले हावा चल्नु,  धोती उडाउनु र पानीमा बगाउनु, पुनः टाढाबाट हेलिकप्टर आफूतिर अइरहेको देख्नु, हेलिकप्टरलाई आकर्षित गर्ने वस्तु आफूसँग केही नभएको, लगौँटीमात्र बाँकी रहेको, धोती हल्लाउँदा नदेख्ने हेलिकप्टरले लगौँटी हल्लाउँदा के देख्ला र भनी हेलिकप्टरतिर हेरिरहनु जस्ता घटनाक्रमहरू यस लघुकथाको कथावस्तु हो ।  कथावस्तु आदि, मध्य र अन्त्ययुक्त छ र कौतूहलपूर्ण छ ।
    बुधिराम चौधरीले बाढीबाट आफ्नो ज्यान जोगाउनका लागि सिसौको अग्लो रुखको बलियो हाँगो समाएर बस्नु, रुखको अग्लो भागबाट बाढीले जलमग्न बनाएको कहालीलाग्दो र कोलाहलमय दृश्य देख्नु, बाढीले आफ्नो सर्वस्व गुमाएपछि अब कसका लागि र कसका साहारामा बाँच्ने होला भन्दै कल्पिनु त्यही बेला आकाशमा हेलिकप्टर देखिनु कथानकको आदि भाग हो । बुधिरामले आकाशमा हेलिकप्टर देखेपछि उद्धारका लागि आफूले लगाएको धोती फुकालेर हवामा हल्लाउनु, रुखमा चढेका अन्य मानिसहरूले पनि हात हल्लाउनु, चिच्याउनु, गुहार माग्नु, हेलिकप्टरले तीन चार फन्का लगाउँदा पनि उनीहरूलाई नदेख्नु, बुधिराम निराश भई धोती रुखको हाँगामा अडाइ उद्धारको प्रतीक्षामा रहनु कथानकको मध्य भाग हो । उसले पुन हेलिकप्टर आफूतिर आइरहेको देख्नु, हेलिकप्टरलाई आकर्षित गर्ने वस्तु आफूसँग केही बाँकी नभएको, शरीरमा लगौँटीमात्र बाँकी रहेको र धोती हल्लाउँदा नदेख्ने हेलिकप्टरले लगौँटी हल्लाउँदा के देख्ला र भनी हेलिकप्टरतिर हेरिरहनु कथानकको अन्त्य भाग हो । यसरी यसको कथानक सरल र रैखिक ढाँचामा अगाडि बढेको छ र कौतूहलपूर्ण छ । 
    पात्र र चरित्र
    यस कथामा बुधिराम चौधरी, रुखका हाँगामा झुन्डिएका केही मानिसहरू,  बुधिरामका घरपरिवारका सदस्यहरू पात्रका रूपमा रहेका छन् । बुधिराम चौधरी प्रमुख पात्रका रूपमा अन्य सबै गौण पत्रका रूपमा रहेका छन् । त्यस्तै यहाँ एक जोडी परेवा मानवेत्तर पात्रका रूपमा प्रयुक्त छन् । बुधिराम चौधरी सीमावर्ती तराई मूलको एक बाढी पीडित प्रतिनिधि पात्र हो । उसले सीमावर्ती तराई मूलको बाढीपीडित जनताको प्रतिनिधित्व गरेको छ । ऊ आफ्नो सर्वस्व बाढीले नष्ट गरे पनि आफ्नो ज्यान बचाउनका लागि अग्लो सिसौको रुखमा चढेको छ । उसले हेलिकप्टर देखेपछि उद्धार हुने आशामा शरीरमा भएको एकमात्र वस्त्र धोती निकालेर हावामा उडाएको छ  तर उसको प्रयास असफल भएको छ । ऊ प्रमुख, मञ्चीय, बद्ध, वर्गगत पात्र हो । लघुकथामा थोरै पात्र उपयुक्त हुन्छ प्रस्तुत कथामा थोरै पात्रको प्रयोग गरिएको छ  र उक्त पात्रका माध्यमबाट कथा लेखनको उद्देश्य प्रस्ट भएको छ । 
     
    उद्देश्य 
    कुनै पनि साहित्यिक कृति निरुद्देश्य रचिँदैन । विवेच्य लघुकथा लेखनको उद्देश्य नेपालको तराई भूभागमा वर्षातको समयमा बाढी तथा डुबानको कारणले हुनेगरेको जनधनको क्षति, सर्वसाधारणले भोग्नु परेको दुःखपीडा तथा सरकारको अकर्मण्यताको यथार्थपरक ढङ्गमा चित्रण गर्नु रहेको छ । त्यसैगरी वास्तविक पीडितले यथोचित समयमा उद्धार तथा राहत नपाउने घटनाप्रति व्यङ्ग्य गर्नु यस कथाको मूल उद्देश्य रहेको छ । यसरी यस लघुकथाले बुधिराम चौधरीजस्ता पात्रहरूप्रति सद्भाव र सहानुभूति प्रकट गरेको छ भने आपतकालीन अवस्थामा समेत जनताले सरकार छ भत्रे प्रत्याभूति गर्न नसक्ने  सरकारी प्रवृत्तिप्रति व्यङ्ग्य गरेको छ । 
     
    परिवेश  
    लघुकथाको आयाम छोटो हुने हुँदा यसमा व्यापक परिवेशको चित्रण हुँदैन । विवेच्य कथामा स्थानिक परिवेशको रूपमा तराईको कुनै ग्रामीण परिवेशको चित्रण गरिएको कुरा तलको दृष्टान्तले पुष्टि गर्दछ– ‘साना ठूला तथा कच्ची पक्की गरी करीब पचास घर, त्यत्तिकै मात्रामा गोठहरू, एउटा प्राथमिक पाठशाला, गाउँको एक छेउमा हनुमान मन्दिर, निमको रुखवाला चबुतारा, पान पसल, गाउँले खिचिर मिचिर पसल, खेत खलिहान सम्झ्यो र आफ्नो घर सम्झ्यो’ (पृ. १२) । यसरी यहाँ तराईको कुनै एउटा ग्रामीण परिवेशको चित्रण गरिएको छ । कथामा अविरल वर्षात पछिको बाढीले निम्त्याएको जनधनको क्षति, कोलाहल, जीउज्यान बचाउन रुखमा चढ्नु परेको अवस्था र जनधनको क्षतिको अनुगमन तथा उद्धारका नाममा आकाशमा उडिरहेका हेलिकप्टर र उद्धारको माग गरी चिच्याइरहेका सर्वसाधारण जनताहरूको चित्रण गरिएको छ । यसरी अविरल वर्षातको कारण बाढी तथा डुवानमा परी सर्वसाधारण नेपाली जनताले भोग्नु परेको त्रासदीपूर्ण जीवन यस कथाको परिवेश रहेको छ ।  
    भाषाशैली
    छोटा छोटा वाक्यको प्रयोग गरिएको प्रस्तुत लघुकथामा सरल, सहज र बोधगम्य भाषाको प्रयोग गरिएको छ । प्रथम पुरुषीय पात्रको प्रयोग नगरिएको, कथाकारको प्रत्यक्ष उपस्थिति नरहेको, तृतीय पुरुषीय पात्र बुधिरामकोे प्रयोग गरिएको यस कथामा बाह्य दृष्टिविन्दु र  व्यङ्ग्यात्मक शैलीको प्रयोग गरिएको छ । एक उदाहरण –
    अब बुधिरामसँग हेलिकप्टरलाई आकर्षित गर्न हल्लाउने साधन एक मात्र लगौँटी बाहेक केही थिएन । धोती हल्लाउँदा नदेख्ने हेलिकप्टरले लगौँटी झन के देख्ला र ?  सोचेर बुधिरामले आकाशमा उडिरहेको हेलिकप्टर हेरिरह्यो… (पृ.१४) ।  अग्लो, हाँगा, टुलुटुलु, टुप्पा, धुरी, गुहार, खिचिरमिचिर, धोती, सललल जस्ता ठेट नेपाली शब्दहरू, हेलिकप्टर, इज्जत र अन्दाज जस्ता आगन्तुक शब्दहरू, दृश्य, निर्मिशेष, आकर्षक जस्ता तत्सम शब्दहरू र डिहरी जस्ता स्थानीय भाषिकाको प्रयोग लघुकथामा पाइन्छ । कथामा प्रसङ्ग अनुकुल स्वाभाविक भाषाको प्रयोग गरिएको छ । कथाको अन्त चिरप्रभाव छाड्ने किसिमले भएको छ र लघुकथामा यस्तै अपेक्षा गरिएको हुन्छ ।
     
    निष्कर्ष
    वनमाली निराकार समकालीन नेपाली समाजका विकृति विसङ्गतिका विषयमा चोटिला लघुकथा लेख्न सिपालु छन् । ‘बुधिरामले हेलिकप्टर हेरिरहृयो’ लघुकथामा कथावस्तु, पात्र, परिवेश, भाषाशैली, उद्देश्य र दृष्टिविन्दु आदि तŒवहरूको यथोचित र कलात्मक संयोजन पाइन्छ । प्रस्तुत कथामा डुबानका कारण नेपाली समाजले भोग्नु परेको दुःख, पीडा, आर्तनाद, जनधनको क्षति, घरवारविहीन हुनुपरेको पीडा र राहतका नाममा सरकारका तर्फबाट हुने गरेका अकर्मण्यतालाई बडो रोचक, कौतुहलपूर्ण र व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गर्न कथाकार सफल छन् । 
     
     
     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.