ज्ञानेश्वर सहानी । नवलपरासी
पुस २४ । अब नवलपरासीका बासिन्दाले चारपाङ्ग्रे सवारी साधनको अनुमति पत्र (लाइसेन्स) परासीमै प्राप्त गर्न सक्ने भएका छन्। यातायात व्यवस्था विभागको यो सेवाले स्थानीयहरूलाई बुटवलसम्म धाउनुपर्ने बाध्यता हटाएको छ।
पुस २२ गतेदेखि परासीस्थित उद्योग, पर्यटन तथा यातायात व्यवस्था सेवा कार्यालयमा चारपाङ्ग्रे सवारी साधनका लागि लाइसेन्स आवेदन खुला गरिएको छ। यस अन्तर्गत वर्ग ‘बी’ (कार, जीप, डिलेभरी भ्यान), वर्ग ‘सी’ (टेम्पो, अटो–रिक्सा), वर्ग ‘सी१’ (ई–रिक्सा), र वर्ग ‘ई’ (ट्र्याक्टर) का अनुमतिपत्रका लागि अनलाइन आवेदन दिन सकिन्छ।

कार्यालय प्रमुख श्यामलाल न्यौपानेका अनुसार यो सेवाले स्थानीय बासिन्दाको समय र खर्च बचत गर्नुका साथै प्रक्रियालाई थप पारदर्शी बनाएको छ। उनले भने, “अबदेखि बुटवल धाउनुपर्ने झन्झट हटेको छ, जसले यहाँका बासिन्दालाई ठूलो सुविधा पु¥याएको छ।” जिल्ला ट्राफिक कार्यालयका प्रमुख अमृत भण्डारीले अनुमति पत्र वितरण गर्दा सवारी साधनको ग्रेडिङ अनुसार वितरण गरिने हुँदा दुर्घटनाको जोखिम कम हुने विश्वास व्यक्त गरे। साथै, अनुमति पत्र नलिई सवारी चलाउने प्रवृत्तिमा पनि कमी आउने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाहरूले सेवा परासीमै उपलब्ध गराइएकामा सरकार र यातायात कार्यालयप्रति कृतज्ञता व्यक्त गरेका छन्। यस सेवाले जनतालाई सहज रूपमा सेवा लिन सघाउने र सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने सरकारको लक्ष्यलाई बल पु¥याउने विश्वास गरिएको छ।