अन्जना चौहान
लुम्बिनी, चैत १० । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वल्र्डलिंक सीएसआरको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ मा पुनः प्रयोग गर्न सकिने प्याडसम्बन्धी चार दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। उक्त कार्यक्रमको समापन समारोह नगरप्रमुख सजरुद्दिन मुसलमान, नगर उपप्रमुख कल्पना हरिजन तथा वल्र्डलिंक सीएसआर अध्यक्ष एवं प्रमोटर सेयर होल्डर अनुपा भण्डारीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।
प्रशिक्षणमा वडा नं. २ र ३ का गरी २० जना महिला तथा किशोरीहरूको सहभागिता रहेको थियो। प्याड पुनः प्रयोग सम्बन्धी प्रशिक्षण मिना महर्जन र सेमिना महर्जनले प्रदान गरेका थिए।
समापन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख मुसलमानले महिनावारी सम्बन्धी विषय अझै पनि गाउँघर र समुदायमा लाजको विषय बनेको बताउँदै विशेषतः मुस्लिम समुदायमा महिलाहरू खुलेर अभिव्यक्त हुन नपाउने अवस्था रहेको उल्लेख गरे। उनले आगामी दिनमा प्रत्येक वडामा यस्ता कार्यक्रम सञ्चालन गर्न ८ देखि १० लाख रुपैयाँसम्मको बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे।
नगर उपप्रमुख कल्पना हरिजनले विगतमा महिनावारीका बेला लाजले गर्दा किशोरीहरूले विद्यालय छाड्नुपरेको अवस्था स्मरण गर्दै अहिलेको जस्तो प्रशिक्षणले स्वावलम्बन र आत्मनिर्भरता बढाउने बताइन्। “अरुको भर नपरी, आफैंले तयार पारेर सुरक्षित रुपमा प्याड प्रयोग गर्ने सीप सिक्नु आवश्यक छ,” उनले भनिन्।
वल्र्डलिंक सीएसआर अध्यक्ष अनुपा भण्डारीले कार्यक्रमको उद्देश्य महिला स्वास्थ्य, स्वच्छता तथा वातावरण संरक्षण रहेको स्पष्ट पारिन्। “महिलालाई स्वास्थ्य र दिगोपनमा सशक्त बनाउने हाम्रो लक्ष्य हो,” उनले भनिन्। वल्र्डलिंकले विगत २९ वर्षदेखि शहरी तथा दुर्गम क्षेत्रमा इन्टरनेट सेवा विस्तारसँगै सामाजिक उत्थानका कार्यहरू गर्दै आइरहेको उनले जानकारी दिइन्।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दिन नाउ, शस्त्र प्रहरी बल लुम्बिनीका डीएसपी दीपेन्द्र थापा, लुम्बिनी नव युवा क्लब अध्यक्ष अहमद हुसेन खान, वडा सचिव महाशर्मा धिकारी, वल्र्डलिंकका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अजय भुसालले गरेका थिए।