परासी, चैत्र २४ । सामुदायिक सञ्चारको प्रभावकारी माध्यमकारूपमा क्रियाशील सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्जले नयाँ वर्ष २०८२ सालको प्रारम्भसँगै आकर्षक टेबुल पात्रो सार्वजनिक गरेको छ।
आइतबार एक औपचारिक समारोहका बीच रेडियोका संस्थापक अध्यक्ष सुमनगोपाल आचार्यले टेबुल पात्रो विमोचन गर्नुभएको हो। विमोचन समारोहमा बोल्दै अध्यक्ष आचार्यले २०८२ सालको शुभकामना व्यक्त गर्दै नयाँ वर्षलाई योजनाबद्ध ढंगले उपयोग गर्न सुझाव दिनुभयो। उहाँले भने, “नयाँ वर्षसँगै नयाँ उत्साह र ऊर्जा बोकेर रेडियोको गतिविधि अझ प्रभावकारी बनाऔं।”
कार्यक्रममा सामुदायिक रेडियो परासीका वर्तमान अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षता रहेको थियो। सो अवसरमा रेडियोका सल्लाहकार गोपालप्रसाद नेपाल, रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुनिल कसौधन, युवा उद्यमी पूर्णसिंह थापा ‘हेमन्त’, रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतम र स्टेशन म्यानेजर विकास अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
उक्त टेबुल पात्रोमा वर्षभरिको पात्रो विवरणसँगै रेडियोको कार्यक्रम तालिका, सम्पर्क जानकारी तथा सामाजिक सन्देशहरू समावेश गरिएको छ। सूचना प्रवाहसँगै समुदायको सशक्तिकरणमा योगदान पु¥याउँदै आएको रेडियो परासीले यस वर्ष पनि विविध सामाजिक कार्यक्रम, सचेतना अभियान तथा समुदायमुखी प्रसारणहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
नयाँ वर्षको आरम्भमै सार्वजनिक गरिएको टेबुल पात्रोले स्रोतामाझ रेडियोको पहुँच अझ फैलिने विश्वास गरिएको छ। कार्यक्रमले सहभागीहरूमा नयाँ ऊर्जा र आशा थपेको सहभागीहरूले बताएका छन्।