भैरहवा, २८ वैशाख । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण र नियमित सञ्चालनको माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष र पूर्वउप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएको छ।
संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताउनुभयो कि, विमानस्थलको पूर्ण र नियमित सञ्चालनका लागि आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापनको व्यवस्था गर्नुपर्ने, र सरकारको पहलमा अन्तर्राष्ट्रिय र आन्तरिक उडानहरूको नियमितता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। यसका साथै, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीलाई विमानस्थलमार्फत उडान गर्न प्रोत्साहन दिने नीति र सहजीकरणको पनि माग गरिएको छ।
चेम्बर अफ कमर्सले विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको रुपमा विकास गर्ने, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने विशेष प्याकेज विकास गर्ने, र एयर कार्गो सेवा विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। साथै, वैदेशिक रोजगारका यात्रुहरूको लागि वन–स्टप सेवा केन्द्र र श्रमिक सहायता काउण्टर स्थापना गर्नुपर्ने पनि प्रस्ताव गरिएको छ।
अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थलको नियमित सञ्चालनले देशको समृद्धिमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्दै, अनिश्चित अवस्थाबाट उद्योग, व्यवसाय, र पर्यटनमा समस्या उत्पन्न भएको उल्लेख गर्नुभएको छ। यसअघि सोही माग राख्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०लाई पनि ज्ञापनपत्र बुझाइएको थियो।