लुम्बिनीखबर
काठमाडौँ, २४ भाद्र ।जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरूको अमूल्य क्षतिप्रति दुःख व्यक्त गर्दै देशभरका निजी विद्यालयहरूमा आज (भाद्र २४) र भोलि (भाद्र २५) शोक बिदा दिइने भएको छ।
निजी विद्यालय सञ्चालकका विभिन्न सङ्गठनहरू – नेपाल मन्टेश्वरी एसोसिएशन (एनएमए), एसोसिएशन अफ प्राइभेट इन्टरनेशनल स्कूलहरू (एपेन), हिमालयन इन्टरनेशनल सेकेन्डरी स्कूल एसोसिएशन (हिसान), नेशनल प्राइभेट एन्ड बोर्डिङ स्कूल्स एन्ड क्याम्पस एन्ड हाई स्कूल्स एसोसिएशन (नेशनल प्याब्सन) तथा प्राइभेट एन्ड बोर्डिङ स्कूल्स’ अर्गनाइजेसन नेपाल (प्याब्सन) – ले संयुक्त विज्ञप्ति जारी गर्दै यो निर्णय सार्वजनिक गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद र पीडादायी अवस्था सिर्जना भएको छ। विभिन्न अस्पतालहरूमा सयौँ घाइतेहरूको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ।”
यो घटनाले सबैलाई गहिरो पीडा दिएको उल्लेख गर्दै विज्ञप्तिमा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरिएको छ। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। “यस्तो दुःखद विषयमा निर्णय लिनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइन्छ,” विज्ञप्तिमा थपिएको छ।
यो निर्णयले निजी विद्यालय क्षेत्रले राष्ट्रिय घटनाप्रति आफ्नो संवेदनशीलता र सामाजिक दायित्वलाई प्रतिबिम्बित गरेको छ। जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले देशभरको शैक्षिक वातावरणलाई प्रभावित बनाएको बेला यो कदमले पीडित परिवार र समाजलाई सान्त्वना प्रदान गर्ने अपेक्षा गरिएको छ।
निजी विद्यालय सञ्चालकहरूले यसअघि नै विद्यालय शिक्षा विधेयकका प्रावधानविरुद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए, तर यो शोक बिदा राष्ट्रिय एकताको सन्देश बोकेको छ।