बुटवल, भाद्र ३१ । नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेम बहादुर पुन मगरको २१ औं स्मृति दिवस मंगलबार बुटवलमा सम्पन्न भएको छ। नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश समितिको आयोजनामा र नेपाल मगर युवा संघ रुपन्देहीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा पुनप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।
नेपाल मगर युवा संघका केन्द्रीय महासचिव राम अस्लामी मगर (रोशन)ले स्व. हेम बहादुर पुनको तस्वीरमा दीप प्रज्वलन गर्दै श्रद्धा अर्पण गरेका थिए। उनले पुनलाई राष्ट्रले सम्झनुपर्ने कुशल नेतृत्वदायी व्यक्तित्व भन्दै चार दशकअघि नै भ्रष्टाचार र शोषणविरुद्ध थालिएको आन्दोलनलाई आजको Gen-Z आन्दोलनको स्रोत रहेको स्मरण गरे। नयाँ पुस्तालाई पुनको इतिहास पढ्न आग्रह गर्दै उनले बेलायत आर्मी र नेपाल प्रहरीमा सेवा सम्हालेका पुनले २०३८ सालमा मगर एकता अभियानसहित लाङ्घाली परिवार संघ स्थापना गरेको उल्लेख गरे।
कार्यक्रममा आदिवासी जनजाति महासंघ रुपन्देहीका सल्लाहकार शंकर गाहा मगर, जिल्ला अध्यक्ष थर्क बार्हघरे, फोनिज सचिव आकृति थापा, जिल्ला सदस्य बिनिता थापा मगर, तिलोत्तमा नगर अध्यक्ष प्रेम घर्ती मगरलगायतले पनि पुनको योगदानको प्रशंसा गरे।
महिला नेतृहरूमध्ये राधिका श्रीस, निर्मला थापा, क्षितिजा राहादि मगर र समाजसेवी दल बहादुर दर्लामीलगायतले मन्तव्य राख्दै पुनको योगदानबाट प्रेरणा लिनुपर्ने बताए। कार्यक्रममा विद्यार्थीहरुलाई नेपाल मगर युवा संघ रुपन्देहीका उपाध्यक्ष पहलसिंह राना मगरले स्वागत गरेका थिए भने सभाध्यक्ष रमेश सारु मगरले नयाँ पुस्ताले पुनको योगदानलाई बुझ्न जरुरी रहेको औंल्याए।
छोटो समयमा सम्पन्न स्मृति दिवसलाई आगामी दिनमा अझ भव्यरूपमा गर्ने तयारी रहेको आयोजक समितिले जनाएको छ। कार्यक्रम सञ्चालन नेपाल मगर विद्यार्थी संघका सदस्य लालसिंह घर्ती मगरले गरेका थिए।