लुम्बिनीखबर
भैरहवा, १ मंसिर । नेपाल ट्रस्टको नाममा रहेको मूल्यवान जग्गा बदनियतपूर्ण तरिकाले लिजमा दिई राज्यलाई ठूलो आर्थिक हानि पुर्याएको आरोपमा पूर्वसचिव अर्जुन कुमार कार्की आज पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी( ले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान गरिरहेको यो प्रकरणमा कार्कीको संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरी हिजो (कात्तिक ३० गते) उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए।
उक्त जग्गा काठमाडौं महानगरपालिका–१, दरबारमार्गमा अवस्थित कित्ता नम्बर ४६०६ र ४६०५ को करिब १० रोपनीभन्दा बढी क्षेत्रफलको हो। साविकमा प्रकाशित सूचनामा कित्ता नं. ४६०६ को जग्गा मात्र लिजमा दिने उल्लेख भए पनि तत्कालीन सचिव अर्जुन कुमार कार्कीको संयोजकत्वमा रहेको समितिले थामशेर्कु ट्रेकिङ प्रालिलाई कित्ता नं. ४६०५ समेत थप गरी कुल ३० वर्ष (निर्माण अवधि ३ वर्ष सहित) का लागि बीओटी मोडलमा लिजमा दिएको थियो। उक्त सम्झौता २०७४ साल जेठ १४ गते भएको थियो।
यो प्रकरणमा यसअघि नै तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई गत कात्तिक २१ गते पक्राउ गरिएको थियो। थप अनुसन्धानका क्रममा पूर्वसचिव अर्जुन कुमार कार्की (दोलखा, जिरी नगरपालिका–६, हाल अवकाशप्राप्त) को समेत मुख्य भूमिका देखिएपछि उनलाई पक्राउ गरिएको हो।
सीआईबीका अनुसार यो कार्यबाट नेपाल ट्रस्टमार्फत नेपाल सरकारलाई दिर्घकालीन रूपमा ठूलो आर्थिक नोक्सानी पुगेको र केही व्यक्तिहरूले अवैध लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अनुसन्धान जारी रहेको र थप व्यक्तिहरूको संलग्नता पनि खुल्न सक्ने सीआईबीले जनाएको छ।