अञ्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ९ मङ्सिर । “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नाराका साथ नेपालभरि आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म सञ्चालन हुने यो अभियान लुम्बिनी सांस्कृतिक नगरपालिकामा पनि भव्य रूपमा शुभारम्भ गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर-प्रमुख कल्पना हरिजनले समाजका विभिन्न क्षेत्रमा महिलामाथि विभिन्न प्रकृतिका हिंसा भइरहेको भन्दै त्यसको अन्त्यका लागि सबैको ऐक्यबद्धता अपरिहार्य रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “लुम्बिनी सांस्कृतिक नगरपालिकालाई चाँडै नै ‘महिला हिंसा अन्त्य पालिका’ घोषणा गर्न सम्भव छ, तर त्यसका लागि सबैको साथ र सहयोग आवश्यक छ।”
उहाँले थप्नुभयो, “महिला, बालिका, दलित, अल्पसंख्यक र लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सबै व्यक्तिको सम्मान, सुरक्षा र समानताको अधिकार सुनिश्चित गर्नु हाम्रो साझा दायित्व हो। सामाजिक चेतना, कानुनी परामर्श, पीडितमैत्री सेवा र व्यवहार परिवर्तनका कार्यक्रममार्फत मात्र लैङ्गिक हिंसाको पूर्ण अन्त्य सम्भव छ।”
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले यो अभियान १६ दिनमा मात्र सीमित नभई वर्षभरि नै निरन्तर रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “महिलामाथि हुने हिंसा नियन्त्रणमा सबैको ध्यान जानुपर्छ। विशेष गरी दिदीबहिनीहरूले नै यो अभियानलाई गाउँ-टोलसम्म पु-याएर सफल बनाउन अग्रणी भूमिका खेल्नुपर्छ। सम्मान, सुरक्षा र समानता हाम्रो सामूहिक जिम्मेवारी हो। तीनै तहका सरकारले महिलाको अधिकार सुनिश्चित गर्न मुख्य जिम्मेवारी लिनुपर्छ।”
अभियानलाई नगरपालिकाभरि प्रभावकारी बनाउन विभिन्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया, र्याली तथा कानुनी परामर्श शिविरहरू सञ्चालन गरिने महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाहले जानकारी दिनुभयो।
लुम्बिनी सांस्कृतिक नगरपालिकाले यो १६ दिने अभियानलाई अवसरका रूपमा लिएर दीर्घकालीन रूपमा नै लैङ्गिक हिंसा अन्त्य गर्ने लक्ष्य राखेको छ।
अभियानको उद्घाटन कार्यक्रममा नगरपालिकाका कार्यवाहक नगर-प्रमुख कल्पना हरिजन, प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाह, नगरपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले “म हिंसा गर्दिनँ, म हिंसा सहन्नँ, हिंसा भए/देखेमा प्रतिकार गर्छु र आवाज उठाउँछु” भन्ने प्रतिबद्धतासहितको ब्यानरमा हस्ताक्षर गर्नुभयो।