असलम खान । लुम्बिनीखबर
मर्चवार, पुस । रुपन्देहीको मर्चवारमा पछिल्ला केही दिनदेखि बाक्लो हुस्सु र शितलहरका कारण अत्यधिक चिसो बढेको छ। विगत केही दिनको तुलनामा आइतवार, सोमवार र मंगलवार जाडो निकै बढेको स्थानीयले बताएका छन्। शितलहरसँगै पश्चिमी हावा (स्याँठ) चल्दा चिसो झनै बढेको र स्थानीयवासी आगो तापेर बस्न बाध्य भएका छन् ।
चिसो बढेपछि दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग सबैभन्दा बढी प्रभावित भएको देखिएका छन् । सडकमा मानिसको चहलपहल कम हुँदा आम्दानी घटेको एक टेम्पु मजदुर साह आलमले बताए । यसअघि दैनिक करिब दुई हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो,अहिले पाँच सय रुपैयाँ कमाउन पनि मुस्किल भएको बताए । मर्चवारका अर्का एक ज्यालादारी मजदुर दिलसादका अनुसार चिसोका कारण काम गर्नै नसक्ने अवस्था रहेको बताए ।
हरेक जाडोयाममा तराई क्षेत्रमा लामो समयसम्म शितलहर चल्ने र घाम नदेखिने हुँदा चिसोको कहर झेल्नुपर्दै आएको छ । यसपटकको चिसोले मानिससँगै पशुचौपाय तथा कृषि बालीमा समेत असर पु¥याएको छ । चिसोका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेको स्थानीयको भनाइ छ । चिसोबाट बच्न तातो झोलिलो खानेकुरा सेवन गर्न,न्यानो कपडा लगाउन तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्यकर्मीले सर्वसाधारणलाई आग्रह गरेका छन् । चिसो बढेसँगै अस्पतालहरूमा बिरामीको चापसमेत बढ्दै गएको छ ।