logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अञ्चलपुर गुरुङ्ग समाजद्वारा भव्य ‘लुतो फाल्ने’ कार्यक्रम


    २ साउन २०८३ , शनिबार

    अञ्चलपुर गुरुङ्ग समाजद्वारा भव्य ‘लुतो फाल्ने’ कार्यक्रम

    बिशन गुरुङ्ग। लुम्बिनीखबर 

    भैरहवा, २ साउन  । नेपाली परम्पराअनुसार श्रावण महिनाको पहिलो दिन मनाइने ‘लुतो फाल्ने’ पर्वको अवसरमा अञ्चलपुर गुरुङ्ग समाजले बिहीबार गुरुङ्ग भवन, सि.आई. चन्द्रपथ, भैरहवामा परम्परागत कार्यक्रम सम्पन्न भएको छ ।

    नेपाली समाजमा श्रावण १ गते लुतो फाल्ने परम्परा विशेष महत्वपूर्ण मानिन्छ । लोकविश्वासअनुसार यस दिन लुतो फाल्दा शरीरमा लाग्ने छालासम्बन्धी रोग, अशुभ प्रभाव तथा नकारात्मक ऊर्जा निवारण हुने र नयाँ महिनाको सुरुवात सुख, स्वास्थ्य तथा समृद्धिसँग हुने विश्वास गरिन्छ ।

    सोही परम्परालाई जीवन्त राख्दै अञ्चलपुर गुरुङ्ग समाजले समुदायका ज्येष्ठ नागरिक, युवा, महिला तथा बालबालिकाको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहभागीहरूले परम्परागत विधिअनुसार खरको मशाल प्रज्वलन गरी सामूहिक रूपमा ‘लुतो फाल्ने’ संस्कार पूरा गरेका थिए । गुरुङ्ग समुदायको मौलिक संस्कृति झल्काउने परम्परागत पोशाक र सामूहिक उत्साहले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै समाजका अध्यक्ष कमानसिंह गुरुङ्गले आधुनिक जीवनशैलीका कारण मौलिक संस्कृति र परम्परा हराउँदै गएको अवस्थामा यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्ना संस्कार र सांस्कृतिक मूल्यबारे जानकारी दिने बताए । उनले पुस्तान्तरणसहित मौलिक परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यवस्थित र भव्य रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा अञ्चलपुर गुरुङ्ग समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो । सहभागीहरूले यस्ता मौलिक सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्न सबै पक्षबाट सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

    अञ्चलपुर गुरुङ्ग समाजले नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै समुदायमा आपसी सद्भाव, एकता र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने उद्देश्यले हरेक वर्ष यस्ता सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.