लुम्बिनीखबर
काठमाडौं, १६ भदौ । नेपाल प्रहरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता यस वर्ष बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै रद्द गरेको छ।नेपाल प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै रसुवा लगायत विभिन्न क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न परिस्थितिका कारण निकट भविष्यमा सञ्चालन हुने भनिएको प्रतियोगिता रद्द गरिएको जनाएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै नेपाल प्रहरीसमेत उद्धार, खोजी तथा राहत व्यवस्थापनमा सक्रिय रूपमा परिचालन भइरहेकाले प्रतियोगिता रद्द गरिएको बताउनुभयो।उहाँका अनुसार विपद्को समयमा नेपाल प्रहरीका जनशक्ति प्रभावित क्षेत्रमा खोज तथा उद्धार, सुरक्षा व्यवस्थापन, राहत वितरण तथा विपद् व्यवस्थापनमा केन्द्रित हुनुपर्ने अवस्था रहेकाले नियमित कार्यक्रमभन्दा नागरिकको जीवनरक्षा र उद्धारलाई प्राथमिकता दिइएको हो।
प्रवक्ता काफ्लेले भन्नुभयो, “भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता रद्द गरिएको हो। अहिले प्रहरीको पहिलो प्राथमिकता विपद्मा परेका नागरिकको खोज, उद्धार, सुरक्षा र राहत व्यवस्थापन हो।”नेपाल प्रहरीले हरेक वर्ष प्रहरी कर्मचारी तथा विभिन्न प्रहरी एकाइबीच खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो। प्रतियोगिताले प्रहरी कर्मचारीमा शारीरिक तन्दुरुस्ती, अनुशासन, टिम भावना तथा व्यावसायिक क्षमता अभिवृद्धिमा योगदान पुर्याउँदै आएको थियो।
तर यस वर्ष भदौ १० गते रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपछि उत्पन्न मानवीय तथा सुरक्षा चुनौतीलाई प्राथमिकतामा राख्दै प्रतियोगिता सञ्चालन नगर्ने निर्णय गरिएको हो।
प्रहरी प्रधान कार्यालयले प्रतियोगिता रद्द गरिएको जानकारी सबै विभाग, ब्युरो, प्रदेश प्रहरी कार्यालय तथा सम्बन्धित प्रहरी कार्यालयलाई गराएको छ।