logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ओमसतिया–४ मा विकास निर्माणका विभिन्न योजना सञ्चालनमा


    ७ असोज २०८३ , बुधबार

    ओमसतिया–४ मा विकास निर्माणका विभिन्न योजना सञ्चालनमा

    लुम्बिनीखबर
    भैरहवा, ७ असोज । ओमसतिया गाउँपालिका–४ ले चालु आर्थिक वर्षमा विकास निर्माण तथा सामाजिक क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ। वडाले विकास निर्माण तथा पूर्वाधारलगायतका क्षेत्रमा करिब रु एक करोड बजेट विनियोजन गरेको जनाएको छ। वडा अध्यक्ष अखिलेश्वरकुमार पाण्डेका अनुसार वडामा सडक, नाली, खानेपानी, सिँचाइ, धार्मिक तथा सांस्कृतिक संरचना र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका विभिन्न योजना सञ्चालन गरिनेछ। वडाले पूर्वाधार विकाससँगै सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो।

    प्राविधिक शाखा प्रमुख सरिता गिरीका अनुसार पननीको मूल सडकदेखि लक्ष्मीकुर्मीको घर हुँदै राममूर्ति पाण्डेको घरसम्म पीसीसी ढलान गर्ने योजना रहेको छ। त्यस्तै ठूलो बालापुरको धनराज कुँवरको घरदेखि कनहीको घरसम्म पीसीसी ढलान, सिलौटियाको कालीमाई मन्दिर परिसरमा पीसीसी ढलान तथा पननी मदर्सामा पीसीसी ढलानको काम गरिनेछ। पननीमा राजन हलुवाईको घरदेखि दशरथ माध्यमिक विद्यालयतर्फ जाने बाटोमा नाली निर्माण गरिनेछ। कृषकलाई खानेपानीका धारा तथा पाइप र सिँचाइका बोर पाइप वितरण गरी जडान खर्चमा समेत वडाले सहयोग गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। मटेरियास्थित सार्वजनिक पोखरीको छेउमा खानेपानी धारा जडान तथा घनश्याम चौधरीको घरदेखि नहरसम्म नाली निर्माण गर्ने योजना पनि रहेको छ।

    ठूलो बालापुरस्थित हनुमान मन्दिरमा रङरोगन तथा मर्मतसम्भार, गुर्जपुरवामा चौतारी निर्माण, बेतौलियाको श्मशानघाटमा ट्रस निर्माण, रामजानकी मन्दिरको धर्मशालामा ढोका जडान तथा सानो बालापुरको बाइपास नहरमा वाल निर्माण गरिने उहाँले बताउनुभयो। यसैगरी गोनहिया बाँध सरसफाइ तथा निर्माण, जगतगुरु पीठमा शौचालय निर्माण, मधुरी कब्रस्थानमा तारबार, बसन्तपुरमा प्राथमिक स्वास्थ्यसम्बन्धी भौतिक पूर्वाधार निर्माण तथा गुर्जपुरवा सार्वजनिक पोखरी संरक्षण र माटो पटानको कामसमेत गरिने योजना रहेको गिरीले जानकारी दिनुभयो।

    वडा सचिव सञ्जय यादवका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट वडाका आवश्यकताका आधारमा विकास निर्माण र सामाजिक कार्यक्रम सञ्चालन गरिनेछ। योजनाहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै लैजाने उहाँले बताउनुभयो। ओमसतिया गाउँपालिका–४ ले सडक तथा नाली निर्माणसँगै खानेपानी र सिँचाइ, धार्मिक तथा सांस्कृतिक संरचना, सार्वजनिक पोखरी संरक्षण, स्वास्थ्य पूर्वाधारलगायतका क्षेत्रलाई यस वर्षको योजनामा समेटेको जनाएको छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.