logo
  • १० असोज २०८३ , शनिबार
    • ट्रेन्डिङ

    धकधई बजारको स्वचालित क्यामेरा दुई महिनादेखि बन्द, सुरक्षा र ट्राफिक व्यवस्थापनमा चुनौती


    ८ असोज २०८३ , बिहिबार

    धकधई बजारको स्वचालित क्यामेरा दुई महिनादेखि बन्द, सुरक्षा र ट्राफिक व्यवस्थापनमा चुनौती

    पशुपति यादव । लुम्बिनीखबर

    रोहिणी, ८ असोज। रोहिणी गाउँपालिकास्थित धकधई बजारको स्वचालित सिसिटिभी क्यामेरा मर्मत तथा संभारको अभावमा झन्डै दुई महिनादेखि बन्द अवस्थामा रहेको स्थानीय स्रोतले जनाएको छ।

    सार्वजनिक सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि जडान गरिएका यी क्यामेराहरू लामो समयदेखि सञ्चालनमा नआउँदा बजार क्षेत्रको सुरक्षा निगरानी कमजोर बनेको छ।

    अस्थायी ट्राफिक पोस्ट धकधईका इन्चार्ज अजय गुप्ताका अनुसार क्यामेरा बन्द हुँदा ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिएको छ। “क्यामेरा सञ्चालनमा भए दुर्घटना र नियम उल्लंघनका घटनाको अभिलेख राख्न सहज हुन्थ्यो। अहिले म्यानुअल निगरानीमा निर्भर हुनुपर्ने अवस्था छ,” उनले बताए। उनले मर्मतको काम चाँडो सम्पन्न भए ट्राफिक व्यवस्थापन चुस्त बन्ने बताए।

    इलाका प्रहरी कार्यालय धकधईका प्रहरी निरीक्षक रामभक्त भट्टराई ले पनि सुरक्षा पक्षमा क्यामेराको महत्त्व बारे बताए । “सार्वजनिक स्थलको निगरानी र अपराध नियन्त्रणका लागि सिसिटिभी क्यामेरा महत्त्वपूर्ण उपकरण हो। यो लामो समय बन्द रहँदा सुरक्षा व्यवस्थामा प्रभाव परेको छ,” निरीक्षक भट्टराई भने। उनले गाउँपालिकाले मर्मत गरी पुनः सञ्चालनमा ल्याए सुरक्षा संयन्त्रलाई थप सहयोग पुग्ने बताए।

    स्थानीय व्यापारी र बुद्धिजीवीहरूले रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको ध्यान यस विषयमा तान्न जरुरी रहेको बताएका छन्। उनीहरूका अनुसार दुई महिनादेखि सञ्चालनमा नआएका स्वचालित क्यामेरालाई शीघ्र मर्मत गरी पुनः सञ्चालनमा ल्याउन स्थानीय सरकारले प्राथमिकता दिनुपर्छ। सुरक्षा व्यवस्थालाई चुस्त र दुरुस्त बनाउन क्यामेरा मर्मत अपरिहार्य भएको उनीहरूको आग्रह छ।

    धकधई बजार रोहिणी गाउँपालिकाको महत्त्वपूर्ण व्यापारिक केन्द्र हो। यहाँ दैनिक रूपमा ठूलो संख्यामा मानिसहरू आउजाउ गर्ने हुनाले सुरक्षा निगरानी र ट्राफिक व्यवस्थापन आवश्यक छ। स्वचालित क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याएमा अपराध नियन्त्रण, दुर्घटनाको अभिलेख र सार्वजनिक सुरक्षामा सहयोग पुग्ने स्थानीयहरूको अपेक्षा छ।

    गाउँपालिका प्रशासनले यस विषयमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर सुरक्षाकर्मी, व्यापारी र स्थानीय बासिन्दाहरूले दोहोर्‍याएर आग्रह गरेका छन् कि मर्मत र संभारको कामलाई प्राथमिकता दिई क्यामेरालाई चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याइयोस्। यसले बजार क्षेत्रको सुरक्षा व्यवस्था मजबुत बनाउन मद्दत गर्ने उनीहरूको विश्वास छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.