लुम्बिनीखबर
भैरहवा,०९ असोज । भैरहवा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्दै गर्दा त्यसको करिब एक वर्षअघि सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने नियमित अन्तर्राष्ट्रिय उडानको टुंगो नलाग्दा अन्योलमै छ । फ्लाई दुबईले बुधबारदेखि दुबई–पोखरा–दुबई रुटमा दैनिक उडान सुरु गरेको छ । दुबईबाट आएको विमान बुधबार साँझ पोखरा अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २३ सेप्टेम्बरदेखि २४ अक्टोबरसम्म दैनिक एक उडानका लागि अनुमति दिएको छ ।
२०७९ पुस १७ गते सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि केही अन्तर्राष्ट्रिय चार्टर तथा नियमित उडान भए पनि तिनले निरन्तरता पाउन सकेका थिएन । फ्लाई दुबईको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । उडानलाई दिगो बनाउन पोखराका पर्यटन व्यवसायीले यात्रु आकर्षित गर्ने योजना अघि सारेका छन् । होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाई दुबईबाट आउने यात्रुलाई पहिलो तीन महिनासम्म होटलमा २५ प्रतिशत छुट दिने जानकारी दिए ।
पोखरामा उत्साह बढिरहँदा २०७९ वैशाख २ गते सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भने नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानीको प्रतिफल र व्यावसायिक सम्भावनाबारे प्रश्न उठिरहेको छ । उद्घाटनपछि जजीरा एयरवेजले केही समय कुवेत उडान गरे पनि सेवा बन्द भयो । नेपाल वायुसेवा निगमले समेत सीमित चार्टर उडान गरेको थियो । पछिल्लो समय थाई एयर एसियाले बैंकक उडान सञ्चालन गरे पनि यात्रु अभावका कारण मार्च २०२६ पछि सेवा बन्द भएको छ ।
होटल संघ नेपाल लुम्बिनीका अध्यक्ष तथा पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले गौतम बुद्ध विमानस्थललाई दिगो बनाउन बौद्ध धर्मावलम्बीको ठूलो जनसंख्या भएका मुलुकलाई लक्षित गरी उडान विस्तार गर्नुपर्ने बताउँछन् । लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटक आकर्षित गर्ने स्पष्ट सरकारी योजना आवश्यक रहेको उनको भनाइ छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसक्नुमा भारतबाट आवश्यक हवाई रुटको अनुमति, यात्रु सुनिश्चितता, कूटनीतिक पहल तथा सरकारी निकायबीचको समन्वयलाई यसको प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले लुम्बिनी र पोखरालाई पर्यटन हबका रूपमा विकास गर्न दुवै अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन महासंघले पहल गरिरहेको बताएका छन् । दुवै विमानस्थल नियमित सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरमै संवाद र पहल आवश्यक रहेको ठम्याइ उनको पनि छ । यसबीच नेपाल वायुसेवा निगमले नोभेम्बरदेखि भैरहवामा विमान राखेर नियमित अन्तर्राष्ट्रिय उडान गर्ने तयारी गरिरहेको विवरण सार्वजनिक भए पनि त्यसको औपचारिक कार्यान्वयन र दीर्घकालीन तालिका अझै स्पष्ट भइसकेको छैन । नियमित उडानको माग पटक–पटक संसद्, राजनीतिक मञ्च र स्थानीयस्तरमा उठ्दै आए पनि गौतम बुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय सञ्चालनको भविष्य अझै अनिश्चित देखिएको छ ।