लुम्बिनीखबर
काठमाडौँ, २१ असोज । नेपाल प्रहरीले बडादसैँ, दीपावली, नेपाल संवत् र छठपर्वलाई लक्षित गरी मुलुकभर सुरक्षा व्यवस्था सुदृढ बनाउने भएको छ। चाडपर्वका समयमा आम नागरिकको जनजीवन सामान्य राख्ने, बैंक तथा वित्तीय संस्थामा हुने कारोबार सुरक्षित बनाउने र विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुलाई सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले प्रहरीले विशेष सुरक्षा योजना, २०८३ कार्यान्वयनमा ल्याएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्व लक्षित सुरक्षा कार्यमा मातहतका सबै प्रहरी निकायलाई संवेदनशील र जिम्मेवार भएर परिचालित हुन निर्देशन दिनुभएको छ। उहाँले दसैँ, तिहार र छठजस्ता प्रमुख पर्वका समयमा चोरी, डकैती, जुवातास, सट्टेबाजी, मदिराजन्य झैझगडा, घरेलु हिंसा तथा अन्य आपराधिक गतिविधि बढ्न सक्ने भएकाले प्रहरीलाई थप चनाखो र सक्रिय रहन निर्देशन दिनुभएको हो। नागरिकले ढुक्क भएर चाडपर्व मनाउने वातावरण निर्माण गर्न अपराध नियन्त्रण, यात्रु तथा राजमार्ग सुरक्षा, बजार अनुगमन र प्रविधिमा आधारित निगरानीलाई प्रभावकारी बनाउन उहाँले जोड दिनुभएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले सम्भावित अपराध नियन्त्रणसँगै यात्रु सुरक्षा र सहज आवागमनलाई प्राथमिकतामा राखेर सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार देशभर प्रहरी नायब महानिरीक्षकको कमाण्डमा ५० हजार ४५८ जना प्रहरी परिचालन हुनेछन्। यात्रु तथा नागरिकलाई आवश्यक सहायता प्रदान गर्न देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ वटा सहायता कक्ष स्थापना गरिएको छ।
प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक धर्मराज भण्डारीले चाडपर्वका समयमा चोरी तथा लुटपाट, जुवातास तथा अवैध सट्टेबाजी, कालोबजारी, कृत्रिम अभाव, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार, भन्सार छली र बैंक तथा वित्तीय संस्थामा हुने चोरी तथा डकैतीलगायत गतिविधिमाथि विशेष निगरानी गरिने बताउनुभयो। उहाँका अनुसार प्रमुख बजार, सपिङ मल तथा मार्ट, बैंक तथा वित्तीय संस्था, बसपार्क, सार्वजनिक यातायात, विमानस्थल, धार्मिक तथा पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक, सहरका प्रवेश तथा निकास नाका र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइनेछ।
प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी पैदल गस्ती, मोबाइल गस्ती, ग्रामीण गस्ती, क्यूआरटी, एलआरपी/एसआरपी तथा क्रस पेट्रोलिङ परिचालन गर्नेछ। मुख्य नाका तथा शंकास्पद स्थानमा चेक प्वाइन्ट र संयुक्त चेकजाँच सञ्चालन गरिनेछ। आवश्यक स्थानमा तालिमप्राप्त कुकुरबाट खोज तथा निगरानीसमेत गरिनेछ।
त्यसैगरी भीआईपी तथा भीभीआईपीको सुरक्षा, सरकारी तथा महत्वपूर्ण प्रतिष्ठान, कारागार र कार्यालयको सुरक्षा, २४ घण्टा राजमार्ग विशेष चेकिङ तथा स्कर्टिङ, आकस्मिक चेकजाँच, बजार अनुगमन र सादा पोशाकका प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ। निजी सुरक्षा गार्डलाई सुरक्षा विधि र अपनाउनुपर्ने सावधानीबारे अनुशिक्षणसमेत दिइनेछ।
चाडपर्वका समयमा जुवातास तथा अवैध सट्टेबाजी, सार्वजनिक स्थानमा झैझगडा, होहल्ला र उच्छृङ्खल गतिविधि नियन्त्रणका साथै पटका तथा विस्फोटक पदार्थको अवैध प्रयोग र कारोबार रोक्न विशेष निगरानी गरिनेछ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसाप्रति शून्य सहनशीलताको नीति अपनाइने प्रहरीले जनाएको छ।
लामो समय घर खाली रहने अवस्थालाई ध्यानमा राखी आवासीय क्षेत्रमा स्थानीय समुदाय तथा टोल समितिसँग समन्वय गरी सीसीटीभी र अलार्म प्रणाली प्रयोग गर्न प्रोत्साहन गरिनेछ। लामो समयका लागि घर छाडेर जाने नागरिकलाई छिमेकी तथा स्थानीय प्रहरीलाई जानकारी गराउन प्रहरीले आग्रह गरेको छ।
चाडपर्वमा लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। यात्रु सहायता कक्षमार्फत टिकट, सडक मार्ग, सुरक्षा तथा गुनासोसम्बन्धी आवश्यक सहायता उपलब्ध गराइनेछ। हराएका तथा भेटिएका व्यक्ति र सामानबारे समन्वय गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता प्रदान गर्ने, यात्रुका गुनासा तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने तथा शंकास्पद गतिविधिको सूचना संकलन गर्ने व्यवस्था मिलाइएको छ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधनका चालकको चालक अनुमतिपत्र, मादक पदार्थ तथा लागुपदार्थ सेवनको परीक्षण गरिनेछ। दुई चालक भए–नभएको तथा सवारीसाधन कहाँबाट जाँच भइसकेको हो भन्ने जानकारीका लागि ट्राफिक कम्युनिकेसन एप्लिकेसन प्रयोग गरिनेछ। सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको तथा छतमा सामान राखे नराखेको विषयमा समेत कडाइका साथ जाँच गरिनेछ। उपत्यकाबाट बाहिरिने सवारीसाधनको मेकानिकल परीक्षण प्रमाणपत्रसमेत जाँच गरिने प्रहरीले जनाएको छ।
यातायात समितिमार्फत यात्रुले चालकले लापरवाहीपूर्वक सवारी चलाएको वा दुर्घटना हुन सक्ने अवस्था देखेमा तत्काल प्रहरीलाई खबर गर्न सक्ने व्यवस्था मिलाइएको छ।
प्रविधिको प्रयोगलाई सुरक्षा योजनाको महत्वपूर्ण आधार बनाइएको छ। प्रमुख बजार, चोक, नाका तथा भीडभाड हुने क्षेत्रमा सीसीटीभीमार्फत निगरानी गरिनेछ भने आवश्यक स्थानमा ड्रोनबाट हवाई निगरानी गरिनेछ। देशभर ५२ वटा ड्रोन प्रयोग गरिने प्रहरीले जनाएको छ। त्यस्तै बडी वर्न क्यामेरा, तालिमप्राप्त कुकुर तथा प्रहरी सञ्चार प्रणालीमार्फत वास्तविक समयमा सूचना आदानप्रदान गरिनेछ। डिजिटल सूचना तथा सामाजिक सञ्जालको निगरानी गरी प्राप्त सूचनाको विश्लेषणका आधारमा आवश्यक प्रहरी परिचालन गरिनेछ।
चाडपर्वका समयमा डिजिटल वालेट, अनलाइन सपिङ र रेमिटेन्स कारोबार बढ्ने भएकाले अनलाइन ठगी तथा साइबर अपराध नियन्त्रणलाई समेत प्राथमिकतामा राखिएको छ। नक्कली अनलाइन सपिङ तथा पर्व विशेष अफर, नक्कली चिठ्ठा तथा उपहारसम्बन्धी सन्देश, नक्कली लगानी तथा नाफाको योजना, क्यूआर कोड तथा डिजिटल भुक्तानी ठगी, मोबाइल बैंकिङ तथा वालेट खाता ठगी, ओटीपी, पिन तथा पासवर्ड माग्ने फिसिङ र कृत्रिम बुद्धिमत्ता प्रयोग गरी बनाइएका नक्कली अडियो, भिडियो तथा आवाजबाट हुने ठगीमाथि निगरानी गरिनेछ।
प्रहरीले नागरिकलाई ओटीपी, पिन, पासवर्ड, बैंकिङ विवरण तथा अन्य गोप्य जानकारी कसैलाई पनि नदिन आग्रह गरेको छ। लामो समय घर छाडेर जाँदा ढोका, झ्याल, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न र घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ। भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोक्दा विशेष सावधानी अपनाउन, मादक तथा लागुपदार्थ सेवन गरी सवारी नचलाउन र ट्राफिक नियम पूर्णरूपमा पालना गर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीले एआईबाट तयार गरिएको आवाज वा भिडियो तथा आफन्त वा अधिकारीको नाममा असामान्य रकम माग गरिएको सन्देशलाई तत्काल विश्वास नगर्न र कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार सुरक्षित चाडपर्व निर्माण गर्नु नेपाल प्रहरीको मात्र नभई नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सम्बन्धित सबै सरोकारवाला निकायको साझा जिम्मेवारी हो। नागरिकबाट समयमै प्राप्त हुने सूचना अपराध रोकथाम तथा अनुसन्धानका लागि महत्वपूर्ण हुने भएकाले शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आधिकारिक सम्पर्क माध्यममा जानकारी गराउन आग्रह गरिएको छ।
नेपाल प्रहरीले चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा शान्तिपूर्ण वातावरण कायम गर्न ‘सूचना, प्रविधि, प्रहरी परिचालन र नागरिक सहकार्य’लाई मुख्य आधार बनाउँदै सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। प्रहरीले “ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईंहरूको साथमा छ” भन्ने सन्देशसमेत दिएको छ।
आपत्कालीन अवस्थामा प्रहरी कन्ट्रोल नम्बर १०० मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।