लुम्बिनीखबर
भैरहवा, १९ असोज । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली तथा चोरी पैठारी गरी ल्याइएका रु पाँच लाख एक हजार ३६८ बराबरका सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलसहित कपडा, खाद्य सामग्री तथा विभिन्न प्रकारका पटाका, पसुजन्य मासु र आतसबाजीका सामग्री बरामद गरेको हो।
प्रहरीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका क्षेत्रबाट भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद भएका हुन्। प्रहरीले चाडपर्वको समयमा सीमावर्ती क्षेत्रबाट भन्सार छली तथा चोरी पैठारी हुनसक्ने भएकाले जिल्लाका विभिन्न नाकामा निगरानी तथा चेकजाँचलाई समेत तीव्रता दिएको जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, भैरहवा तथा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।