लुम्बिनीखबर
भैरहवा, १९ कात्तिक । रुपन्देहीमा १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार २०६५ मङ्सिर ६ गते राति करिब १२ः३० बजे साविक धकधई गाविस–८, हाल रोहिणी गाउँपालिका–३ झुङ्गापरासीस्थित हुलाकी सडक खण्डमा मुनिराम राजभरको गोली हानी हत्या भएको थियो।
साविक छिपागढ गाविस–६, हाल रोहिणी गाउँपालिका–४ निवासी ३२ वर्षीय चिनक राजभर भन्ने मुनिराम राजभरको पछाडि गलबन्दीले हात बाँधेर कञ्चटमा गोली प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। उक्त घटनाको अनुसन्धानका क्रममा १८ वर्षपछि रोहिणी गाउँपालिका–४ निवासी ६८ वर्षीय प्रल्हाद कुर्मी र ६० वर्षीय महेन्द्रप्रसाद कुर्मी पक्राउ परेका हुन्।
प्रहरीले अनुसन्धान पूरा गरी दुवै जनालाई रुपन्देही जिल्ला अदालतमा पेस गरेकोमा अदालतको कात्तिक १८ गतेको आदेशअनुसार पुर्पक्षका लागि रुपन्देही कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो।