असलम खान/ झब्बर यादव
सिद्धार्थनगर, २९ मंसिर । जिल्लाको मर्चवारी गाउँपालिकाले पालिकाभित्र जन्मिने हरेक छोरीलाई रु २० हजार बिमा गरिदिने गरेको छ । आर्थिक वर्ष ०७९/८० को साउन महिनादेखि स्वास्थ्य केन्द्रमा जन्मिएका बालिकाहरुको बिमा गरिदिन सुरु गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । यो आर्थिक वर्षको मंसिर २५ सम्ममा ६८ जना बालिका बीमा गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको मर्चवारी गाउँपालिकाले बालिका बीमाका साथसाथैं पालिका भित्रका बिरामीहरुलाई जिल्ला भरिको जुनसुकै अस्पतालमा जानका लागि नि:शुल्क एम्बुलेन्स सेवाको पनि व्यवस्था गरेको पालिकाको सुचना शाखाले जानकारी दिएको छ । पालिका भित्र रहेका गर्भवती महिलाहरुलाई प्रोटोकल अनुसार गर्भ जाँच सुनिश्चित गरिएको छ । पालिकाको स्वास्थ्य शाखाले जनाए अनुसार –मर्चवारी गाउँपालिकाले जनताको स्वास्थ्य सुविधाको लागि स्वास्थ्य केन्द्रहरुलाई सधैं जनताको समस्या प्रति सजग रहेरकाम गर्न निर्देशन दिएको छ । नेपालकै गाउँपालिका मध्ये १२ वर्ष माथिका सबैलाई कोभिड–१९ कोखोप लगाएर पूर्ण खोप घोषणा गर्ने पहिलो पालिका भएको पालिकाको स्वास्थ्य शाखाले दावी गरेको छ । गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले जनप्रतिनिधि भनेको जनताको सेवक भएकाले मर्चवारी वासी जनताका लागि स्वास्थ्य सुविधा पूर्णरुपमा दिने प्रयास भएको जानकारी दिनुभयो । उहाँले बालिकाहरुको भविष्य सुनिश्चितताका लागि बालिका बीमा लगायत शिक्षा र रोजगारमा समेत प्राथमिकता राखेर आफुले काम गरको बताउनु भयो । जिल्लाको दुुर्गम क्षेत्रको रुपमा परिचित मर्चवारको स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ र सेवामुखि बनाउने काम मर्चवारी गाउँपालिकाले गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले बताउनु भयो । उहाँले बजेटमा स्वास्थ्य क्षेत्रको सुविधाका लागि कार्यक्रम ल्याएकोले जनता जनप्रतिनिधि र कर्मचारीहरु मिलेर सबैलाई अगाडि बढ्न आग्रह गर्नुभयो । गाउँपालिकाले सुत्केरी गराउनका लागि सबैलाई स्वास्थ्य केन्द्रहरुमाआउन अनुरोध गर्दै होम डेलिभरी शुन्य गर्ने योजना अगाडि सरेको पालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले जानकारी दिनुभयो । पालिका भित्र रहेका सबै स्वास्थ्य शाखाहरुलाई पोषण मैत्री स्वास्थ्य संस्था बनाउने र गर्भवती महिलाहरुका लागि सुनिश्चित गर्भ जाँच गराउने योजना रहेको छ । स्वास्थ्य शाखा प्रमुख शाहले भन्नु भयो, “मर्चवारी गाउँपालिकामा उत्कृष्ट स्वास्थ्य सेवा पुर्याउन आफुहरुको लक्ष्य रहेको छ ।” स्वास्थ्य शाखा प्रमुख शाहले पालिका भित्र रहेका स्वास्थ्य केन्द्रहरुसुविधा सम्पन्न आफ्नो भवन हुनुपर्ने बताउनु भएको छ । उहाँले कर्मचारीहरुलाई स्वास्थ्य सम्वन्धी तालिमहरुको व्यवस्था तथा उचित सेवा सुविधाको आवश्यकता रहेको जनाउनु भयो । मर्चवारी गाउँपालिकाले पछिल्लो आर्थिक वर्षमा विभिन्न प्रकारका उत्कृट कार्यहरु गर्दै आएको छ । यसले शिक्षा, स्वाास्थ्य, कृषि र पूर्वाधार विकासमा आक्रमण शैलीमा काम गरेको देखिन्छ । कन्या विद्यालय देखि सिचाईको सुरुवात गरेको यो पालिकाले भ्रष्टाचारलाई समेत शुन्यमा झारेको छ ।