सुरज घिमिरे
बौद्ध अर्थशास्त्र शब्दको प्रयोग सबैभन्दा पहिला इएफ शूमाकरले सन् १९५५ ताका गरेका हुन्, जसलाई पहिलो पटक सन् १९६६ मा एसियामा बौद्ध अर्थशास्त्रको निवन्ध प्रकाशित गरियो, जुन पछि “स्मल इज ब्युटिफुल” नामको किताबको रुपमा प्रकाशित भयो । बौद्ध अर्थशास्त्रमा अर्थशास्त्रलाई आध्यात्मिक र दार्शनिक दृष्टिकोणबाट विश्लेषण गरिन्छ, यसले आर्थिक गतिविधिलाई मान्छेको मनोविज्ञानका साथै भावनाहरूको गहिराइबाट परीक्षण गर्ने कुरामा जोड दिन्छ ।
परम्परागत अर्थशास्त्र जहिले पनि बस्तुको उत्पादन, खपत, नाफा र त्यसबाट राज्यको ढुकुटीमा आउने राजस्वको हिसाबमा केन्द्रित हुन्छ । उत्पादित बस्तु कसले प्रयोग ग¥यो, कति उमेरको व्यक्तिबाट सो वस्तुको उपभोग गरियो र त्यसबाट व्यक्तिको व्यक्तित्व बिकासमा कस्तो प्रभाव पा¥यो भन्ने कुरालाई महत्वका साथ लिइंदैन तर यसको बिपरित बौद्ध अर्थशास्त्रले भने बस्तुको उत्पादन गर्दा जहिले पनि समुदायको हितलाई ध्यान दिनुपर्ने र दीर्घकालिन फाइदामा जोड दिनुपर्ने कुराको वकालत गर्दछ ।
बौद्ध अर्थशास्त्रले विशेषगरी पर्यावरणलाई क्षति नहुने गरी उद्योगहरू सञ्चालन गर्नुपर्छ भन्ने तर्क राख्छ । त्यसैगरी कुनै सानो वस्तुबाट पनि ठूलो उत्पादन गर्न सकिने मान्यता राख्छ । त्यस्तै जहाँ कच्चा पदार्थ उपलब्ध हुन्छ त्यही स्थानमा उद्योगहरू स्थापना गर्नुपर्छ भन्ने भनाइ बौद्ध अर्थशास्त्रीहरूको छ । यसले स्थानीय स्तरमा रोजगारीको अवसरमा वृद्धि गरी गरिवी घटाउन मद्दत मिल्छ ।
बौद्ध दृष्टिकोणमा श्रमका तीन कामहरु हुन्छन् । पहिलो, मानिसले आफ्नो योग्यताको उपयोग गर्दे त्यसको विकास गर्ने अवसर प्राप्त गर्नु, दोस्रो सामुहिक रुपमा काम गरी व्यक्तिगत अहमताको भावमाथि विजय प्राप्त गर्नु र तेस्रो उचित अस्तित्वका लागि आवश्यक वस्तु तथा सेवाहरुको उत्पादन गर्नु । यदि श्रम स्वतन्त्र रुपमा र सम्मानको वातावरणमा गर्न सकियो भने त्यसले उत्पादनमा सकरात्मव प्रभाव पार्ने मात्र नभई श्रमिकको खुसी र उत्पादकत्व दुबैमा बृद्धि गर्दछ । यसरी बौद्ध अर्थशास्त्रले श्रमको सम्मान र सामुहिक कार्यमा जोड दिन्छ ।
सामुहिक भावनाको विकास, सामाजिक शान्तिको जर्गेना, सीमित इच्छाको भावना, हिंशा र दःुखको अन्त्यजस्ता कुराहरुमा बौद्ध अर्थशास्त्रले जोड दिन्छ । अहिंसायुक्त समाज निर्माणका लागि आर्थिक क्रियाकलापहरू सामूहिक रूपमा गर्नुपर्ने मान्यता बौद्ध अर्थशास्त्रको छ । जस्तै सामूहिक खेती । यसले कृषि खेतीमा मानिसको आकर्षण बढाउँछ, उत्पादित वस्तुको मूल्य गठन समुदायमा आधारित हुन्छ र यसले स्थानीयस्तरमा बढी लाभ सिर्जना गराउँछ ।
इच्छाको स्रोतमा जबसम्म कमी आउँदैन, तबसम्म दुःख हटाउन सकिँदैन । आधुनिक अर्थशास्त्रले इच्छाको संवर्द्धनमा जोड दिन्छ । यसको ध्येय नयाँ नयाँ इच्छा सिर्जना गर्नु तथा मानविय आवश्यकताहरु पैदा गर्नु हो । भौतिक उद्यमलाई सापेक्षरूपमा कम महत्व दिनेहरुभन्दा भौतिक सम्पत्तिमा जोड दिँदा व्यक्तिगत सम्पन्नता तथा मनोवैज्ञानिकरूपले स्वास्थ्यमा ह्रास हुन्छ । बौद्ध नीतिले इच्छा तथा तृष्णाको गुणनात्मक वृद्धि नभई यसलाई हटाउने तथा न्यूनीकरण गर्ने कुरामा जोड दिन्छ ।
भौतिक सम्पन्नतामा आधारित कुल राष्ट्रिय आयले मानव जीवनको वास्तविक सुखलाई मापन गर्न सक्दैन भन्ने निश्कर्षसहित सार्क मुलुक भुटानबाट कुल राष्ट्रिय खुशीको अवधारणा अगाडि ल्याइयो, जुन अर्थशास्त्रको विषयमा नितान्त नौलो र चासोको विषय बन्दै गयो । यही क्रममा सन् २००८ जुलाईमा लागू भएको भुटानको संविधानमा भुटान सरकारको लक्ष्यका रूपमा ‘कुल राष्ट्रिय खुशी’ (जीएनएच) उल्लेख गरियो । खुशी मापनका नौ सूचक छन् । मनोवैज्ञानिक रूपमा स्वस्थ, शारीरिक रूपमा स्वस्थ, जीवनोपयोगी दृष्टिले शिक्षित, समयको सदुपयोग, सांस्कृतिक विविधता र सह–अस्तित्वमा जिउने लचकता, समाज तथा राज्य सञ्चालनमा सुशासन, सामुदायिक सुदृढीकरण, पर्यावरणीय विविधता र जीवनस्तरमा निरन्तर सुधार । यही जीएनएचकै अवधारणाको आधारमा मेड जोन्सले ‘कुल राष्ट्रिय कल्याण’ (जीएनडब्लू) भनेर विश्वव्यापी रूपमा सर्वेक्षण गरे । उक्त अध्ययनको आधारमा यूएनडीपीले सन् २०११ मा खुशीलाई पनि हरेक मुलुकको विकास–प्रगति मापनको आधारका रूपमा ग्रहण गराउन थाल्यो ।
थाइल्यान्डले पनि यस्तै किसिमको आर्थिक ढाँचा विकास गरेको पाइन्छ । जसलाई सफिसियन्ट इकोनोमीको संघ्या दिइएको छ । सफिसियन्ट इकोनोमीको सुरुवात गर्ने थाइ राजा भुमिबोल हुन् । एक दशक अगाडि थाइल्यान्ड गम्भीर आर्थिक संकटबाट गुज्रेको थियो र त्यति बेला देशको स्थिति निकै नाजुक तथा दयनीय बनेको थियो । यस्तो संकटको समयमा सफिसियन्ट इकोनोमीको अवधारणाले थाई अर्थतन्त्रलाई नयां दीशा दियो । सफिसियन्ट इकोनोमीले सोचेको समाज ‘मोडरेट सोसाइटी’ हो । यसलाई छोटकरीमा ‘मोसो’ पनि भनिन्छ । अहिले थाई सरकारको आर्थिक नीति लगभग यसकै वरीपरी घुम्ने गर्छ र यसैमा आधारित रहेर अर्थनीति तय गर्ने गरिन्छ । मोसो पनि बौद्ध धर्मकै मध्यमार्गी सिद्धान्तमा आधारित छ । मध्यमार्गी भन्नाले न अति, न कम । अर्थात् बीचको बाटो राज्ने सिद्धान्त । बौद्ध धर्मले दुई अतिवादलाई त्यागेर बीचको बाटो रोज्न सिकाउँछ ।
आधुनिक युगमा मानिसहरु पैसा कमाउन दिनरात व्यस्त रहेको देखिन्छ । तर जति पैसा र धन कमाए पनि मान्छे सुखी हुन भने सकेको छैन । वास्तवमा धन भनेको साध्य होइन, साधन हो । धनलाई साध्य मान्नु नै मानव दुःखको मुख्य कारण हो भन्ने कुरा मानिसहरूले बिर्सिरहेका छन् । यस सन्दर्भमा बौद्ध अर्थशास्त्रले सुख बिनाको धनको कुनै अर्थ छैन भनी ठान्दछ ।
नेपालमा अपनाइएका गरिबसँग विश्वेश्वर कार्यक्रम, एक गाउँ एक उत्पादन, आफ्नो गाउँ आफै बनाऊँ जस्ता कार्यक्रमहरु बौद्ध अर्थशास्त्रको अभ्यास मान्न सकिन्छ ।
नेपालको आर्थिक सम्भावनाका क्षेत्रहरु भनेको कृषि, उर्जा, पर्यटन हुन् । कृषिमा समुहिक खेती बौद्ध अर्थशास्त्रको मुल मर्मलाई नेपाली अर्थतन्त्रमा पनि लागु गर्न सकिन्छ । टुक्रा टुक्रा जमिनमा खेती गर्दा उत्पादनमा विशिष्टिकरण गर्न सकिँदैन र अदृश्य बेरोजगारी मापन गर्न पनि कठिन हुन्छ । त्यसैले सामुहिक खेतीका लागि आवश्यक श्रमिकको उपयोग गरी बाँकी श्रमिकलाई अन्य क्षेत्रको विकासमा उपयो गर्न सकिन्छ । त्यसैगरी उर्जामा जलविद्युत नविकरणीय उर्जा हो । यसको उत्पादन गर्दा पब्लिक कम्पनी मार्फत स्थानीय क्षेत्रमा वातावरणीय प्रभावको अध्ययन गरी त्यहाँका जनताको रोजगारी समेत सुनिश्चित गर्दै न्युन लागतमा अधिक उत्पादन गरेर उत्पादक एवम् उपभोक्ता दुबैलाई लाभान्वित गर्न सकिन्छ । यस प्रकार सामुहिक उत्पादन मार्फत् उत्पादक र उपभोक्ता दुबैको हित संरक्षण गर्ने बौद्ध अर्थतन्त्रको व्यवहारिकताबाट अपार सम्भावना बोकेको जलविद्युतको क्षेत्रमा पनि लाभ लिन सकिन्छ ।
नेपालको सम्भावना रहेको अर्काे क्षेत्र भनेको पर्यटन हो । धार्मिक, ऐतिहांसिक, साहसिक एवम् प्राकृतिक दृष्टिकोणले पर्यटन नेपालको सम्भावना बोकेको क्षेत्र हो । यसमा पनि होमस्टे जस्तो ऐतिहांसिक, परम्परागत एवम् संस्कृति झल्कने किसिमको व्यवसाय गाउँलेहरु मिलेर सामुहिक रुपमा सञ्चालन गर्नसके अधिक व्यक्तिको रोजगारी सुनिश्चित गर्न सकिनुका साथै पर्यटकलाई सस्तोमा स्थानीय स्वादसहित मनोरन्जन दिन सकिने मात्र होइन कि देशको कला, संस्कृति, सभ्यता र रितिरिवजहरुको समेत परिचय दिलाउन सकिने सम्भावना रहेको देखिन्छ । यसमा पनि सामुहिक प्रयास र न्यून मार्जिन सहितको नाफा र उपभोक्ताको हित समावेश हुने भएकाले कहिँ न कतै बौद्ध अर्थशास्त्रको परम्पराको प्रयोग हुनसक्छ भन्न सकिन्छ ।
बौद्ध अर्थशास्त्रले नेपाली बजारलाई धेरै अनुशासित बनाउनसक्छ । जस्तो बढी मुनाफा नलिने अर्थात् वस्तुको बिक्रीले अरूलाई पनि फाइदा पुग्नुपर्छ भन्ने धारणा लागू भएमा कालोबजारी उन्मूलन हुनसक्छ । न्यून आय हुनेहरुलाई कालोबजारीले नराम्रो असर गर्दछ । जसले गर्दा चाहना परिपूर्ति हुनैपर्छ भन्ने सोंचले पैसा कमाउन जस्तोसुकै काम गर्न मानिस तत्पर हुन्छ । जसले समाजमा अराजकता निम्त्याउँछ, हत्या, हिंसा जस्ता अमानवीय क्रियाकलाप बढाउँछ । शान्त समाज निर्माणका लागि चाहनाहरू घटाउनुपर्छ, चाहना घटाउने माध्यम भनेको बौद्ध शिक्षालाई जीवनमा उपयोग गर्नु हो ।
बौद्ध अर्थशास्त्रीय मान्यतालाई अबलम्बन गर्नसके बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न सहज बन्नजन्छ । यति मात्र होइन उत्पादनमा गुणस्तरीयता, सामाजिक हित र उपभोक्ताको सन्तुष्टिलाई समेत मध्यनजर गरिने भएकाले कालोबजारी, कार्टेलिङ र भ्रष्टाचार न्यूनिकरणमा सहयोग पुग्दछ । अतः आर्थिक समस्याहरुको समाधान सहित स्वाधीन अर्थतन्त्र निर्माणका लागि नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा बौद्ध अर्थशास्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।