जनपक्षिय कामका लागि कर्मचारी र जनप्रतिनिधिको सहकार्यमा सम्मरीमाई गाउँपालिका
कमल रायमाझी/असलम खान
भैरहवा । “कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय र रोजगार, समृद्ध सम्मरीमाई विकासको आधार” भन्ने मुलनाराका साथ सम्मरीमाई गाउँपालिकाले विकास र समृद्धिका यात्रा शुरु गरेको छ । रुपन्देहीको दक्षिण पश्चिमक्षेत्रमा रहेको समरीमाई गाउँपालिका विकास र समृद्धिको यात्रामा अगाडि बढ्दै छ । पालिकाले स्थानीय जनताको चाहाना अनुसार शिक्षा, स्वास्थ्य, कृषि, सिचाई र खानेपानीको क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आएको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । एक दशक अघिसम्म विकट रहेको यो क्षेत्र गणतन्त्रिक नेपालको स्थापना संगै उन्नतिको यात्राको अगाडि बढेको देखिन्छ । माओवादी जनयुद्ध तथा मधेस आन्दोलन र वि.स. २०६२⁄०६३ को जनआन्दोलनको जगमा भएको संविधान सभाको निर्वाचनले प्राप्त गरको समानुपातिक तथा समावेसीको आधारमा यो पालिका अगाडि बढेकको हो । महिला, दलित तथा अन्य वर्गका लागि समेत पालिकाले समावेसी र समानताको आधारमा काम गर्ने गरेको छ । कृषि उब्जाउको महत्वपूर्ण पालिकाको परिचय बनाएको यो पालिका रुपन्देहीमा कृषि हवको रुपमा विकास हुँदै गरेको देखिन्छ । भैरहवा लुम्बिनी सडक खण्डबाट लगभग २० किलोमिटर दक्षिणक्षेत्रमा पर्ने यो पालिका भारतको उत्तर प्रदेशको सिमाना संग जोडिएको छ । प्राकृतिक, भौगोलिक, सांस्कृतिक, धार्मिक विविधताको रमणीय क्षेत्र भएको यो पालिका खुल्ला दिसा मुक्त र पुर्ण खोपयूक्त गाउँपालिका हो । मुसलमान, यादब, पासी, शुक्ला, लोनिया, लोध, कुर्मी, वरई, जैसवाल, कलवार, हरिजन, गुप्ता लगाएत जातजातिका साथै विभिन्न धर्म, संस्कृतिको यहाँ बसोवास रहेको गाउँपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले जानकारी दिनुभयो । कृषि उत्पादनको प्रचुर सम्भावना बोकेको यो पालिकामा धान, गहुँ, मकै, मास, मसुरो, सहर, आलस, तोरी, सुर्यमुखी, मम्फूली, आलु, तरकारी खेती, पशुपालन उत्पादन हुने पालिका अध्यक्ष श्रीवास्तवले बताउनुभयो । जनताको विकासमा करोडौं लगानी गरेको यो पालिकामा सडक तथा भौतिक पुर्वाधार निर्माण तिव्रगतिमा हुने गरेको पालिकाको तथ्याङ्कमा देखिन्छ । पालिकाले सवै वडाहरुमा सडक तथा सहज यातायातको पहुच पुराएको छ । अतिविपन्न बेरोजगार परिवारका लागि सयदिने रोजगारकार्यक्रम तथा कृषि र स्वास्थ्य, शिक्षामा विभिन्न कार्यक्रमहरु गाउँपालिकाले गरिरहेको प्रमुख प्रशासकिय अधिकृत मुन्सी प्रसाद माझीले जानकारी दिनुभयो ।गाउँपालिकाले आर्थिक पारादर्शीता र मितव्यताका साथ समृद्धिको यात्रा तर्फ अगाडि बढेको आर्थिक प्रशासन शाखा प्रमुख प्रकास पौडेलले जानकारी दिनुभयो ।

कृषिमा आधुनिकीकरण र उत्पादनमा बजारीकरण
समरीमाई गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै अगाडि बढेको छ । कृषि उत्पादनको मुख्य केन्द्र रहेको यो पालिकाले बार्षिक बजेट निर्माण गर्दा कृषिलाई प्राथामिकतामा राखेर काम गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पालिकाले युवाहरुलाई कृषिमा स्वरोजगार बन्नका लागि नगदेबालीको उत्पादनमा प्रविधि र तालिमको व्यवस्था गरेको छ । कृषकहरुका लागि बिउहरुको वितरण तथा कृषक तालिमलाई समेत नियमित गर्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माझीले जानकारी दिनुभयो । पालिका भित्र सिचाईको व्यवस्था, कृषक सडकको निर्माण तथा कृषक समुहको गठन जस्ता कार्यहरु समरीमाई गाउँपालिकाले निरन्तर गर्दै आईरहेको छ । कृषिक्षेत्रमा स्वरोजगार बन्न चाहने युवाहरुका लागि गाउँपालिकाले सहयोग पु¥याउदै आएको छ । बाख्रा पालन, कुखुरा पालन, भैसीपालन, गाईपालन गर्ने कृषकहरुलाई आधुनिक पशुपालनका लागि तालिमको व्यवस्था गाउँपाकिाले गर्ने गरेको छ । यो पालिकालाई कृषि उद्योग संग जोडेर अगाडि बढाउनु पर्ने देखिन्छ । यहाँ ग्रामिण कृषि उद्योगको धेरै सम्भावना छ । यसका लागि संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य हुनु जरुरी रहेको गाउँपालिका कृषि शाखा प्रमुख सुरज पाण्डेयले बताउनुभयो । कृषिमा आधुनिकीकरण र उत्पादनमा बजारीकरणले सम्रीमाईको समृद्धिको मार्ग तय गर्दछ ।
गुणस्तर र प्राविधि मैत्री शिक्षा
समाज अहिले शिक्षाको उच्च विकासमा पुगेको छ । सम्मरीमाई गाउँपालिकाले पनि शिक्षालाई प्रमुख प्राथामिकतामा राखेर काम गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । सूचना तथा सञ्चार, प्रविधिको युगमा संसार प्रवेष गरेको अवस्थामा सम्मरीमाईले पनि आफुलाई अपडेट गरेको देखिन्छ । वडा देखि पालिका सम्म प्रविधिको प्रयोगबाट दैनिक कार्यहरु हुने गरको पालिकाका सूचना प्रविधि शाखा प्रमुख सुमन्त गौडले जानकारी दिनुभयो । यो पालिकाले शिक्षामा अनिवार्य र निःशुल्कका लागि पनि अभियान सञ्चालन गरेको छ । वार्षिक बजेटमा पनि शिक्षाको क्षेत्रमा ठूलो रकम खर्च गरेको छ । बिषयगत शिक्षकको अभावलाई पालिकास्तरबाट परिपुर्ती गर्ने काम गरेको पालिकाको शिक्षा शाखाले जनाएको छ । पालिकाले दिवा खाजाको व्यवस्था तथा गरिब, बिपन्न र दलित बर्गका लागि छात्रबृत्ती दिने गरेको शिक्षा शाखा प्रमुख रामदास गौडले बताउनुभयो । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिको आगमन संगै शिक्षामा पनि आमुल परिवर्तन भएको छ । शिक्षा शाखा प्रमुख गौडले भन्नुभयो,“ विद्यालयहरुमा हुने नियमित अनुगमन र शिक्षकहरुलाई दिईने तालिममले सम्मरीमाईमा शिक्षाको गुणस्तर उक्लदो रहेको छ ।”
गाउँघर क्लिनिक उपयोगी
सम्मरीमाई गाउँपाकिाले गाउँघर क्लिनिक सञ्चालन गरेपछि यहाँको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन भएको छ । मानिसलाई रोगलागे पछि उपचार गर्नुपर्ने भन्दा रोग लाग्ननै नदिने अभियानमा सम्मरीमाई गाउँपालिका रहेको पालिकाका आयुर्वेद औषाधालय शाखा प्रमुख अवनिश यादव बताउनुहुन्छ । पालिकाले स्वास्थ्य पोषणलाई निरन्तरता गरेको छ । गर्भवती, सुत्केरी तथा बालबालिकाहरुका लागि पोषण झोला कार्यक्रमले सहयोग पुराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माझी बताउनुहुन्छ । पालिकाको स्वास्थ्य शाखाले आमा समुदाय गठन गरि स्वास्थ्य क्षेत्रमा अन्तरक्रिया तथा स्वास्थ्य शिक्षाका कार्यक्रमहरु गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुका लागि समेत पालिकाले तालिम र कार्यक्षेत्रमा कामगर्ने उत्प्रेरणा मुलक काम गर्दै आएको देखिन्छ ।

भौतिक पुर्वाधारमा निरन्तरता
सम्मरीमाई गाउँपालिकाले पालिका क्षेत्र भित्रका सबै वडामा सडक तथा पुर्वाधार विकासमा जोड दिएको छ । वडा पालिका निर्माण, स्वास्थ्य भवन निर्माण, सडक निर्माण, कुलो निर्माणलाई प्राथामिकतामा राखेको पालिकाका प्राविधिक शाखा प्रमुख ई.रामदेव गुप्ताले जानकारी दिनुभयो । विकास र समृद्धिको ढोका खोल्नेकाम पुर्वाधार बिकासको क्षेत्रमा भएको भन्दै ई. गुप्ताले संघ र प्रदेशको सहयोग आवश्यक रहेको जानकारी दिनुभयो ।
अन्त्यमा
जिल्लाको कृषि भण्डारको रुपमा परिचित सम्मरीमाई गाउँपालिकाले स्थानीय सरकारको गठन संगै सुरु गरेको विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने कामलाई निरन्तरता दिएको छ । पालिकामा अध्यक्ष विनोद कुमार श्रीवास्तव, उपाध्यक्ष कुमारी प्रियंका शाही सिंह , प्रमुख प्रशासकिय अधिकृतमा मुन्सी प्रसाद माझी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु र कर्मचारीको एकताबद्ध सहकार्यले समृद्धिको यात्रा तय गरेको देखिन्छ । यहाँको कृषि, स्वास्थ्य ,शिक्षा, स्वारोग तथा कृषि उद्यमलाई प्राथामितामा राखेर काम गरेको गाउँपालिकाको सूचना शाखाले जनाएको छ । सुचना र सञ्चार प्रविधिको विकासमा अगाडि बढेको यो पालिका सामाजिक रुपान्तरणका लागि सबै वडामा सामाजिक परिचालक मार्फत काम गरिरहेको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख प्रकास पौडेल बताउनुहुन्छ । विविधताको एकता रहेको सम्मरीमाईलाई विकास र समृद्धिका लागि स्थानीय पालिकाहरुले दिर्घकालिन योजना बनाएर अगाडी बढ्नु पर्ने देखिन्छ । जनभावना अनुसार विकास, निर्माण र सामाजिक रुपमान्तरणका पक्षमा गाउँपालिकाले आफ्ना कामहरुलाई निरन्तरता दिएकाले सम्मरीमाई गाउँपालिका समृद्धिको यात्रामा अगाडी बढेको हो ।