अन्जना चौहान
लुम्बिनी, फागुन । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले शिक्षालाई गुणस्तरी वनाउनका विभिन्न योजना वनाई शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
नगरपालिकाले शिक्षालाई केन्द्रमा राखि कार्यक्रमहरु अगाडि बढाउदैँ आएको छ । नगरपालिका प्रमुख सजरुद्दीन खाँनले भन्नुभयो, “शिक्षालाई गुणस्तरीय बनाउनका लागि शिक्षक अभिभावक तथा विद्यार्थीले शिक्षालाई परिक्षामुखी नभएर जीवन उपयोगी ज्ञान, सीप र आचरणको विकासको आधार मान्न जरुरी रहेको छ ।” गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालयको भौतिक, प्रशासनिक, शैक्षिक, वातावरणीय पक्ष व्यवस्थापन तर्फ नगरपालिका सदैव सहकार्य गर्ने नगरपालिका प्रमुख खाँन बताउनुभयो । शिक्षामा गुणस्तरीयता प्रदान गर्नका लागि गुणस्तरीय नेतृत्वकर्ता, शिक्षक, सिकारु, सिकाई, विषयबस्तु, पूर्वाधार, व्यवस्थापन ,लगानी, नीति आदि गुणस्तर हुन जरुरी रहेको नगरप्रमुख खानँको भनाई रहेको छ ।
नगरपालिकाले शिक्षालाईलाई नै मुख्य प्राथमिकतामा राखेर कार्यक्रमहरु गर्दै आइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेले बताउनुभयो । पालिकाले विद्यार्थीहरुको क्षमता बृद्धि गर्न तथा शिक्षालाई प्रभावकारी वनाउन नगर शिक्षा विकास योजना कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभयो । शिक्षालाई गुणस्तर र सुधारका लागि स्थानीय पाठ्यक्रम निर्माण समेत गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भनाई रहेको छ । नगरपालिका भित्र संचालनमा रहेका विद्यालयलाई अवलोकन गरेर अनुमति दिने गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभयो । शिक्षाको क्षेत्रलाई सुधार गर्नका लागि शिक्षा सुधार अध्ययन समिति निर्माण गरी शिक्षालाई अझै चुस्तदुरुस्त बनाउन सकिन्छ । शिक्षा सुधार समिति बनाउँदा शिक्षक, अभिभावक, समाजेवी, प्रधानाध्यापक लगायत जिम्मेवार व्यतिहरुलाई समावेश गरी समिति निर्माण गर्ने प्रमुख प्रशासकीय अधिकृतको भनाइ रहेको छ ।
नगरपालिकाले शिक्षाको महत्वलाई बुझेर पालिकामा रहेका शिक्षा प्रदान गर्ने स्रोतहरु सामुदायिक विद्यालय, निजी विद्यालय, मदरसा र सीएलसीले शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने भुमिका खेलेका छन् ।
पालिकाको विशेष जोड गुणस्तरीय शिक्षामा रहेको पालिका शिक्षा शाखा प्रमुख लक्ष्मी पराजुलीले बताउनुभयो । लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र सामुदायिक ३२, नीजि विद्यालय २९, मदरसा २९ र सीएलसी ८ जम्म गरी १ सय ६ विद्यालयहरु रहेका तथ्याङ्कले देखाएको छ ।
पालिकाले बनाएको योजनाको आधारमा आ.व ०७९।८० अनुसार ३५ लाख बजेट विनियोजन गरेको शिक्षा शाखाले जनाएको छ । पालिकाले बनाएको योजना अनुसार कार्यक्रमहरु भइरहेकोे नगरपालिकाको सुचना शाखाले जानकारी दिएको छ । इमिश कार्यशाला कार्यक्रम, लोकसेवा आयोग तयारी कार्यक्रम , विद्यालय स्तरीय खेलकुद कार्यक्रम, शैक्षिक गुणयोजना निर्माण कार्यक्रम, पाठयक्रम परिमार्जन जस्ता कार्यक्रमहरु सम्पन्न भइसकेको छ । शिक्षा शाखा प्रमुख पराजुलीले भन्नुभयो, आर्थिक वर्ष ०७९।८० का लागि बनाईएको योजनाको आधारमा कक्षा ८ को नगरस्तरी परीक्षा, प्रधानाध्यापकहरुके नेतृत्व क्षमता विकास तालिम कार्यक्रम,विद्यालयको लेखा व्यवस्थापन सम्बन्धी तालिम, कम्प्युटर तालिम कार्यक्रम, शिक्षाशाखा र प्रधानाध्यापक विच अवलोकन भ्रमण कार्यक्रम लागि रु १० लाख बजेट विनियोजनमा भएको छ ।
पालिका भित्रका विद्यालयमा स्वीकृत दरबन्दी शिक्षक वालविकास कोटामा ८२, प्राथमिक तहका लागि ११४,निम्न माध्यमिक तहका लागि १२ , माध्यमिक तहका लागि९ जना शिक्षक रहेका छन भने राहतमा प्राथमिक तहका ४९ जना, निम्न माध्यमिक तह १८, माध्यमिक तह १४ रहेको शिक्षा शाखा पराजुलीले बताउनुभयो ।