निःशुल्क एम्बुलेन्स र बालिका विमा प्रभावकारी बन्दै
झब्बर यादव ।असलम खाँन
मर्चवार, २ चैत । रुपन्देहीको मर्चवारी गाउँपालिकाले होम डेलेभरी शुन्य भन्ने विषयमा विशेष पहल गर्दै आएको छ । मर्चवारी गाउँपालिका विकासको हिसाबले पिछडिएको क्षेत्र हो । गाउँपालिकाले यहाँका वसिन्दाहरुलाई निरोगी तथा स्वास्थ्य राख्न विभिन्न किसिमका योजनाहरु बनाएर अगाडि बढेको छ ।
अहिलेको समयमा अधिकाशं घरहरु मेडिकल स्टोर जस्तै भइसकेको मर्चवारी गाउँपालिका प्रमुख गया प्रसाद बरईले भन्नुभयो । घरमा कुनै न कुनै किसिमको रोगको औषधी भण्डारण गरिएकै भेटिन्छ । कोही मधुमेह, थाइराइड, रुघा, खोकी, ज्वरो आदि जस्ता सामान्य रोगले सताएकै देखिन्छ । यसको खास कारण हाम्रो लवाई, खवाई नै हो । हाम्रो जीवन शैलीकै कारण रोगी जीर्ण, कमजोर हुदै गएको देखिन्छ । त्यसैले हामी स्वास्थ्य तथा निरोगी रहनका लागि नियमित व्याम, सन्तुलित भोजन, निद्रा र सकारात्मक सोच जस्ता क्रियाकलापमा विशेष ध्यान दिन जरुरी रहेका गाउँपालिका प्रमुख बरईको भनाई रहेको छ ।
हामीले रोग लागे पछि अस्पताल धाउने गरेको देखिन्छ । तर रोग कसरी, कहाँवाट उत्पन्न भएको हो साथै रोग लाग्न बाट कसरी बाँच्न सकिन्छ त्यस तर्फ ध्यान दिएको देखिदैन् । रोग लागे पछि उपचार गराउने परम्परालाई त्याग गर्नु पर्छ । रोग आक्रमण गर्न नसकोस सम्पूर्ण पालिकाबासीहरुले पालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रहरुमा गई समय समयमा चेक जाँच गराई सेवा सुविधा लिने बानी बसाल्न अनुरोध समेत रहेको मर्चवारी गाउँपालिका प्रमुख बरईले बताउनुभयो ।
मर्चवारको स्वास्थ्य क्षेत्रलाई सर्बसुलभ तथा सेवामुखि बनाउने काम मर्चवारी गाउँपालिकाले गरेको प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले बताउनुभयो । मर्चवारी गाउँपालिकाले जनताको स्वास्थ्य सुविधाको लागि स्वास्थ्य केन्द्रलाई सधैँ जनताको समस्या प्रति सेवामुखि रहने प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनुभयो ।
मर्चवारी गाउँपालिका भित्र ७ वटा स्वास्थ्य चौकीहरु रहेका छन् । महिलाहरुलाई घरमा सुत्केरी शुन्य बनाउने योजनाको आधारमा कार्य गर्दै आइरहेको मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहको भनाई रहेको छ । गाउँपालिकाले गाउँपालिका बासीहरुको आवश्यकतालाई मध्यनजर गरेर आर्थिक वर्ष ०७९÷८० मा १ करोड १ हजार बजेट विनियोजित भएको स्वास्थ्य शाखा प्रमुख फेकन शाहले बताउनुभयो । उक्त विनियोजित बजेट अनुसार ६० प्रतिशत योजना अनुसार कार्यक्रममा भइसकेको र ४० प्रतिशत कार्यक्रम गर्न बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिनुभयो । गाउँपालिका बासीहरुको गर्भवती महिलालाई अस्पतालमा सुत्केरी गराउने तिर आकर्षण बढाउनका लागि बालिका बीमा योजना कार्यक्रम ५० लाख लागतमा संचालन गरेको स्वास्थ्य शाखा प्रमुख शाहले जनाउनुभयो ।
रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा वा निजले रिफर गरे खण्डमा कुनै पनि स्वास्थ्य केन्द्रमा छोरी जन्मेमा मर्चवारी गाउँपालिका बसिन्दालाई रु २० हजार बराबरको बालिका बीमा गर्ने स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो । रायपुर स्वास्थ्य केन्द्रमा सुत्केरी गराउने महिलालाई रु १ हजार बरावरको १ क्यारेट अण्डा, आधा किलो घिउँ, २ प्याकेट नुन सबैलाई वितरण गर्दै आइरहेको स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।
मर्चवारी गाउँपालिकाले यो आर्थिक वर्ष हाल सम्म १ सय १६ जनाको बालिका बीमा गरेका स्वास्थ्य शाखा प्रमुख शाहले जनाउनुभयो । गाउँपालिकाले विरामीहरुले उचित समयमा अस्पताल नपुग्दा उनीहरुको स्वास्थ्य अझै हुने खतरापूर्णको विषयलाई ध्यानमा राखि गाउँपालिकावासीहरुलाई जिल्लाको कुनै पनि अस्पताल सम्म लैजान निःशुल्क एम्वुलेन्स सेवा संचालन गरेको स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।
मर्चवारी गाउँपालिकाले होम डेलेभरी शुन्य गर्ने मुख्य उद्देश्यका साथ सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी सहकार्य गर्दै आइरहेको स्वास्थ्य शाखा प्रमुख शाहले जनाउनुभयो । महिलाहरुको नियमित प्रोटोकल अनुसार गर्भजाँच गर्न सुनिश्चित गर्ने, पूर्ण खोप सुनिश्चित गर्ने, गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रलाई पोषण मैत्री संस्थाको रुपमा घोषणा गर्ने, सम्पूर्ण महिला सामुदायिक स्वयंसेविकाहरुलाई सक्रिय परिचालन गरी स्वास्थ्यका विभिन्न सुचकहरुलाई बृद्धि गर्दै जाने योजनाहरु रहेको स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो ।