इरसाद खाँन
भैरहवा, २६ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको बेलहिया स्थित नाकामा महामारी सुरु छ ।
बेलहिया नाकाबाट महामारी सुरु भएको हुदाँ हेल्थडेस्क स्थापना गरेर कोरोना जाँच चलिरहेको छ । संक्रमण मत्थर भएका बेला कर्मचारीले निगरानी मात्र गर्छन । जिल्ला प्रशासन, स्थानीय पालिका र जिल्ला स्वास्थ्य कार्यालयले समन्वय गरेर हेल्थडेस्कमा कर्मचारी खटाउने गरेका छन् । यसरी कटिने कर्मचारी र स्वास्थ्य सामग्री खरिदका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले बजेट व्यवस्थापन गरिरहेको जनाएको छ ।
सुरुवात देखि सिद्धार्थनगर नगरपालिकाले स्वास्थ्य सामग्री खरिदमा सघाइरहेको जनस्वास्थ्य निरीक्षक विजय चौधरीले बताउनुभयो । प्रदेशले नै कर्मचारीलाई तलब दिने भएकाले आवश्यकता अनुसार पालिकाले सहजीकरण गरिरहेको चौधरीले बताउनुभयो । ‘होल्डिङ सेन्टर र कर्मचारीले जांच गर्ने कार्यालय भत्किने अवस्थामा पुगेको र सडक विस्तारका क्रममा नाकामा रहेको भवनको अगाडिको कोठा भत्काइने भएकाले पछाडिपट्टिको कोठाबाट काम गरेका छौं ।’
जिल्ला स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले कार्यालयले नियमित अनुगमन गरि रहेको बताउनुभयो । स्वास्थ्य कार्यालयले आवश्यकता अनुसार सहयोगी भूमिका निर्वाह गरिरहेको शाहको भनाई छ । बेलहिया सँगै भगवानपुर र ककरहवा नाकामा समेत डेस्क राखेर भारतबाट आउनेको परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । नाकामा नियमित जांचलाई बढाउँदै लगिएको र हामीले होल्डिङ सेन्टर निर्माण गर्न सकेका छैनौं, जग्गा नपाएकाले पूर्वाधार बनेको छैन ।’
स्वास्थ्य निर्देशनालयले १ करोड ५० लाख रुपैयाँ छुट्याएर प्रदेशको बेलहिया, जमुनाहा र कृष्णनगर नाकामा हेल्थ डेस्क मार्फत परीक्षण गरिरहेको निर्देशनालयका कोभिड फोकल पर्सन कौशल भण्डारीले बताउनुभयो । लुम्बिनी प्रदेशका तीनैवटा डेस्क गरी ३८ जना स्वास्थ्यकर्मी खटिएकामा बेलहियामा मेडिकल अफिसको नेतृत्वमा १२ जना, जमुनाहामा नर्सिङ अफिसरको नेतृत्वमा १४ तथा कृष्णनगरमा हेल्थ असिस्टेन्टको नेतृत्वमा १० जना स्वास्थ्यकर्मी कार्यरत रहेको जनाएका छन् ।