लुम्बिनीखबर
भैरहवा, जेठ । डेढ दशक पछि बल्ल नेपाल–भारत सीमा क्षेत्र बेलहिया–सुनौली नाकामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा बिहिबार आईसीपी उद्घाटन भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री दाहालले आईसीपी संयुक्त रुपमा उद्घाटन गरेका हुन् । यस सँगै लामो समय अन्यौलमा रहेको आईसीपी निर्माणले गति लिने अपेक्षा निजी क्षेत्रमा छ ।
दुई देशबीच सम्झौता भए पनि विगतमा भारतीय पक्षको उदासिनताका कारण आईसीपी निर्माणले गति लिन सकेको थिएन । आयात–निर्यातमा सहजता ल्याउन भन्दै साढे १८ वर्ष अघि नेपाल–भारतबीच नेपालका मुख्य भन्सार नाकाहरु विरगंज, भैरहवा, नेपालगंज र विराटनगरमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण सम्झौता भएको थियो । भारतीय लगानीमा बन्ने भनिएका विराटनगर र विरगंजका आईसीपी निर्माण सकिएर संचालनमा आइसकेका छन् भने नेपालगंजमा निर्माण सकिएको छ । तर, भैरहवामा भने बल्ल उद्घाटन भएको हो । हुन त गत माघबाट आईसीपी निर्माण सुरु भएको छ । तर, उद्घाटन नहुँदा निर्माणमा ढिला हुने हो की भन्ने चिन्ता निजी क्षेत्रमा थियो । ‘अब समयमै बनोस् भन्ने हाम्रो चाहना हो’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने, ‘कुनै पक्षबाट बिलम्ब गर्ने काम नहोस् ।’ नेपाल सरकारले गत माघमा मात्रै भारतीय निर्माण कम्पनीलाई निर्माण स्थलको जमिन हस्तान्तरण गरे सँगै बहुप्रतिक्षित आईसीपी निर्माणले मूर्तरुप लिने आशा पलाएको थियो । बेलहिया नाकामा आईसीपी निर्माणका लागि दुई देश बीच भएको सम्झौता बमोजिम नेपालको तर्फबाट गरिनु पर्ने जग्गा अधिग्रहणको काम डेढ दशक अघि नै सकिएको थियो । तर भारतीय पक्षबाट विलम्ब हुँदा आयोजना अन्यौलमा परेपछि चिन्ता बढेको थियो । पछिल्लोपल्ट नेपाल सरकारले आईसीपी निर्माणका लागि भारतीय कम्पनी के.एस.एम. वसिर मोहम्मद एण्ड सन्स, लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीलाई नेपालतर्फको जमिन हस्तान्तरण गरेसँगै उसले गोदाम घर, कार्यालय र कर्मचारी आवास गृह गरी चारवटा भवन निर्माण थालेको थियो । अहिले अन्य संरचना बनाउने काम पनि भइरहेको छ ।
‘हामीले आईसीपी निर्माणका लागि जमिन हस्तान्तरण गरेसँगै निर्माण कम्पनीले काम थालेको हो’, शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई, भैरहवाका आयोजना प्रमुख विदुर खड्काले भने, ‘हिजो उद्घाटन भएसँगै अब भने कामले गति लिने अपेक्षा झनै बढेको छ ।’ उनले जग्गा प्राप्तिपछि निर्माण कम्पनीले आवश्यक अन्य प्रक्रिया अघि बढाएको र अहिले धमाधम काम गरिरहेको जनाए ।
सन् २००५ मा नेपाल–भारत सरकार बीच आयोजनाका लागि नेपालतर्फ आवश्यक पर्ने जमिन बाहेक प्राविधिक सहितको सम्पूर्ण निर्माण कार्य भारत सरकारको लगानीमा गर्ने सम्झौता भएको थियो । जमिन प्राप्ति पछि ठेकेदार कम्पनीले आईसीपी निर्माणका लागि आवश्यक पर्ने समान तथा उपकरणको सूचि, भन्सार छुट स्वीकृति पाइसकेको छ । आईसीपी निर्माणका लागि नेपालतर्फ ५२ विघा जमिन वर्षौं अघि अधिग्रहण गरिएको थियो । सम्झौता अनुरुप नेपालतर्फ तत्कालै जमिन अधिग्रहण गरिए पनि भारततर्फ बाक्लो बस्ती भएको ठाउँमा आईसीपी निर्माण गर्नुपर्ने भएपछि स्थानीयले जग्गा दिन मानेनन् ।
पछिल्लोपल्ट भारतले पहिला तोकिएको ठाउँ भन्दा पश्चिमतर्फ ५२ हेक्टर जमिन अधिग्रहण गरि पर्खाल लगाउन सुरु गरेको छ । ‘लामो प्रतिक्षापछि दुबैतर्फ आईसीपी निर्माण प्रक्रिया अघि बढ्दा यहाँका व्यवसायी खुशी भएका छौं’, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ भन्छन् । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई, भैरहवाका अनुसार १ अर्ब ६१ करोड ७६ लाख भारतीय रुपैयाँमा आईसीपी बन्न लागेको हो । आईसीपी एकद्वार प्रणाली हो । आईसीपी बने पछि भन्सार सम्बन्धी सम्पूर्ण सुविधा एकै ठाउँमा उपलब्ध हुन्छ ।
फाइल बोकेर अहिले जसरी टाढा टाढाको दूरीमा रहेका कार्यालय धाउनु पर्दैन । अर्कातर्फ पार्किङका लागि पनि सहजता हुनेछ भने घण्टौंसम्म सवारीलाई लाइन लागेर बस्नुपर्ने बाध्यता हट्ने छ । अहिले भैरहवा भन्सार कार्यालयको पार्किङ क्षमता जम्मा डेढ सयको हाराहारीमा छ । आईसीपी बनेमा एक हजार गाडी पार्किङ गर्न सकिने छ ।
भारतीय कम्पनी के.एस.एम. वसिर मोहम्मद एण्ड सन्सलाई आईसीपी निर्माणका लागि भारत सरकारले जिम्मा दिएको छ । अत्याधुनिक सुविधा सम्पन्न हुने आईसीपी क्षेत्रमा भन्सार, पार्किङ, सेड, अध्यागमन, क्वारेन्टाइन, यार्ड, प्रयोगशाला, सुरक्षाकर्मी व्यारेक, प्रवेशद्वार, सुरक्षा पर्खाल, बैंक लगायतको संरचना बन्ने छन् । ‘सबै संरचना एकै ठाउँमा बन्दा आयात–निर्यातमा निकै सहजता हुनेछ’, उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले भने, ‘यसबाट व्यवसायीले खेप्दै आएको झण्झट अन्त्य हुनेछ । समय र लागतको बचत हुनेछ । तर, समयमै सक्नुपर्छ ।’ आईसीपी २ वर्ष भित्र निर्माण सक्ने सम्झौता छ ।