पशुपती यादव, झब्बर यादव
रोहिणी, असार । रोहिणी गाउँपालिकाको आयोजना र लुम्बिनी खबर मिडिया क्लबको समन्वयमा असार ८ गते बुद्धकालिन रोहिणी सभ्यता विकास र विस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
२०७४ को संविधानले शहर उन्मुख धकधई बजार स्थानीयतह गठन गर्दा हाल रोहिणी नामबाट रोहिणी गाउँपालिकाको नामकरण भएपछि बुद्धकालिन रोहिणी सभ्यताको खोज अगाडि बढेको बौद्ध दर्शनका ज्ञाताहरुले बताउँछन् ।
भैरहवाको होटल निर्माणमा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रमले रोहिणी सभ्यता संग गाँसिएर थुप्रै विधा तथा नाटक बनेपनि तिनको प्रचार प्रसार नहुँदा रोहिणी नदिको क्षेत्र ओझेलमा परेको बताएका थिए । कार्यक्रममा रोहिणी नदी र महामानव गौतमबुद्ध संग जोडिएको इतिहासवारे रिपोर्ट समेत तयार गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भिक्षू मेत्तयाले कार्यक्रमलाई बोल्दै रोहिणी नदीको बुद्धकालिन रोहिणी सभ्यताको इतिहास खोज्न शुरु गर्नु सुखद पक्ष भएको बताए ।
रोहिणी नदि बुद्ध दर्शनमा पवित्र नदि भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले जानकारी दिए । कोलिया वंश राज्य र कपिलवस्तु राज्य विच पानीमा भएको विवादले मानवीय क्षती सम्मको अवस्था श्रृजना गरेपछि बुद्ध आफै आई दुई देशका राजाहरु संग छलफल गरि द्धन्द समाधान गरेको बुद्ध इतिहास रहेको उपाध्यक्ष मेत्तेयाले बताए । दुई देश विचको शान्ति सम्झौता गराई द्धन्द समाधानमा भुमिका खेलेको क्षेत्र रोहिणी ओझेलमा परेकाले यसको संरक्षण र प्रचार प्रसार गरि पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको भिक्षुको भनाई रहेको थियो । पवित्र रोहिणी नदिलाई संसार माझ पुराउन स्थानीय सरकार तथा प्रदेश र संघिय सरकारले भुमिका खेल्नुपर्ने देखिन्छ । कार्यक्रममा भिक्षु मेत्तेयले भने रोहिणी सभ्यताको खोज सुक्ष्मरुपमा हुनुपर्ने भन्दै लुम्बिनी विकास कोष र रोहिणी गाउँपालिकाले सहकार्य गर्नुपर्नेमा जोड दिए ।
‘ढिलै भए पनि सकारात्मक कार्यको सुरुवात भएको छ,’ उनले भने, ‘अब पालिकाले लुम्बिनी विकास कोष सित सहकार्य गरी उक्त क्षेत्रको विकासमा ध्यान दिन जरुरी छ ।’
लुम्बिनी विकास कोषले रोहिणी क्षेत्रका विशेषता उल्लेख भएको प्रचार पुस्तिका प्रकाशित गरिदिने वचन भिक्षु मेत्तयाले दिएका छन् । ‘यस बाहेक रोहिणी पुल आसपास शान्ति वाटिका निर्माण गर्न सुझाव दिएका थिए । लुम्बिनी हुँदै पश्चिम नवलपरासीको रामग्राम आउनेजाने पर्यटकले रोकिने र रोहिणीको दर्शन गर्ने स्थलहरुको विकास गर्न आवश्यक रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि तथा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पालिकाले रोहिणी सभ्यता विकासका लागि जति सक्दो पहल गर्नु पर्ने बताए । रोहिणी गाउँपालिकाले रोहिणी सभ्यता मासिन नदिनेतर्फ सजग हुनुपर्छ । रोहिणी नदी आसपास बुद्धस्थल विकासका लागि पालिकाले योजना बनाउन सुझाएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले रोहिणी सभ्यता बागमती सभ्यता संग जोडिएको बताउदै महामानव गौतम बुद्धका नजिकमा शिष्य भिक्षु आनन्दले तत्कालीन समयमा काठमाडौं उपत्यकामा पुगेर बुद्ध दर्शनको प्रचार प्रसार गरेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले रोहिणी क्षेत्रमा प्रशस्त पर्यटकीय सम्भावना रहेको छ । तर, प्रचार कारणले ओझेलमै रहेको छ । यसका लागि पालिकाले बौद्ध दर्शनसंग सम्बन्धित पाठ्यक्रम निर्माण गरी संचालन गर्न जरुरी रहेको बताए ।
नेपाल एशोसियन अफ टुर्स एण्ड ट्राभल एजेण्ट (नाटा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले आफूहरु गन्तव्यको प्रचारका लागि तयार रहेको जनाउँदैं पालिकाले नारा दिन नसकेको गुनासो गरे । उनले आगामी दिनमा पालिकाले रोहिणीलाई नयाँ गन्तव्यको ब्राण्डिङ गर्नुपर्ने बताए ।
नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले महामानव गौतमबुद्धसंग सम्बन्धित सभ्यता रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लामा प्रशस्त भए पनि प्रचार हुन नसकेको बताएका थिए । त्यस्ता सभ्यताको प्रचार प्रसारका निरन्तरकाा साथ अगाडि बढ्न सुझाएका थिए ।
लुम्बिनी होटल एशोसियनका बरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले रोहिणी सभ्यता महत्वपूर्ण भए पनि त्यस क्षेत्रको अवस्था नाजुक रहेको बताए । रोहिणीमा बिहार निर्माण गरी बौद्धमय बनाउन जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले ओझेलमा परेको रोहिणी सभ्यता, इतिहासको खोज र प्रचार प्रसारमा लगिपरेको छ । अगामि दिनमा बुद्धसँग सम्बन्धित विभिन्न संघ संस्थासित सहकार्य गरेर अगाडि बढ्न गाउँपालिका तयार रहने जनाएका थिए । रोहिणीलाई कसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने भन्ने बारे विशेष छलफल र योजना अगाडि बढाउने जानकारी दिएका थिए ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्रध्यापक दयानिधि गौतमले रोहिणी सभ्यताको विषयमा विशेष प्रस्तुती गरेका थिए । उपप्रध्यापक गौतमले रोहिणी नदिको इतिहास तथा बुद्धले शान्ति सम्झौता गरेका विषयहरु र बुद्धका प्रवचनहरु सहभागी माझ प्रस्तुत गरेका थिए । प्रस्तुतीमा रोहिणीको सभ्यता र इतिहास बोलेको थियो ।
कार्यक्रममा समता टेलिभिजनका सम्पादक तथा बौद्ध दर्शनका ज्ञाता नरेश के.सी ले सकारात्मक सोचका साथ रोहिणी सभ्यताको खोजमा सबैले आ आफनै ठाउँ सहकार्य गरेमा यसको यर्थाथताको वारेमा विश्व परिवेशमा चिनाउन सजिलो हुने जानकारी दिएका थिए ।
कार्यक्रम रोहिणी गाउँपालिकाका उपाध्यक्ष शिवकान्ति हरिजनले गौतमबुद्ध र रोहिणी नदीको विषयमा खोज अनुसन्धान र प्रचार प्रसार गर्न हामी सहकार्य गर्ने जानकारी दिएका थिए । बरिष्ठ पत्रकार पशुपति यादवको अध्यक्षतामा, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, पत्रकार, संचारकर्मी, समाजसेवी, बुद्धिजीविको उपस्थिति र लुम्बिनी खबर मिडियाका अभियान्ताहरुको सहभागी रहेको थियो ।