असलम खाँन
मर्चवार, १७ साउन ।
रुपन्देहीको मर्चवार क्षेत्रमा सबै गाउँपालिका मध्ये पहिलो गाउँपालिका मर्चवारीले कित्ताकाटको लागि मालपोत कार्यालय मर्चवार मझगाँवालाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको छ । मर्चवारीले कित्ता काटको लागि मालपोत कार्यालय मर्चवार मझगाँवालाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण साउन १७ गते बुद्धवार गरेको गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताएका छन् ।

मर्चवारी गाउँपालिमा जग्गाको कित्ताकाट साउन १७ गतेदेखि खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिका अध्यक्ष बरईले बताएका छन् ।
भू–उपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गरी बुधबार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष बरईले जानकारी दिए ।

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्ने छ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय मझगाँवालाई पत्राचार गरिएको गाउँपालिका अमिन राजन बरईले जानकारी दिए ।
गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्व समेत प्रभावित हुन पुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्राईले बताएका छन् ।