असलम खान
मर्चवार, १ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष ०७९।०८० को बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ। गोष्ठीमा मर्चवारीको स्वास्थ्य सेवालाई पारदर्शी, जनमैत्री र सबैको पहुँचयोग्य बनाउनु पर्नेमा जोड दिएका छन। स्वास्थ शाखाका प्रमुख फेकन शाह र ७ वटै वडाका स्वास्थ्य संस्थाका प्रमुख तथा फोकल ब्यक्तीहरुबाट प्रस्तुत प्रतिबेदन माथी धारणा ब्यक्त गर्दै कार्यक्रमका अध्यक्ष तथा मर्चवारी गाउपालिकाका अध्यक्ष गया प्रसाद बरइले मर्चवारी गाउँपालिकाबाट प्रवाह हुने बिभिन्न सेवाहरु मध्ये स्वास्थ्य सेवा जनतासंग प्रत्यक्ष सम्बन्ध जोडिएको संस्था भएको बताउनु भएको छ। स्वास्थ्य शाखाबाट भएका हरेक सेवाहरु सन्तोषजनक रहेको र जनमैत्री बनाउन प्रभावकारी योजनाहरुको निर्माण गर्न सकिएमा पालिकाले प्राप्त गर्दै आइरहेको उपलब्धीहरुले निरन्तरताले पाउदै जाने उल्लेख गर्दै अध्यक्ष बरइले सबैको पहुँचयोग्य सेवाप्रदायक बनाउन पालिकातहबाट आवश्यक नीति तथा कार्यविधिहरु बनाउन सकिने बताउनु भयो।
यसैगरी कार्यक्रममा रहेका प्रमुख अतिथि स्वास्थ कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले मर्चवारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल पनि प्राप्त गरिरहेको बताउनु भयो। मर्चवारीले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिलाई निरन्तरता दिन स्वास्थ्यकर्मी, जनप्रतिनीधि र सरोकारवालाहरुको भुमिकालाई अझ सक्रिय बनाउदै लैजानु पर्नेमा प्रमुख ढकालले जोड दिनु भयो।
मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहले सबैभन्दा संबेदनसिल र अत्यावस्यक सेवा क्षेत्र भनेको स्वास्थ्य सेवा भएकोले स्वास्थ्य केन्द्रहरुमा दक्ष र अनुभवी जनशक्ती आवस्यक पर्ने बताउनु भयो। मर्चवारीमा घरमै सुत्केरी गर्ने परम्परा र संस्कारलाई अन्त्य गर्न स्वास्थ्यकर्मीसंगै सरोकारवालाहरुको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्नु भयो। स्वास्थ्य क्षेत्रमा स्वास्थ्य शाखा भएका हरेक गतिबिधिले सेवाग्राहीको मुहारमा मुस्कान छाउनु पर्ने र मर्चवारी गाउँपालिकाका सबै स्वास्थ्य केन्द्रहरुको सेवा प्रवाहलाई छरितो र सेवामैत्री बनाउन पालिकाले आवश्यक योजना निर्माण गर्दै जानुपर्छ शाखा प्रमुख शाहले बताउनु भयो। ७ वटै स्वास्थ संस्था र समग्रमा गाउपालिकाको आर्थिक बर्ष ०७९र०८० को बार्षिक प्रगती प्रतिवेदनबारे तुलनात्मक समिक्षा गरिएको गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईले प्रतिवेदनमा उल्लेखित शब्द चित्रबाट मर्चवारी गाउँपालिकाको स्वास्थ्य स्थितिलाई सफल चित्रण गरिएको भएपनि स्वास्थ्य सेवालाई हरेकको पहुँचयुक्त बनाउन आवश्यक पुर्वाधार र दक्ष जनशक्तीको अभाव रहेको बताउनु भयो। थोरै जनशक्ती आधारभुत भौतिक पुर्वाधारबाट पनि स्वास्थ्य सेवालाई चुस्त रुपमा संचालन गर्ने स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका र सरोकारवालाहरुलाई प्रमुख प्रशासकीय अधिकृत भट्टराईले धन्यवाद ब्यक्त गर्नु भएको थियो। स्वास्थ्य शाखा प्रमुख फेकन शाहले कार्यक्रमको सहजिकरण तथा पालिकाको स्वास्थ्य प्रतिवेदन तथा मर्चवारीको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी गराउनु भएको थियो।
सो अवसरमा इन्द्रेणी ग्रामीण विकास केन्द्र लगायत अन्य संघ ससंस्थाहरू लाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने कार्यक्रम संचालन प्रोसोत्म घिमिरेले गर्नु भएको थियोे।