अघिल्लो बर्ष भन्दा आ.व. २०७९।०८० मा १४ जनाले कमी
कमल रायमाझी।लुम्बिनीखबर
भैरहवा, ७ भदौ । रुपन्देहीमा आत्महत्याका कारण ज्यान गुमाउनेहरुको सङ्ख्या घट्दो देखिएको छ । जिल्लामा आत्महत्याको त्रिवर्षीय अपराध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९।०८० मा आत्महत्याको दर घट्दो देखिएको हो । पछिल्लो समयमा विभिन्न कारणले मानिसहरुले आत्महत्या गर्ने क्रम बढ्दो देखिएको अवस्थामा रुपन्देहीमा आत्महत्या गर्नेहरुको सख्यामा कमि आउनु सकारात्मक पक्ष भएको समाजशास्त्रीहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा आर्थिक वर्ष २०७७।०७८ मा २४३ जनाले आत्महत्या गरेको देखिन्छ । जस मध्ये झुण्डीएर आत्महत्या गर्ने १८९ जना, विष सेवन गरेर आत्महत्या गर्नेको सख्या ४९, शरिरमा आगो लगाएर ४ जना र औजार तथा हातहतियारबाट आत्महत्या गर्नेको सख्या १ रहेको छ । त्यसैगरि आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा २५३ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर आत्महत्या गर्नेको सख्या १९७, विष सेवन गरेर आत्महत्या गर्ने ५२, आगो लगाएर आत्महत्या गर्ने २ , औजार तथा हातहतियारबाट र हामफालेर आत्महत्या गर्नेको सख्या १ । १ जना रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७९।०८० मा २३९ जनाले आत्महत्या गरेका छन् । जसमा झुण्डिएर आत्महत्या गर्नेको सख्या २०४, विष सेवन गरेर आत्महत्या गर्ने ३३, पानीमा डुबेर र औजार तथा हातहतियारबाट आत्महत्या गर्नेको सख्या १।१ जना रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सुचना शाखाले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८।०७९ भन्दा ०७९।०८० मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको हो । पछिल्लो समयमा रुपन्देहीमा आत्महत्याको दरमा कमि आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बि.क.ले आत्महत्या न्यूनिकरणका लागि प्रहरीले कार्ययोजना तयार गरी जनस्तरमा पुगेर काम गरेका कारण आत्महत्या घट्दो देखिएको बताए । आत्महत्या न्यूनिकरणका लागि समुदायका साथै विद्यालय सम्म पुगेर समुदायिक प्रहरीले विभिन्न जनचेतनाका साथै मनोपरामर्श सेवा प्रदान गर्दै आईरहेको छ । प्रहरी उपरीक्षक बि.क. ले भने, ‘समाजका उत्पन्न हुने पारिवारिक विखण्डन, आपसी प्रस्तिपर्धा तथा शिक्षामा असफलता, कार्यक्षेत्रको बोझ जस्ता कारणले मानिसमा देखिने निरासापनका कारण मनोरोग लाग्ने र आत्महत्या सम्म व्यक्तिले गर्र्ने गरेको अनुसन्धानमा देखिन्छ ।’
समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक उमेशचन्द्र रिजालले मानिसमा देखिने मानसिक अस्थिरता र मनोरोगका कारणले गर्दा आत्महत्या हुने गरेको बताए । उनले भने, ‘ समाजको विकास संगै मानिसमा आर्थिक, समाजिक, वैवाहिक तथा उत्पीडन जस्ता समस्याहरुले दिने मानसिक तनावको व्यवस्थापन गर्न नसक्दा यस्ता घटनाहरु घटने गरेका छन् । मानिसमा मनोरोग देखिने गरेको र समयमा नै मनोपरामसर्श सेवा तथा उपचार नपाउँदा समेत आत्महत्या हुने गरेका छन् । त्यसका लागि आधुनिक समयको विकास संगै मानसिक तनावको उपचार तथा मनोपरामर्श आवश्यकता रहेको सहप्रध्यापक रिजालले बताउँछन् ।
युनिभर्सल साईन्सेस शिक्षण अस्पताल भैरहवाका मनोचिकित्सक डा.संजिव शाहले मानिसमा मनोरोगको संकेत देखिना साथ अस्पतालमा आउनुपर्ने बताउँछन् । उनले धेरै जसो आत्महत्या गर्नेहरु उपचार केन्द्र तथा मनोपरामर्शदाता सम्म नपुग्दा यस्ता घटनाहरु हुने गरेको बताए । आधुनिक समाजमा मानिसका आवश्यकता असिमित हुने तथा क्षमता भन्दा बढिको अपेक्षा गर्ने तर पुरा नहुँदा सम्म मानिसमा यस्ता समस्याहरु देखिने गरेको डा. शाहले बताए । मनोरोग देखिना साथ मनोपरामर्श गर्ने, योग, ध्यान तथा शारीरिक व्यायम निरन्तर गर्नु पर्दछ । डा. शाहले भने,‘ लागुऔषध, रक्सी सेवन तथा शरीरलाई हानी पुराउने कुनै पनि चिजको सेवन नगर्न मनोरोग लाग्नेहरुले गर्न हुदैन ।’
संसारभर अहिले आत्महत्याको दरमा बृद्धि भएको छ । विश्वमा धनी मुलुकहरु पनि आत्महत्याको बृद्धि भैरहेको छ । आर्थिक सम्पनताले मात्र मानिसको मानसिक सन्तुष्टि नहुने हुँदा योग, ध्यान तथा विपश्यना गर्नुपर्ने देखिन्छ । विपश्यनाले मानिसमा लोभ तथा ईर्याको अन्त्य गर्ने र मानवलाई शान्ति मार्गमा हिड्न सहयोग पुराउँछ । त्यस कारण अवको पुस्तालाई विपश्यना, ध्यान र योगको मार्गमा प्रवेश गराउ ।