कमल रायमाझी
भैरहवा, १० भदौ । भैरहवा भन्सार कार्यालयले कपडा तस्करका दुई ट्रक नियन्त्रण लिएको छ । प्लाष्टिकको दाना भनेर घोषण गरेको ट्रकहरुमा कपडा भेटिएपछि भन्सार कार्यालयले नियन्त्रणमा लिएर खानतलासी गरेको हो । खानतलासीका क्रममा घोषणा गरेको सामान भन्दा फरक सामानहरु ट्रकहरुमा भेटिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । भदौ ७ गते भन्सार कार्यालय भित्र प्रवेश गरेका यू.पी. ५३–जी.टी.०५७८ भारतीय नम्बरको ट्रक र ना.५ख. ३३६ नेपाली नम्बरको ट्रक नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाएको भैरहवा भन्सार कार्यालयको सूचना शाखाले जानकारी दिएको छ ।
पछिल्लो समय केही तस्करहरुले भन्सार भित्रबाट तस्करी गर्न खोजेको सूचनाहरु सार्वजनिक भएपछि चनाखो बनेको भैरहवा भन्सार कार्यालयले गोप्य सूचनाको आधारमा ट्रकहरु नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताउनुभयो । भन्सार गेटमा प्लाष्टिकको दाना भनेर इन्ट्रि गरेका यू.पी. ५३–जी.टी.०५७८ भारतीय नम्बरको ट्रक र ना.५ख. ३३६ नेपाली नम्बर ट्रकमा ठूलो परिणाममा कपडा र केही काजु भेटिएको छ । प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले भन्नुभयो, ‘ नियन्त्रणमा लिएका ट्रकहरुको सूक्ष्म तरिकाले अनुसन्धान भैरहेकोले थप विषयहरुको अनुसन्धानको प्रकृया सकिएपछि जानकारी गराईने छ ।’
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले भन्सार कर्मचारीहरुलाई छल्न गर्ने उद्धेश्यका साथ भन्सार कार्यालय भित्र प्रवेश गरेका यि दुई ट्रकहरु सूचनाका आधारमा नियन्त्रण गरि अनुसन्धान गर्दा प्रवेश विन्दुमा चालकले इन्ट्रि गरेको प्लाष्टिकको दानाको सट्टा कपडा र काजु भेटिएकाले थप अनुसन्धान भैरहेको बताउनुभयो । भन्सार ऐन अनुसार भन्सार कर्मचारीलाई सम्म झुक्काएर तस्कर गर्न खोज्नेहरुको खोज तलास र कारबाही प्रकृयामा समेत भैरहवा भन्सार कार्यालयले शुरु गरेको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।
भैरहवा भन्सार कार्यालयलाई विगत वर्षहरुमा पनि तस्करहरुले ट्रान्जिट पोइन्टको रुपमा प्रयोग गर्न खोजेको देखिन्छ । भन्सार कर्मचारीलाई प्रलोभनमा पारेर वा भन्सार प्रकृयाको सेटिङमा यस्ता कामहरु हुने गरेको भन्सार एजेण्टहरु बताउँछन् ।
भन्सारमा तस्कर र दलालहरुले विभिन्न प्रलोभन तथा भन्सार प्रकृया विपरित हुने यस्ता गलत कामहरुको अन्त्य हुनुपर्नेमा नेपाल भन्सार एजेण्ट संघ भैरहवा शाखाले माग गरेको छ ।
अहिले दुई ट्रक नियन्त्रण पछि पनि एजेण्ट संघले प्रमुख भन्सार अधिकृत पौडेललाई भेटेर सत्य तथ्य छानविन गरि दोषीलाई कडा कारबाहीको माग गरेको नेपाल भन्सार एजेण्ड संघ भैरहवाका अध्यक्ष मधु पन्थीले जानकारी दिए ।
पछल्लो समय भैरहवा भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतको जिम्मेवारीमा रहेका मनिराम भट्टराईले यस्ता केही मालवाहक समान बोकेका अवैद्धरुपमा वा ढाटछल गरेर नेपाल प्रवेश गर्न खोज्ने ट्रकहरु नियन्त्रण लिने काम शुरु गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । यस्तै प्रकृतिको अन्य सामान बोकेका ट्रकहरु पनि भन्सार कार्यालयले नियन्त्रणमा लिएको देखिन्छ । भैरहवा भन्सार कार्यालयका अनुसार– गत जेठ ६ गते गलत मूल्य घोषणा गरि नेपाल प्रवेश गर्न खोज्ने ४५ लाख बिगो बराबरको माछा बोकेको ट्रक समेत नियन्त्रणमा लिई कारबाही गरिएको छ । गत असारमा समेत ३२ लाख भन्दा बढी मूल्य कायम भएको प्याज बोकेको ट्रक नियन्त्रण गरि जफत गरेको भन्सार कार्यालयले जनाएको छ ।
व्यक्तिको सामान भारतबाट नेपाल प्रवश गर्दा भन्सार एजेण्टले घोषणा गरेको आधारमा भन्सार मूल्य तोक्ने र नापजाच हुने गर्दछ । भन्सार कर्मचारी र सम्बन्धी एजेण्टले चाहेमा यस्ता तस्करी संग मिलोमतो गरेर तस्करी गर्ने गरेका छन् । यसका लागि भन्सार कार्यालयलाई आधुनिक र डिजिटल प्रकृयामा विकास गर्नुपर्ने देखिन्छ । भन्सार बिन्दुलाई सफा पार्न सक्ने हो भने भन्सार महशुलमा समेत फाईदा हुनेछ ।
भैरहवा भन्सार कार्यालयले नियन्त्रणमा लिएका दुई ट्रकमा पनि यार्डमा बस्ने कर्मचारीको मिलोमतो हुनसक्ने अनुमान छ । उनीहरुको मिलोमतो बेगर नेपालमा प्लाष्टिकको दाना भनेर कपडा प्रवेश गराउनु शंकाको विषयम बनेको छ । अर्को तर्फ अग्रिम सूचना प्राप्त भएर नियन्त्रणमा आएका ट्रकहरुका चालक र सहचालकहरु कसरी नियन्त्रण हुन सकेनन् यसले पनि प्रश्न चिन्ह खडा गरेको छ । यस विषयमा पनि भन्सार कार्यालयले गम्भीर भएर सोच्ने गरोस् ।