लुम्बिनीखबर
भैरहवा, १६ भदौ । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले सहिद परिवारसंगै जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरेको छ ।
रुपन्देहीको कोटहिमाई गाउँपालिका वडा नम्बर १ का सहिद त्रिभुवन यादव र महेश यादवको परिवारसंगै अभियानको उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रम शनिवार कोटहिमाई गाउँपालिकामा भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज निर्मल जि.सीले जनतासंग माओवादी विशेष रुपान्तरण अभियानले समाजवादी क्रान्तिको प्रारम्भ भएको बताएका थिए । जि.सीले भने– माओवादी विरुद्ध विपक्षी पार्टीहरुले फैलाएको भ्रमलाई हटाउनु यो अभियानको मुख्य उद्देश्य हो ।
यस तिन महिने विशेष रुपान्तरण अभियान रुपन्देही जिल्लाको १६ वटै पालिकाको हरेक वडामा एकै साथ उद्घाटन गरिएको र अभियानको अन्त्यमा पालिका स्तरीय भव्य सभा समेत गरिने रुपन्देहीका इन्चार्ज जि.सीले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा अथिति तथा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य रियाज अहमदले अभियानको क्रममा तिन महिना सम्म रुपन्देहीका हरेक पालिकाको टोल टोल घर घरमा जाने बताए थिए ।
माओवादीले गरेको १० वर्षे जनयुद्धले व्यवस्था बदले पनि अवस्थामा कुनै परिवर्तन नभएको वताउदैँ यो अभियानले गरिव, दुःखी, विपन्न, पिछडिएका, मजदुर वर्गका लागि सामाजिक क्रान्ति गरेर उनीहरुको अवस्थामा सकारात्मक परिवर्तन ल्याउने विश्वास अहमदले व्यक्त गरेका थिए ।
सुरेश राज भरको अध्यक्षता तथा जग्गी यादवको संचालनमा भएको उक्त उद्घाटन कार्यक्रममा माओवादीका सयौँ कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यसैगरी लुम्बिनी साँस्कृतिक नगरपालिका, सियारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा संयुक्त रुपमा एकसाथ उत्साहपूर्ण सहभागिताका साथ अभियानको उद्घाटन भएको हो ।