logo
  • २५ कार्तिक २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बुद्ध, प्रकृति र विरक्ति


    १८ भाद्र २०८० , सोमबार

    बुद्ध, प्रकृति र विरक्ति

      आनन्द । बुद्धका निजी सेवक । एक दिन बाहिर गएका थिए भोजनका लागि । फर्कने बेला भइसकेको थियो । तर आइपुगेका थिएनन् उनी । दिनभर फर्केनन् । बेलुकासम्म पनि आइपुगेनन् । राती अबेर फर्के ।

    दिउँसोको कुरा । हिँड्दै गर्दा आनन्दलाई तिर्खा लागेको थियो । पानी खान खोलातिर जाँदै थिए । गाग्रीमा पानी भरेर फर्कंदै थिइन् प्रकृति । पानी माग्न नजिकै गए आनन्द । आनन्द नजिकिँदै गर्दा प्रकृति परपर सरिरहेकी थिइन् ।

    “ पानी देऊ”, आनन्दले आग्रह गरे ।    

    “श्रमण, म चाण्डाल कुलकी कन्या हुँ ”, जवाफ दिइन् प्रकृतिले ।

    “मैले पानीमात्र मागेको हुँ, जात सोधेको होइन ।”

    “अनि हाम्रो पानी चल्दैन नि !”

    “मलाई पानीसँग सरोकार हो, जातसँग होइन । तिर्खा लागेको छ, पानी देऊ ।”

    अरूले हेपेको देखेकी थिइन् उनले । संसारमा केही मानिसहरू यस्ता पनि हुन्छन् ? चकित परिन् । पानी दिइन् । आनन्दले पानी पिए । अनि आफ्नो बाटो लागे ।

    सुन्दर आनन्द । बानीको त झन् कुरै छोडौँ । प्रकृतिले आनन्दलाई मनभरि सजाइन् । उनले आनन्दलाई पछ्याइन् । थाहा पाइन्, जेतवनमा बस्दा रहेछन् ।

    घर पुगेपछि उनले आमालाई वर खोजेको कुरा सुनाइन् । पहिला नै विवाह गर भनिराखेकी थिइन् आमाले । मानेकी थिइनन् उनी । मातङ्गीलाई अचम्म लाग्यो । खुसी भइन् । कुरा गर्दै जाँदा प्रकृतिले आनन्दको कुरा निकालिन् । अब भने आमालाई समस्या आइलाग्यो । भनिन्– ”गलत भयो छोरी, श्रमणहरूले विवाह गर्दैनन् । तिमीले सोचेको पूरा हुँदैन ।”

    प्रकृतिले हठ गर्न थालिन् । आमालाई धम्काउन थालिन् । आनन्दसँग विवाह गर्न नपाए मर्नेसम्म कुरा गरिन् । आमालाई छोरीको चिन्ता थियो । एक दिन आनन्दलाई भोजनका लागि घरमा बोलाइन् । आनन्दले गए । प्रकृति पनि दङ्ग थिइन् । आज मन परेको मान्छेलाई आँखाभरि हेर्न पाएकी थिइन् । आनन्दमा कुनै विचलन आएको थिएन । उनी चूपचाप भोजन गरिरहेका थिए । भोजन सकिएपछि मातङ्गीले विवाहको कुरा गरिन् ।

    “म शिष्य हुँ शास्ताको । एक श्रमण हुँ, अभ्यास गर्नुपर्छ ब्रह्मचर्यको । त्यसैले विवाह गर्न असमर्थ छु ।“ आनन्दको सहज जवाफ थियो ।आमाछोरी दुवै मिलेर सम्झाउन खोजे । आनन्द मानेनन् । बलपूर्वक विवाह गराइदिने बारे विचार गरिन् । आनन्दलाई थुनेर राखे घरमा । राती प्रकृतिलाई आनन्दलाई थुनेर राखेको कोठामा पठाइन् । अब त गले होलान् भन्ने लागेको थियो आमालाई । तर आनन्द डग्मगाएका थिएनन् । रीस उठ्न थालेको थियो मातङ्गीलाई पनि । तर आनन्दको मनको आनन्द हराएको थिएन । हत्याको धम्की पनि दिइन् मातङ्गीले । डराएनन् आनन्द । अब भने गल्तीको आभास भएको थियो आमाछोरीलाई । डराउँदै आनन्दलाई मुक्त गरे ।

    आनन्द ढिलो पुग्नुको  कारण यही थियो ।

    भोलिपल्ट बिहान भिक्षाका लागि निस्कँदै थिए आनन्द । प्रकृति विहारको ढोकामै थिइन् । आनन्दलाई देख्नासाथ मुस्काइन् । आनन्द जता जान्छन् त्यतै जान्थिन् । जाँदा पछि लागेकी प्रकृतिले फर्कने बेलासम्म पनि पछ्याइरहिन् । विहारभित्र छिर्दासम्म छोडिनन् । आनन्द भित्र गएपछि भने ढोकामा उभिइरहिन् ।

    आनन्दले प्रकृतिले पछ्याइरहेको कुरा बुद्धलाई सुनाए ।

    “भित्र बोलाऊ उनलाई“, बुद्धको निर्देशन ।

    “किन आनन्दलाई यति धेरै पछ्याएको ?”

    “ मलाई मन पर्‍यो । वहाँ अविवाहित पनि हुनुहुन्छ । विवाह गर्न चाहन्छु ।”

    “भिक्षु हो ऊ । केश मुण्डन गरेको छ । तिमी पनि मुण्डन गर्न तयार हो ?”

    “उनका लागि म जे पनि गर्न तयार छु । केश मुण्डनको त कुरा नै के रह्यो र ?”

    “केश मुण्डन गर्न मातापिताको अनुमति चाहिन्छ । जाऊ घरमा सोधेर आऊ ।”

    प्रकृति भित्रभित्रै मख्ख परेकी थिइन् । खुसी हुँदै घर पुगिन् । मातङ्गीले कुरा बुझेर केश मुण्डन नगर्न भनिन् । बरु ’अर्कै केटा खोजेर विवाह गर्न‘ आमाले सल्लाह दिइन् । तर प्रकृति कपाल फालेर बुद्धकहाँ पुगिन् ।

            “तिमीलाई आनन्दको के मनपर्छ ?”

              “मलाई आनन्दको नाक मनपर्छ ।”

              “अनि ?“

            “कान पनि मनपर्छ ।”

              “अनि?”

              “बोलीचाली, आँखा , हिँडाइ, सब्बै सब्बै ।”

    “आँखा मन पर्‍यो ? आँखामा त आँशु नै आँशु छ । नाक सिगानले भरिएको छ । कानभित्र पनि फोहर हुन्छ । त्यसमाथि दिसापिसाब त भइहाल्यो । यस्तो कुरा पनि कसरी मन पराएको ?”

    प्रकृति केही बोल्न सकिनन् । बुद्धले बताइरहनुभएको थियो– ”बिहेपछि बच्चाहरू जन्मन्छन् । जन्मेपछि मर्न त परिहाल्यो । आनन्दसँग विवाह गरेर तिमीले पाउने के हो ?”

    प्रकृतिको दिमागबाट विवाहको रहर गायब भयो । विवाह गर्नु त बेकार रहेछ भन्ने ठानिन् । आफैले प्रव्रज्या मागिन् ।

    प्रव्रजित भएपछि आनन्दलाई कुन  दृष्टिले हेर्थिन् होला प्रकृतिले ? आनन्दलाई मन पराउँदा पाएको आनन्दको अर्को मार्ग कति सहज भयो होला उनलाई ? सोच्ने जिम्मा तपाईं पाठकको ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.