logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    अध्यक्षको कलम


    १८ भाद्र २०८० , सोमबार

    अध्यक्षको कलम

    विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरबाट प्रकाशित लुम्बिनीखबर पत्रिका आज १२औँ वसन्त पूरा गरी १३औँ वर्ष प्रवेश गरेको छ । निरन्तररुपमा बाह्र वर्षसम्म पत्रिकामार्फत खोजमूलक समाचार सम्प्रेषण गर्दै आएको यस पत्रिकाले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौँ । यो सुखद् एवम् खुसीको अवसर पाठकवृन्द समक्ष जानकारी गराउन पाउँदा अझ उत्साहित पनि भएका छौँ । यस पत्रिकाको स्थापनाकालदेखि आजका मितिसम्म आइपुग्दा नेपालमा विभिन्न राजनैतिक उतारचढावहरु आइरहे तथापि निश्पक्ष खबर सम्प्रेषणमा लुम्बिनीखबर पत्रिका सदैव एक कदम अगाडि नै रहेको पाठकवर्गको सकारात्मक प्रतिक्रियाले हामीलाई महशुस गराएको छ ।
    नेपाल संघीय संरचनामा प्रवेश गरेसँगै स्थानीय तह शक्तिशाली बन्न पुग्यो । अनुभव थोरै तर जिम्मेवारी धेरै भएका जनप्रतिनिधिहरुलाई जिम्मेवारी बोध गराउँदै जनमैत्री कार्य गर्न कलममार्फत खबरदारी गर्न पनि लुम्बिनीखबर कहिल्यै पछाडि परेन र पर्नु पनि हँुदैन भन्ने हाम्रो मान्यता रहेको छ । विशेषगरी सामाजिक , सांस्कृतिक, शैक्षिक, औद्योगिक, राजनीतिक ,आर्थिक क्षेत्रमा लुकेका र लुकाइएका विषयवस्तुलाई पत्रिकाको माध्यमबाट जनतासमक्ष पस्किन र परिवर्तनका लागि पहल गर्नमा कटिबद्घ पनि छौँ । आउँदा दिनमा अझै सशक्तरुपमा कलम चलाउँदै समाजमा रहेका विकृति र विसङ्गतिहरुलाई जस्ताको त्यस्तै पाठकसमक्ष पुर्याउने प्रतिबद्घता गर्दछौँ ।
    पत्रिकामार्फत स्थापनाको निरन्तर दश वर्षे यात्रा पूरा गर्दै २०७८ सालदेखि डिजिटल माध्यमबाट समता टेलिभिजनमार्फत पनि जनतालाई सुसूचित गराउने कार्यमा निरन्तर अगाडि बढिरहेका छौँ । लुम्बिनीखबर अर्धसाप्ताहिक पत्रिका , इलुम्बिनीखबर अनलाइन र समता टेलिभिजन हाम्रा समाचार सम्प्रेषणका माध्यम बनेको सुखद् खबर पस्किन पाउँदा अत्यन्त हर्षित पनि छौँ र थप जिम्मेवारी बढेको अनुभूति पनि गरेका छौँ । रुपन्देही जिल्ला सञ्चारको उर्वर भूमिको हो । सञ्चार क्षेत्रमा मोफसलको राजधानीको रुपमा चिनिएको भैरहवाको इतिहासलाई जोगाई राख्न हाम्रा सामु थुप्रै चुनौतीहरु छन् । ती चुनौतीहरुलाई अवसरको रुपमा स्वीकार गर्दै यसको साख बचाउन निरन्तर कलम चलाइरहनेछौँ । भैरहवामा नयाँ नयाँ पत्रिकाहरु धेरैपटक खुले तर निरन्तरता केही सिमित पत्रिकाहरुले मात्र दिन सकेको अवस्था एकातिर छ भने अर्कोतिर आर्थिक मन्दीका कारण सञ्चार उद्योगहरु बन्द हुने अवस्थामा छन् । यो कठिन अवस्थामा आर्थिक लाभभन्दा पनि सामाजिक सेवाभावले ओतप्रोत भई आफ्नो कार्यमा निरन्तर खटिरहने लुम्बिनीखबर पत्रिकामा आवद्घ तपाइँ सबैको निरन्तर साथ र सहयोग अपरिहार्य छ । भैरहवाबासीको सहयोग बिना हाम्रो प्रयासले पक्कै पनि सार्थकता पाउन सक्तैन ।
    अन्त्यमा, हाम्रो यस पत्रिकालाई निरन्तररुपमा अगाडि बढाउनका लागि निरन्तर सहयोग गरिरहनुहुने उद्योगी , व्यापारी , शैक्षिक प्रतिष्ठान, व्यवसायी , समाजसेवी,विज्ञापनदाता सबैप्रति हामी धन्यवाद एवम् आभार व्यक्त गर्न चाहन्छौँ । साथै पत्रिकालाई यो उचाइमा पुर्याउन अहोरात्र खट्नुहुने सम्पादन मण्डल, व्यवस्थापन, विज्ञापन शाखा,कम्प्युटर शाखा ,लेखा शाखा, डिजाइनर , वितरण पक्षका टिम , शाखा कार्यालयका सहयोगीहरु , सञ्चालक समिति , लगानीकर्ता सबै सबैप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.