मर्चवारका युवाहरु आधुनिक कृषि तर्फ
झब्बर यादव । असलम खान
मर्चवार, २८ भदौ । रुपन्देही जिल्लाको दक्षिण भागमा पर्ने कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाको क्षेत्र मर्चवार क्षेत्र हो ।
रुपन्देही जिल्लाको पिछडिएको क्षेत्रको रुपमा मर्चवारलाई चिनिन्छ । मर्चवार क्षेत्रमा विकासको पूर्वाधारलाई हेर्दा अत्यन्तै न्यून रहेको छ । तर यस क्षेत्रलाई समृद्धि र विकासमा सहयोग पुर्याउने एकमात्र स्रोत कृषि रहेको छ । किनकि यहाँको अधिकाशं भाग समथर र कृषि योग्य रहेको देखिन्छ ।
मर्चवार क्षेत्रलाई विकासका साथै आर्थिक क्रान्ति ल्याउनका लागि यहाँका युवावर्गहरुले जागरुक हुनु जरुरी रहेको मर्चवारी गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश यादवले बताएका छन् ।
मर्चवारको यस क्षेत्रमा समथर भूभाग तथा मौषम ठिक्कको भएको हुँदा विभिन्न किसिमका खाद्य र नगदे वालीहरु उत्पादन गर्न सकिन्छ । हुन त यस क्षेत्रका मानिसहरु कृषि पेशामा नै बढी भन्दा बढी लागेको देखिन्छ तर पुरानो परम्परागत र निर्वाहमुखी तरिकाले कृषि गर्दै आएको हुदाँ कृषकहरुको जीवनस्तरमा सुधारमा कमि रहेको कृषि शाखा प्रमुख यादवले बताए ।
मर्चवार क्षेत्रको विकासमा यहाँका युवा जनशक्तिहरुलाई कृषि प्राविधिक ज्ञान तथा तालिम दिन आवश्यक रहेको कृषि शाखा प्रमुख यादवले बताए । जसबाट उत्पादनलाई बढावा दिन सकिन्छ र कृषकहरुको जीवनस्तरमा सुधार आउनुका साथै आर्थिक क्रान्ति पनि हुने विश्वास रहेको बताए ।
जब थोरै लगानी, उन्नतजातका विउँ विजन, नयाँ आधुनिक प्रविधि, पोषक तत्व र नयाँ यन्त्र उपकरणको प्रयोग गरिन्छ तब मात्र उत्पादन बृद्धि गरी बजारबाट राम्रो आम्दनी लिन सकिन्छ । यसका लागि गाउँपालिकाले दिएको अनुदान र कृषि प्राविधिक शाखामा कार्यरत कर्मचरीसंग सल्लाह लिएर काम कृषि कार्य गर्ने अनुरोध समेत रहको बताए ।कृषि शाखा प्रमुख यादवले भने–राज्यले हामीलाई जनताको समक्ष सहज र सरल रुपमा गुणस्तरीय सेवा पुर्याउनका लागि पठाएको छ तर जनताले हामीसंग सेवा लिन नआएमा हामी कर्मचारी भएर आएको कुनै मतलब छैन् । त्यसकारण सबै स्थानीयवासी तथा मर्चवारवासीहरु सबैले पालिकाले दिएको अनुदान सबैलाई पूर्णरुपमा दिन नसके पनि सल्लाह सबैलाई दिन आफूहरु सधैँ तयार छौँ ।
कृषि शाखा प्रमुख यादवका अनुसार मर्चवार क्षेत्रमा पहिलाको भन्दा अहिले केही मात्रामा कृषिमा सुधार आएको देखिन्छ । केही मानिसहरुले समूह बनाएर आधुनिक तरिकाले खेती सुरु गरेका छन् । गाउँपालिका र विभिन्न संघसंस्था द्वारा संचालन अनुदानका साथै तालिमले कृषि क्षेत्रमा कृषक युवाहरुमा नयाँ प्राविधिक तरिकाले खेती गर्ने हौसलाका साथै समय र मौषम अनुसार बालीहरु लगाउने र उत्पादन गरेको कृषि शाखा प्रमुख यादवले बताए
मर्चवारी गाउँपालिकाले कृषि क्षेत्रमा सुधार गर्न विभिन्न किसिमका अनुदान, समुहगत अनुदान, तालिम, वाली सम्बन्धी शिविर, कृषि सम्बन्धी तालिम र अनुदान, कृषि औजार अनुदान, आकास्मिक सेवा लगायतका सेवाहरु निरन्तर प्रवाह गर्दै आएको कृषि शाखा प्रमुख यादवले बताए ।

मर्चवारी गाउँपालिका वडा नम्बर २ अमुवामा बस्ने कृषक राजेन्द्र विश्वकर्माले गत वर्ष व्यक्तिगत लगानी र स्थानीय तहको अनुदानमा च्याउ खेती गरेका थिए । च्याउ खेती आफूलाई अत्यन्तै मनपर्ने र थोरै लगानी, थोरै समयमा उत्पादन गरी आम्दनी गर्न सक्ने भएकोले यस तर्फ आकर्षित भएको बताए । तरकारी खेतीका लागि प्रसस्त मात्रामा जग्गा चाहिने र च्याउ खेतीका लागि थोरै सिमित ठाउँमै गर्न मिल्ने भएकोले च्याउ उत्पादनमा लागेको कृषक विश्वकर्माले बताए ।
कृषक विश्वकर्माले गत वर्ष ०७९।०८० मा च्याउ खेतीका लागि गाउँपालिकाको कृषि शाखाको अनुदानमा ४२६ वण्डल च्याउ लगाई दुई लाख आम्दनी गरेको बताए । च्याउ खेतीका लागि आफूलाई कपिलबस्तुका कृषि ज्ञान केन्द्र प्राविधिक नरेन्द्र मौर्य र मर्चवारीका कृषि शाखा प्रमुख दिनेश यादवले दिएको सल्लाह अनुसार राम्रो आम्दनी गरेको र यो वर्ष च्याउ खेतीका लागि अझै जागर आएको कृषक विश्वकर्माले बताए ।
आफूलाई च्याउ खेतीको विषयमा एक वर्षको अनुभव भइसकेको र आफनै लगानीमा दुई हजार बण्डल भन्दा बढी च्याउ लगाउने र अन्य ठाउँबाट अनुदान पाएमा अझै बढी लगाउने विचार रहेको बताए ।
मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा बस्ने विभान्ड यादवले गत वर्ष केरा खेती गरेका थिए । गाउँपालिकाले अनुदानमा दिएको केराको बेर्नालाई १० विग्हामा लगाएको र तयार भई अहिले दैनिक दुई पिकप बजारमा पुर्याइरहेका कृषक यादवले बताए । केरा खेतीमा देखिएको उत्पादन र आम्दनी कै आधारमा आउने दिनमा अझै विस्तार गर्दै जाने बताएका छन् ।
त्यस्तै गिरिस कुर्मी, रमपत केवट, कपिल केवट, धनिराम कोइरी, सुग्रीम केवट, डुड्डु केवट, गोवरी धुनियाँ, रमेश यादव, रामललित कोइरी लगायत वडा नम्बर १ देखि ७ नम्बरका केही युवाहरु समुहगत रुपमा मौषम अनुसार तरकारी खेतीमा आधुनिक तरिकाले लागेका छन् ।