असलम खान । लुम्बिनीखबर
मर्चवार, ११ असोज । इस्लाम धर्मावलम्बीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्ली सल्लाह अहैहिव सल्लमको १४ सय ९८ औं जन्मदिन मर्चवारमा भब्य रुपमा मनाईएको छ । १४ सय ९८औं मोहम्मद जयन्तीका अवसरमा मर्चवारको सडक झण्डाले पुरै रंङ्गिएको छ । पैगम्बर मोहम्मदको जन्मदिन भब्य रैली सहित विभिन्न कार्यक्रम गरी मनाईएको हो । इस्लाम धर्मका अन्तिम सन्देशकर्ता धर्म प्रचारक समेत मानिने मोहम्मद जयन्ती आज मुस्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन । जन्मदिनको अवसरमा मर्चवारमा भब्य रैली निकालिएको छ।
स्थानिय विस्मिला शेखका अनुसार मोहम्मदले मेलमिलापको सन्देश फैलाएको बताए । सबै मिलेर एक हुनुपर्ने, धर्मको नाममा भेदभाव गर्न नहुने, सबै धर्म समान भएको सन्देश उनले दिएको शेखले बताए ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हँुदा यस दिन विश्वभरीका मुस्लिमहरुले भव्यताका साथ विविध कार्यक्रम गरी मनाउने गर्दछन् । जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको जन्मदिनमा नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।