बिशन गुरुङ्ग/पशुपति यादव
भैरहवा, १४ असोज । ओमसतिया गाउँपालिका रुपन्देहीमा कुकुरको टोकाईविरुद्ध लगाउने एण्टी रेविज भ्याक्सिनको सुरुवात गरिएको छ । आइतबारदेखि ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा रहेको बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट भ्याक्सिन दिन सुरु गरिएको हो ।
ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले यसले ओमसतिया गाउँपालिका मात्र नभइ छिमेकी गाउँपालिकाहरु पनि लाभान्वित जानकारी दिएका छन् । उनले कुकुरले टोक्दा ओमसतिया बाहिर जानुपर्ने बाध्यताको अब अन्त्य भएको बताए । ‘कतिपय अवस्थामा विभिन्न अस्पतालमा पुग्दा भ्याक्सिन नभएर बिरामीको ज्यानै जोखिममा पर्ने गरेको थियो । यादवले भने, सोही अवस्थालाई मध्यनजर गर्दै हामीले यहीबाट एन्टी रेविज भ्याक्सिन दिन सुरु गरेका हौं ।’ ओमसतिया गाउँपालिकाका अध्यक्ष यादव, उपाध्यक्ष सुनिता चौधरी, ओमसतिया–४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डेय, स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवाली, हेल्थ अस्सिटेन्ट मुगेरीलाल कोहार, महिला स्वास्थ्य स्वयंसेविका अनित ज्ञवाली, वडा सदस्य मन्जेश चौधरी, सिनियर अहेब रामप्रसाद ढकाल लगायतको उपस्थितिमा भ्याक्सिन दिन सुरु गरिएको गाउँपालिकाको सूचना शाखाले जानकारी दिएको छ ।