असलम खान । लुम्बिनीखबर
मर्चवार, १६ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकाले सूचनाको हकलाई प्रभावकारी बनाउनका लागि गाउँपालिका मातहतका प्रत्येक कार्यालयमा सूचना अधिकारी राख्ने भएको छ।
गाउँपालिका मातहत रहेका सामूदायिक विद्यालय, स्वास्थ्य चौकी, मदरसा, वडा कार्यालयहरुमा एक जना सूचना अधिकारी तोक्ने कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताए।
सूचना अधिकारी मार्फत सम्बन्धित कार्यालयहरुले दिएका सेवा तथा कार्य र सम्पूर्ण गतिविधिबारे जिज्ञासाको यर्थात सूचना दिने प्रयोजनका लागि सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ६ र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम २४ (क) बमोजिमको आधिकारिक सूचना अधिकारी तोक्न हरेक कार्यालयलाई निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए।
तोकिएको सूचना अधिकारीको फोटो सहितको विवरण गाउँपालिकामा पठाउनुका साथै सम्बन्धित कार्यालयमा समेत सबैले देखिने गरी राख्नुपर्ने प्रमुख प्रशासकीय भट्टराईले जानकारी दिएका छन्। यसबाट गाउँपालिका भित्र हुनेहरेक गतिविधि पारदर्शी हुने र सबैले सहज रुपमा सूचना पाउने प्रशासकीय अधिकृतको भनाई रहेको छ।